न्यूजिल्याण्डमा पहिलो आदिवासी महिला विदेश मन्त्री

न्यूजिल्याण्डमा पहिलो आदिवासी महिला विदेश मन्त्री

नानाया महुता इतिहास रच्दै न्यूजिल्याण्डको पहिलो आदिवासी महिला मन्त्री बनेकी छिन् । उनको अनुहारमा मोको भनेर चिनिने परम्परागत माउरी ट्याटू महुताहरूको पहिचान र गर्व हो । न्युजिल्याण्डको राष्ट्रिय राजनीतिमा अझै दुर्लभ दृश्य मानिए पनि त्यहाँको समकालीन समाजमा अनुहारमा खोपिने मोको ट्याटूको लोकप्रियता बढ्दै गएको छ ।

ओठसम्म छुनेगरी चिउँडोमा ट्याटु बनाउने अभ्यासलाई टा मोको भनिन्छ । यसको अर्थभूकम्प र ज्वालामुखीको माउरी देवता राउमोकोसँग सम्बन्धित छ । न्यूजिल्याण्ड अत्यधिक भूकम्प र ज्वालामुखी गइरहने थोरै देशहरूमध्येको एक हो ।

महुता सन् २०१६ मा पहिलो पटक आफ्नो समुदायबाट संसदको पहिलो महिला सदस्य बनेकी थिइन् । चिउँडोको ट्याटूले प्रायः आदिवासीहरूको पहिरनमा ठूलो सांस्कृतिक महत्व राख्ने गरेको स्वयम् महुताले पनि यसअघि बताएकी थिइन् । उनका अनुसार ट्याटुले दृश्य कथासँगै आदिवासीहरूलाई तिनीहरूका पुर्खासँग समेत जोड्ने गरेको छ ।

प्रत्येक व्यक्तिले चिउँडोमा खोपेको ट्याटु (मोको) अद्वितीय हुने भएकाले त्यो उनीहरूको सामाजिक स्थिति,पेशा वा व्यक्तिगत र पारिवारिक इतिहाससँग समेत सम्बन्धित हुने बताइन्छ । जटिल डिजाइनहरूले पहिरनको वंशावलीका साथै अनुहारको देब्रे र दायाँपट्टिका चिह्नहरूले सम्बन्धित व्यक्तिको क्रमशः बुबा र आमाको वंशलाई जनाउने गरेको प्राप्त समाचारमा उल्लेख छ ।

टिप्पणीहरू