सामन्तले के ल्याए, के सम्म गर्न भ्याए

सामन्तले के ल्याए, के सम्म गर्न भ्याए

सामन्त गोयल नेपाल आए । मध्यराति छिर्नु नियति थियो वा निमन्त्रणा तर उनी सीधै बालुवाटार छिरेकै हुन् ।
बालुवाटारभित्र प्लेन अवतरण हुन सक्दैन थियो । त्यसैले सामन्तहरू गाडीमा छिरे । तिनले भारतबाट के सन्देश लिएर आएका थिए यताबाट के खबर लिएर गए अहिलेसम्म स्पष्ट खुलेको छैन । तर, प्रधानमन्त्री ओलीकै मुखबाट बाहिर आएको कुराचाहिँ के हो भने मोदीले ‘दूत पठाउँछु भन्थे, सामन्तलाई पठाएछन् ।’ अझ, डरलाग्दो परिणामचाहिँ नेकपाभित्रको महाभारत मच्चिएको छ । गोयल जानेबित्तिकै नेकपाभित्र बवण्डर शुरु भएको छ ।

गोयल आए, गए कुनै ठूलो कुरा भएन । हाम्रालागि ठूलो कुरा त त्यसले ल्याएको कम्पन भयो । गोयल जानेबित्तिकै सरकारको भविष्यबारे चिन्ता प्रकट हुन थाल्यो । पार्टी एकतामा ठूलो खतरा आयो । दुई अध्यक्षबीच बातचित अस्वाभाविक भयो । महासचिवको चिन्तायुक्त रोइलो बाहिर आयो । अनि पार्टी विभाजनका लागि तयारी हुँदै गरेका खबर चुहिन थाल्यो । सामन्त र गोयलमा के जादू छ कुन्नि ! आगमन र बहिर्गमनको परिणामले हामीलाई पीडा दिइरहन्छ । नेपाल र नेपाली जनतालाई पिरोलिरहन्छ ।

अघिल्लो पटक नेकपाको स्थायी कमिटी बैठक चलिरहेको थियो । प्रधानमन्त्रीको कार्यशैली र पार्टी निर्णय अवज्ञाप्रति असन्तुष्टि प्रकट भइरहेको थियो । विवाद चर्कंदै गएपछि प्रधानमन्त्रीले बैठक स्थगन गरेर आफ्नै निवासमा मदन भण्डारी फाउण्डेसनको कार्यक्रम आयोजना गर्नुभयो । भारतले आफ्नो सरकार ढाल्न खोजेको आरोप लगाउनुभयो । त्यसमा पार्टीका वरिष्ठ नेताहरूसमेत सामेल भएको संकेत गर्नुभयो । देशभरि सरकार बचाउन नारा–जुलुस भयो । फाउण्डेसनको व्यवस्थापन र युवासंघको नेतृत्वमा आफ्नै पार्टीका नेताविरुद्ध सडक तात्यो । सडकले शायद सरकार पनि बचायो ।
त्यतिबेला आफ्नै पार्टीका नेतालाई भारतसँग जोडेर आरोपित गर्ने बालुवाटारमा अहिले सीधै भारत पसेको छ । त्यो पनि खुफिया विभागको प्रमुख ।

गोयलको बालुवाटार प्रवेशले सरकारलाई मात्र शंकाको घेरामा पारेको छैन, प्रधानमन्त्रीको राष्ट्रवादी छविमाथि समेत शंका उब्जाइदिएको छ । हिजो अरूमाथि औंला ठड्याउने देशका मुखियातिर फर्केर चोरऔंला तेस्र्याउने काम भइरहेको छ । राष्ट्रवाद र देशभक्तिको कथा हालेर नथाक्ने सम्मानित व्यक्तित्वहरूमाथि यसरी परचक्रीले औंला ठड्याउनु हामीलाई पचिरहेको छैन ।

स्थायी कमिटीको निर्णय कार्यान्वयन गर्न ठूलो समस्या थियो । पार्टी एकीकरणका बाँकी काम सम्पन्न हुन सकिरहेको थिएन । राजनीतिक नियुक्ति मिलाउन बाँकी थियो । मन्त्रिपरिषद् पुनर्गठन गरेर सबैको चित्त बुझाउने समस्या थियो । अनि कर्णाली प्रदेशको विवाद समाधान गर्ने समस्या झन् टड्कारो थियो । यिनै समस्यामा सहमति खोज्न महाभारत भएर लडिरहेको हाम्रो पार्टी अब गोयल भ्रमणको कारण र परिणाममा लट्किरहेको छ ।

विडम्बना हो कि हामी आफैँमा लडिरहन्छौँ । हाम्रो लडाइँमा विदेशीले खेल्नु अस्वाभाविक होइन । हाम्रो लडाइँ देश बनाउन र जनताको दुःख हटाउनभन्दा पनि आफ्नो स्वार्थकेन्द्रित भइरहेको छ । ०१५ साल, ०४८ साल अनि ०७७ सालको पार्टी, सरकार र तिनको नेतृत्वको लडाइँ हेर्दा एउटै प्रकृतिको देखिन्छ । यस्तै खालको सत्ता संघर्षका कारण सधँै नेपाली जनताले आफ्नो हक र देशको स्वाधिनता गुमाउने खतरा बढ्दै छ । अहिले जनताका आशा र विश्वास पूरा गर्न दिनरात काम गर्नुपर्ने बेला छ । हामीलाई भने गोयल चक्करले घुमाइरहेको छ । सरकारलाई देश विकास र समाजवाद निर्माणतर्फ लगाउनुपर्नेमा स्वयं सरकारको मुखियाबाट बहुमत, अल्पमतको गोलचक्करमा घुमाउने काम भइरहेको छ ।
यस्ता अनेक गोलचक्कर र लफडा राजनीतिक नेतृत्वको असफलताका संकेत हुन् । जब नेतृत्व असफल हुँदै जान्छ । अनेक गोलचक्करमा फस्दै जान्छ, कहिले देशको, कहिले विदेशको । कहिले आन्तरिक, कहिले बाह्य । यिनका तिलस्मी कुराहरू ठेगानमा पुग्न सकेनन् । चामत्कारिक सपनाहरू ३ वर्ष पुग्न लाग्दा पनि सपना मात्र रहे । २०–३० वर्ष शासन गर्ने धक्कुहरू २–३ वर्षमै गल्न थाले । ठाउँ ठाउँमा आस्था, निष्ठा र इमानको पतन हुन थाल्यो ।

आफूलाई कम्युनिष्ट भन्ने सबैले सोचौँ । के साँच्चै हामी कम्युनिष्ट नै हौँ ? श्रमिक वर्गका सही प्रतिनिधि हौँ र उनैका लागि काम गर्न आएका हौँ भने के गरिरहेका छौँ ? हाम्रो सरकार के गर्दै छ ? देशमा गरिब, किसान, मजदुर र उत्पीडित वर्गको हालत के छ ? कमसेकम एक पटक सत्तामा बस्ने नेताहरूले समीक्षा गरौँ । आफूलाई मूल्यांकन गरौँ र सही निश्कर्षमा पुगौँ । जनसमर्थनबिना पार्टी र सरकारको भविष्य हुँदैन । कमसेकम देश र जनतालाई धोका दिने काम नगरौँ ।

(सुशील कोइराला पालाका पूर्व खेलकुदमन्त्री तथा नेकपा एमालेको सातौं महाधिवेशनबाट निर्वाचित केन्द्रीय सदस्य)

टिप्पणीहरू