क्याबिनेटले सच्यायो न्यायाधीशको नाम

क्याबिनेटले सच्यायो न्यायाधीशको नाम

हिजो बिहान बोलाइएको क्याबिनेट बैठक शुरु गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले नेकपाभित्र आफूबिरुद्ध घेराबन्दी पुनः शुरु भएको बताउनुभएको छ । प्रधानमन्त्रीले ‘उपप्रधानमन्त्री तथा मन्त्रीज्यूहरू,अब बैठकको कामकारबाही शुरु गरौं । अहिलेको राजनीतिक अवस्थाको बारेमा तपाईंहरू थाहै छ । आजको बैठकमा म एक घण्टा जति बस्नेछु’ भनेपछि प्रधानमन्त्रीबाट गत साउनमा झैँ फेरि राजनीतिक कित्ताकाटको लागि निर्देशन हुनसक्ने मन्त्रीहरूको बुझाई थियो ।

तर, प्रधानमन्त्रीले त्यतातर्फ नभई खुमलटार र कोटेश्वरतर्फ इङ्गित गर्दै भन्नुभयो ‘यतिखेर कोटेश्वरतिर बैठक राखिएको विषयमा तपाईंहरू पनि जानकार नै हुनुहुन्छ होला । अस्थिरताको लागि पटक पटक अनेक खालका प्रयासहरू भइरहेका छन् । तर, ती सबै प्रयासलाई निस्तेज पारिनेछ ।’

हिजोको बैठकको मुख्य एजेण्डा विश्व बैंकको १७ करोड रूपैयाँ अनुदान सहयोग स्वीकार गर्ने,संविधान दिवसको उपलक्ष्यमा असोज ३ गते घोषणा गरिएको पदकमा नाम फरक परेको विषयलाई सच्चाउने र बलात्कारपश्चात् हत्या गरिएकी बझाङ्की १२ बर्षे सम्झना बिकको परिवारलाई पाँच लाख रूपैयाँ नगद सहयाेग उपलब्ध गराउने थियो । त्यसैगरी वन,कानुन र स्वास्थ्य मन्त्रालयको पनि एजेण्डा रहेको बताइएको छ ।

संविधान दिवसको उपलक्ष्यमा सर्वोच्च अदालतका न्यायाधीश दीपककुमार कार्कीलाई प्रदान गरिएको भनिएको प्रसिद्ध प्रबल जनेसवा श्री (द्वितीय) मानपदवी पाउनेको सूचीमा दीपकुमार कार्की लेखिएको थियो । क्याबिनेट बैठकले उक्त नामलाई सच्चाएर दीपककुमार कार्की बनाएको छ । मुख्यसचिव शंकरदास बैरागी कोरोना संक्रमित भएर घरै बसेकोले हिजोको क्याबिनेट बैठकमा सचिव खगराज बरालले मुख्यसचिवको भूमिका निर्वाह गरेका थिए ।

टिप्पणीहरू