छ कोरोना, छैन पनि कोरोना

छ कोरोना, छैन पनि कोरोना

स्थान ः काठमाडौंको नागार्जुन नगरपालिका ।
समय ः बिहान ८ बजे शनिबार ।

केही मोटरसाइकल आएर रोकिए । केही पहिले नै भेला भइसकेका थिए । केही पहिलेदेखि नै चिया खाएर बसिसकेका थिए । पंक्तिकार पल्लो घरको छतमा उभिरहेको थियो । खाल जमिसकेको थियो । हल्ला चलिरहेको थियो । सलामी खायो, सलामी खायो । आवाज चर्कियो । किट्टी चलिरहेको रहेछ । नजिकै गएर हेरें । एउटै आँगनमा अर्को पनि खाल रहेछ, साइटिङ चलिरहेको । खेल्नेभन्दा हेर्ने दोब्बर । न मुखमा मास्क, न भौतिक दूरी । काठमाडौं कोरोनाको हटस्पट बनेको छ भन्ने कुरालाई त्यो दृश्यले गिज्याइरहेको थियो । केहीबेर हेरेर फेरि घरको छतमा फर्किइ आफन्तलाई सोधें– पुलिस आउँदैन ? कहिलेकाहीँ आउँछ रे भन्ने सुनेको थिएँ । दसैं लागेपछि त्यो पनि सुनेको छैन ।

पिउनेले न एक्लै पिउँछ, खेल्न त एक्लै सम्भव हुने कुरै भएन ।

यी पंक्ति लेखिरहँदा काठमाडौंकै सीतापाइलामा पूर्वराज्यमन्त्री खोभारी रायसहित १० जना तासको खालबाट पक्राउ परेको समाचार आइरहेका थिए । ललितपुरको महालक्ष्मी नगरपालिकाबाट जुवा खेलिरहेका १८ जनालाई पक्राउ गरेको अर्को समाचार पनि थियो । यी दुवै घटनामा कसैले सूचना दियो र प्रहरीले पक्राउ ग¥यो । प्रहरीको आँखा नपरेको र सूचना नआएको कति तास÷जुवाको खाल चलिरहेकै छन् । खेल्ने र पिउनेहरूका लागि हर सुख–दुःख बहाना बनेर आइरहेका छन् । अरू बेला नखेले पनि दसैं र तिहारमा खेल्ने र अरू बेला नपिए पनि चाडबाडमा पिउनेको संख्या अत्यधिक छ । यो माहोलमा पिउनेले न एक्लै पिउँछ, खेल्न त एक्लै सम्भव हुने कुरै भएन । खेल्ने र पिउने क्रम अलि लामो समय चल्छ । यदि कसैलाई कोरोना भाइरस संक्रमण भएको रहेछ भने के हुन्छ हालत ? हुन त यसै पनि कोरोना घरघरमै पुगिसकेकै छ । अब व्यक्ति–व्यक्तिमा पुग्ने चरणमा पुगिहाल्छ भनेर सरकारले झैं नागरिकले पनि लत्तो छाडिदिने हो भने हालत के होला ? पहिल्यैदेखि सुन्दै र पढ्दै आएको रोग लागेर उपचार गर्नुभन्दा रोग लाग्नै नदिनु उपयुक्त । यसलाई कसरी हुन्छ व्यवहारमा लागू गर्नु आवश्यक छ । सरकार नागरिकको उपचारको दायित्वबाट बाहिरिसकेको छ । जेनतेन सशुल्क पीसीआर परीक्षण गरिरहेको छ । तर, परीक्षणको दायरा निकै साँघुरो छ । कन्ट्याक्ट ट्रेसिङ एकादेशको कथा भइसकेको छ । यो सरकारलाई कुनै आरोप होइन, अनुभव हो । झण्डै एक महिनाअघि एक सहकर्मीलाई कोरोना संक्रमण भयो । सहकर्मीले आफू कार्यरत संस्थाबारे जानकारी गराए तर कुनै पनि सरकारी निकायबाट खोजखबर भएन । कर्मचारीलाई संक्रमण भएपछि कार्यालयले पीसीआर परीक्षण गरायो । हरसम्भव जोगिन प्रयास भइरहेको छ । जोगिएर काम गर्दागर्दै पनि कुन दिन, को संक्रमित हुने हो कुनै ठेगाना छैन । अब त कुनै न कुनै बेला संक्रमित भइन्छ भन्नेमा सबै सहकर्मी सहमत भएर काम गरिरहेका छौं । कोरोनाबाट भागेर जाने ठाउँ नै सकिएकाले अब कोरोना सँगसँगै ज्यान जोगाउँदै काम र माम जुटाउनु परिरहेको छ ।

सरकारले झैं नागरिकले पनि लत्तो छाडिदिने हो भने हालत के होला ?

पछिल्लो समय जति परीक्षण, उति कोरोना हुने देखिएको छ । कुनै बेला स्वास्थ्य मन्त्रालयका प्रवक्ता कोरोनाको एउटा संक्रमण भेट्न एक लाख पाँच हजार रूपैयाँसम्म खर्च हुने गरेको हिसाब सुनाउँथे । अहिले पीसीआर परीक्षणको एक तिहाइमा संक्रमण भेटिन थालेको छ । सरकारले परीक्षणको संख्या बढाउनेबित्तिकै संंंक्रमितको संख्या पनि बढ्ने निश्चित छ । तर संक्रमितको व्यवस्थापन चुनौतीपूर्ण छ । जाडो मौसम कोरोना भाइरसको लागि अनुकूल हुन्छ भनेर विज्ञहरूले भनिरहेका छन् । यसले आगामी दिन झन् भयावह हुने खतरा छ । तर, सरकार कोरोना भाइरस संक्रमणका विषयमा कहिल्यै पनि संवेदनशील र जिम्मेवार हुनै सकेन । ७७ जिल्ला प्रशासन कार्यालयमार्फत लकडाउन र स्वास्थ्य मन्त्रालयको प्रवक्तामार्फत संख्या गनेर उपस्थिति देखाइरहेको सरकार अहिले कहाँ छ भनेर खोज्नु परिरहेको छ । शुरुका दिनमा संक्रमितको संंख्या गोलमाल गरिरहेको सरकार पछिल्लो समय मृतकको संख्या पनि गोलमाल गर्न लागिपरेको छ । अब सरकारको एक मात्रै ध्याउन्न भनेको संक्रमित र मृतकको संख्या कम देखाउने र कोरोना संंक्रमण नियन्त्रणमा सफल भएको राग अलाप्ने हो ।

टिप्पणीहरू