अमेरिकी भिसा कुराकानीमा ताल तालका जिज्ञासा

अमेरिकी भिसा कुराकानीमा ताल तालका जिज्ञासा
काठमाडौंस्थित संयुक्त राज्य अमेरिकाको राजदूतावासले केही समयदेखि शुरु गरेको भीसासम्बन्धी अनलाईन कुराकानी (भीसा च्याट) को पछिल्लो श्रृङ्खला भोलि शुक्रबार दिउँसो दुई बजेदेखि ३ बजेसम्म हुने जनाएको छ । भीसासँग सम्बन्धित जिज्ञासाको जवाफ दूतावासका कन्सुलर अधिकृतले दिने भएकाले दूतावासको फेसबुक पेजमा आफ्ना प्रश्न लेख्न पनि दूतावासले भनेको छ ।

पाक्षिक रूपमा सञ्चालन हुँदै आएको भीसा च्याटअन्तर्गत भोलिको लागि बिहीबार बिहान ११ बजेसम्म १ सय ४० वटा प्रश्न र जिज्ञासा दूतावासको फेसफुक पेजमा उल्लेख भएको देखिन्छ । तीमध्ये अधिकांश कोभिड–१९ का कारण स्थगित भीसा अन्तर्वार्ता कार्यक्रमले पारेको असरमा केन्द्रित छन् । केहीले भने भीसा अन्तर्वार्ता रोकिँदा तोकिएको समयमा अमेरिकी विश्वविद्यालयबाट प्राप्त छात्रवृत्तिलगायका अवसर मात्रै गुमाउनु परेको नभई आइएलईटीएस र टोफलको म्यादसमेत सकिँदै गएकोतर्फ संकेत गरेका छन् ।

सन् २०२१ को निम्ति डीभी चिठ्ठा परेकाहरूले पनि आफ्नो अन्तर्वार्ता कहिलेदेखि शुरु हुन्छ भनेर सोधेका छन् ।

विश्वविद्यालयहरूले आगामी वसन्तयामको शैक्षिक सत्रका लागि व्यवस्थापन गर्न सकिने इमेल पठाइरहँदा दूतावासबाट भने विगतमा झैँ अन्तर्वार्ताको लागि ठोस जवाफ पाउन नसकिएको विवरण एकजना विद्यार्थीले लेखेका छन् । दूतावासमा सबैभन्दा धेरै सन् २०२१ को निम्ति डीभी चिठ्ठा परेकाहरूले पनि आफ्नो अन्तर्वार्ता कहिलेदेखि शुरु हुन्छ भनेर सोधेका छन् ।

अघिल्लो वर्ष डीभी चिठ्ठा परेकाहरूले भने हाल अन्तर्वार्ता रोकिएकाले पछि अमेरिका जान पाउने वा नपाउने सम्बन्धमा आफूहरू अलमलमा परेको बारेमा स्पष्ट पारिदिन पनि दूतावासलाई अनुरोध गरेका छन् । धेरैको जिज्ञासाले आफू अमेरिकामा रहेको र परिवारका सदस्य नेपालमा रहेको अवस्थालाई समेत झल्काएको छ ।

टिप्पणीहरू