अग्लिँदै छ सगरमाथा

अग्लिँदै छ सगरमाथा

हामीले आफ्नो देश चिनाउनका निम्ति संसारभर प्रचार गर्दै आएको सर्वोच्च शिखर सगरमाथाको उचाई ८ हजार ८ सय ४८ मिटर हो । तर, अब यो अंक केही महिनाभित्रै फेरिँदै छ र नयाँ अंक कण्ठ पार्नुपर्ने भएको छ ।

सन् १८५५ मा सर्भे अफ इण्डियाले दुई सय ६५ वर्षअघि नापेर यो उचाई कायम गरेको थियो । तर, अब लामो समयको मेहनतपछि सर्वोच्च शिखरको नयाँ उचाईं पहिचान नजिक छ । त्यो भूभाग चीन र नेपालतर्फ करिव आधा–आधाको हिस्सामा पर्छ । यसकारण, यी दुई देशको अनुमति, सहभागिता र सहमतिबिना अरु कसैले यकिन गरेको अंक स्वीकार्य हुने स्थिति छैन । अहिलेचाहिँ चीन र नेपालबाट तयार पारिएको टोलीले एकीकृत कार्ययोजनासहित सगरमाथाको उचाईं मापनका निम्ति गरेको काम करिव–करिव अन्तिममा पुगेको हो ।

नेपाल सरकारको वार्षिक लक्ष्यअनुसार दोस्रो त्रैमासिक, अर्थात आगामी फागुनभित्र काम सक्ने र नयाँ उचाईं घोषणा गर्ने काम भइरहेको छ । बीचमा कोभिड– १९ को विश्वव्यापी संक्रमणका कारण लकडाउनले यो काम प्रभावित भयो । कोभिड संक्रमण त अझै छँदैछ, तर काम नै रोक्नुपर्ने स्थिति भने अब रहेन । नेपालको नापी विभागबाट खटिएको टोलीले अनुमान गरेको छ, सगरमाथाको उचाईं केही न केही तलमाथि हुन्छ । हाल कायम उचाइमा केही अंक बढ्दैछ । तर, आधी मिटर या कति बढ्छ, त्यो भने काम नसकी भन्न नसकिने विज्ञहरूको भनाइ छ ।

यसरी सगरमाथाको उचाइ स्याटेलाइट प्रणालीबाट नाप्ने काम भइरहेको हो । ०७४ सालमा दुई करोडको बजेटबाट सगरमाथा मापनको काम शुरु भएको थियो । अहिलेसम्म करिव १८ करोड खर्च हुने हिसाब निस्किएको छ । यो कामका लागि सन् २०१९ को मे महिनामा प्रमुख नापी अधिकृत खेमलाल गौतम र रविन कार्कीले सगरमाथामै पुगेर जीएनएसएस सर्वेक्षण गरेका थिए । उचाईं मापन गर्न आवश्यक पर्ने जियोइड प्रतिपादन भूआकर्षण बिन्दु तयार पारिएको छ ।

सिरहा, सप्तरी, धनुषा, महोत्तरी, सिन्धुली, उदयपुर, खोटाङ र ओखलढुंगाका विभिन्न स्थानमा गरी ४८ वटा पोइन्टको मोनुमेन्टेसन र १०२ पोइन्टमा जीएनएसएस सर्भेक्षण गरिएको छ । सिरहाको मदारबाट सोलुखुम्बुको पतालेसम्म ४९ पोइन्टको लेभलिङ रुटमा जीएनएसएस सर्भेक्षण भएको नापी विभागले जनाएको छ । त्यसबाहेक सगरमाथा रेञ्जमा सर्फेस मिजरमेन्ट, ग्रयाभिटी कस्तो छ, जिइको भ्याल्युको अध्ययन गर्दै नेपाल र चीनका प्राविधिकले काम अगाडि बढाएका छन् ।

बंगालको खाडीबाट ल्याइएको लेभलिङका आधारमा हाइट दिने काम गरिन्छ । सबै हाइटलाई अन्तर्राष्ट्रिय प्रणालीमा आइएसआरएच गरिन्छ । यो काम चीनले पहिला आफ्नै किसिमले गर्दै आएको थियो । तर, गतवर्ष अक्टोबर १३ मा राष्ट्रपति सि चिनफिङ आउँदा जारी भएको संयुक्त वक्तव्यको बुँदा नं. ८ अनुसार काम संयुक्त रुपमा अगाडि बढाइएको हो । उक्त बुँदामा भनिएको थियो, ‘सगरमाथा/चोमोलुङ्मा नेपाल र चीनको मित्रताको प्रतीक हो भन्ने मान्यतालाई स्वीकार गर्दै दुवै पक्षले जलवायु परिवर्तनलाई संबोधन गर्ने र वातावरण संरक्षणलगायत विभिन्न क्षेत्रमा सहयोगलाई बढावा दिनेछन् । संयुक्त रूपमा सगरमाथा/चोमोलुङ्माको उचाइ घोषणा हुनेछ र वैज्ञानिक अनुसन्धान गरिनेछ ।’

यस्तै, कालापानी भेगको नक्शांकन कार्यलाई कोभिडले अवरोध गरेको छ । सम्बन्धित ठाउँमा पुग्ने अवस्था नहुँदा निर्धारित समयभन्दा ढिलो गरी काली नदीसहित कुटियाङ्दी, लिपुलेक, लिम्पियाधुराको नक्सा अद्यावधिक गर्ने काम केही ढिला हुने भएको हो । नापी विभागको टोलीले दार्चुला पुगेर जिपिएसबाट केही केही बिन्दुमा नाप्ने काम गरिसकेको छ । फिल्डको एक–एक र दुई–दुई किलोमीटरमा पिलर राख्नुपर्ने भएपछि समस्या आएको छ । त्यसमाथि माथिल्लो भेगमा जानकालागि भारतसँग कूटनीतिक पहल हुनुपर्छ । त्यस्तो पहल अहिलेसम्म हुन सकेको छैन ।

टिप्पणीहरू