बेलायतमा नेपालीको उठिबास

अघिल्लो महिना बेलायत अध्ययन गर्न आएका नेपाली विद्यार्थी बिचल्ली परेको समाचार छपक्कै भयो । नेपालको राइट पाथ करिअर काउन्सिलिङमार्फत २५ लाखसम्म खर्च गरेर आएका करिब तीन दर्जन विद्यार्थी ८ महिनामै रित्तो फर्कनुपरेको विषय थियो त्यो ।

कन्सल्टेन्सीका सञ्चालक फिलिप डिसीले अनेक आकर्षण देखाएर हडर्सफिल्ड युनिभर्सिटी पठाएका विद्यार्थीले यहाँ न पढ्न पाए, न बेलायत बस्न । लण्डनबाट १९० माइल टाढा एउटा गाउँको विश्वविद्यालय खोजेर पठाइदिएका डिसीले जागिर फालाफाल छ भनेर विद्यार्थी लोभ्याएका थिए । फाउण्डेशन कोर्स सजिलो छ, बेलायतमै भिसा बढ्छ भनेर विद्यार्थीलाई विश्वविद्यालयको वर्ष दिनको छोटो कोर्समा अफर लेटर थमाई कैयौंको उठिबास बनाए । हडर्सफिल्ड युनिभर्सिटीकै प्राध्यापक डा. पदम सिम्खडाका निकट मान्छेको कन्सल्टेन्सीले पनि विद्यार्थी ठगेका कारण उनी यो विषयमा मौन रहे ।

नेपालका नायिका र गायिकालाई आफ्नो कन्सल्टेन्सीको ब्रान्ड एम्बासडर बनाएर साँझ परेपछि होटल, रेष्टुरेण्टतिर लैजाने डिसी नेपालबाट अझै पनि विद्यार्थी पठाउन तल्लिन छन्, मीठा प्रलोभन कायमै छ ।
कुरा नेपालको मात्र होइन, बेलायतमै रहेका कन्सल्टेन्सी चलाउनेहरु पनि अहिले विद्यार्थी लट्टीपट्टी पार्ने धन्दामा छन् । बेलायत सरकारले युरोपियन युनियन (ईयू) छाडेपछि १ जनवरीबाट अलिक सहज नयाँ अध्यागमन नीति ल्याउने सार्वजनिक भएलगत्तै शैक्षिक दलालहरू तिलमिलाए । रातारात नेपाल गएर आफ्नो अफिस खोले, कामदार राखे र विज्ञापन गर्न थाले ‘अब बेलायतमा विद्यार्थीले पढाइ सकेपछि २ वर्षको वर्क परमिट पाउँछन्, युरोपेली नागरिक बेलायतले छाडेपछि काम फालाफाल छ । छिटो उडिहाल्नुस् ।’

सन् २००९, १० ताका सयौं विद्यार्थी बेलायत ल्याएर करोडौं कमाएका विनय अधिकारी, वसन्त नेपाल, प्रदीप पौडेल र गणेश खड्का, हरि कार्की, दीपक खड्का, आदिहरू अहिले फेरि विद्यार्थीलाई एम्बुस पार्ने धन्दामा सक्रिय छन् । विनयको एसआइ युके नेपाल, वसन्तको रियल ड्रिम्स् एजुकेशनल कन्सल्टेन्सी, गणेशको युनी ल्याडर, हरिको बिज एजुकेशन, दीपकको फ्र्यांकलिन एजुकेशन कन्सल्टेन्सी, प्रदीपको क्याप्स कन्सल्टेन्सीले अहिले बेलायत सरकारको नयाँ अध्यागमन नीतिलाई अगाडि सारेर कमाउ धन्दा शुरु गरिसकेका छन् । उल्लिखित व्यक्तिमा न पुग्दो शैक्षिक योग्यता छ, न प्रतिष्ठा । बाटोमा समेत कुटिने डरले लुकी लुकी हिँड्ने यी आफूलाई विज्ञ ठान्छन् । हालै आफैंलाई ग्लोबल गोर्खा समाजको अध्यक्ष घोषणा गरेर आलोचित विनयले एपीवान टेलिभिजनको इन्टरनेशनल ब्युरो प्रमुख भनिहेका छन् । शैक्षिक पृष्ठभूमिको कुरा गर्दा ऋषि धमला टाइपका यिनीहरु नामसमेत शुद्ध लेख्न सक्दैनन् । समाचार त परैको कुरा । एनआरएन चुनावमा वर्षैपिच्छे लडेर सधैं हार्नेलाई एपीवानको आइडी कार्ड हात्तीको देखाउने दाँत बनेको छ ।

बेलायतमा लामो समयको भिसा बढाउन पिएचडी भर्ना भएका गणेश खड्का यो धन्दामा लागेको एक वर्ष पनि पुगेको छैन । उनी विद्यार्थीलाई बेलायतको पिआर लिन आफूसँग आइडिया भएको सुन्दर सपना बाँड्छन् । कोही व्यापारीसँग खिचेको फोटो राखेर आफूले ल्याएका विद्यार्थीलाई जागिर व्यवस्थापन गरिदिने आश्वासन दिन्छन् । अंग्रेजीबिनै युकेका नामी विश्वविद्यालय पाइने जिकिर गर्छन् । एक जनाको भिसा लागे सय जना लागेजसरी फेसबुकमा विद्यार्थीको सबै नालीबेली राखिदिन्छन् । उनका यी सबै आश्वासन भ्रामक छन् । उनको जम्माजम्मी धरातल विद्यार्थी नै हो ।

बेलायतले अष्ट्रेलियन शैलीको पोइन्ट बेस्ड सिष्टम अध्यागमन नीति सार्वजनिक गर्नुको मतलव नेपाली विद्यार्थीलाई सजिलै टिपेर यहाँ मालामाल अनि सुन्दर भविष्य बनाइदिने हुँदै होइन । दलालको मूल उद्देश्य त जसरी हुन्छ कमाउने मात्र हुन्छ । तर, विद्यार्थी आफैं यसमा चनाखो हुन जरुरी छ ।

बेलायत सोचेजस्तो सजिलो छैन । विश्वविद्यालयलाई बर्सेनि २० लाख रूपैयाँ तिर्न सक्ने मात्र यता आउँदा हुन्छ त्यो पनि पढ्ने अभिलाषा राखेर । बेलायतमा कमाइन्छ भनेर आउनेहरू धेरैको रुवाबासी सुनिन्छ ।

– मधुकर पुडासैनीबाट

टिप्पणीहरू