अमेरिकी निर्वाचनमा भारतीय भाञ्जी !

अमेरिकी निर्वाचनमा भारतीय भाञ्जी !

-नारायण पौडेल

अमेरिका र भारतबीच केही दिनपहिले सैन्य सूचना आदानप्रदानलगायत रणनीतिक महत्वको सम्झौता भयो । चीनसँग सीमा विवाद बल्झिएको तथा अमेरिकी चुनावमा चीन मुख्य मुद्दा भएको सन्दर्भका कारण सो सम्झौता अर्थपूर्ण रह्यो । नेपाल–भारतबीच सीमा विवाद मुखर भएको, भारतीय जासुस प्रमुख सामन्तले संशयपूर्ण भ्रमण गरेको तथा अमेरिकी सहयोग परियोजना एमसिसीलाई लिएर नेपालमा विवाद चर्किएका कारण पनि अमेरिका र भारतबीचको सैन्य सम्झौता नेपालका लागि थप चासोको विषय बन्यो । भारत र अमेरिका मिलेर चीनसँग मुकाबिला गर्ने र त्यसो गर्दा नेपालले कताको पक्ष लिनेसम्मका सामग्री नेपाली सञ्चार माध्यममा आइसकेका छन् । एमसिसीकै कारण सरकार तलमाथि हुने हो वा को कहाँ जाकिने हो भन्नेसम्मका चर्चा पछिल्लो समय दैनिक राजनीतिक खुराक बनिरहेका छन् । इण्डो प्यासिफिक रणनीतिअन्तर्गत अमेरिकाले एशियामा प्रभुत्व बढाउन र चीनलाई घेर्न खोजेको जस्ता कुरा सुनिरहेका हामीलाई भारत र अमेरिकाको सैन्य सहायतालगायतको सहमतिले तरंगित नपार्ने कुरै भएन । रअ प्रमुखसँगको खुसामदपछि र भारतीय सेनाध्यक्षको भ्रमणको पूर्वसन्ध्यामा प्रधानमन्त्री केपी ओलीले सल्लाहमै पार्टी फुटाउन गरेको प्रस्ताव संयोग मात्र होइन । नेपालको आन्तरिक राजनीतिमा अमेरिका छिर्ला नछिर्ला, भारत छिरेको प्रस्ट छ ।

भारतकी भाञ्जी कमला ह्यारिस डेमोक्र्याट पार्टीको तर्फबाट उपराष्ट्रपतिकी उम्मेदवार छिन् । अमेरिकामा १ प्रतिशतभन्दा बढी मतदाता भारतीय छन् ।

दीर्घकालीन रणनीति जे भए पनि अमेरिकी विदेशमन्त्री र रक्षामन्त्रीले गरेको भारत दौडाहा र सम्झौता तत्कालका लागि अमेरिकाको निर्वाचन केन्द्रित छ । अमेरिकाको निर्वाचन भए पनि यो निर्वाचनमा भारतीय मनोविज्ञान जोडिएको छ । भारतकी भाञ्जी कमला ह्यारिस डेमोक्र्याट पार्टीको तर्फबाट उपराष्ट्रपतिकी उम्मेदवार छिन् । अमेरिकामा १ प्रतिशतभन्दा बढी मतदाता भारतीय छन् । मेक्सिकनपछि संख्यात्मक हिसाबले भारतीय दोस्रो ठूलो आप्रवासी समुदाय हो । आर्थिक हिसाबले पहिलो आप्रबासी समुदाय हो । अमेरिकी भारतीयको औषत कमाइ वार्षिक १ लाख डलरभन्दा बढी छ । जुन अमेरिकाको प्रतिव्यक्ति आयभन्दा दोब्बर हो । भारतीय अमेरिकनको मुख्य पेशा सूचना प्रविधि हो । गुगलका सिइयो सुन्दर पिचाई नै भारतीय अमेरिकन हुन् । कोरोनाका बीच भइरहेको अमेरिकी निर्वाचनको मुख्य प्रचार विधि भनेको आइटी हो । भारतीय अमेरिकनले इतिहासमै सबभन्दा धेरै चुनावी सहयोग यसपालि गरेका छन् । सोको ठूलो हिस्सा कमलाको पार्टीलाई गएको छ । अर्थात् यसपालिको अमेरिकी चुनावमा भारतीयको प्रभाव पहिलेभन्दा ज्यादा पर्नेछ ।

कमला उपराष्ट्रपति हुन पाउने भनेको बाइडेनले राष्ट्रपति जितेमा मात्र हो । उपराष्ट्रपति भैहालेमा कमला भविष्यमा राष्ट्रपति बन्ने सम्भावना अधिक छ । बयोवृद्ध बाइडेनले चुनाव जितिहाले उनी शो–पीस (नाम मात्रको) हुने, खास कार्यकारी अभ्यास कमलाले गर्ने ट्रम्प पक्षको दाबी छ । अमेरिकी संविधानमा राष्ट्रपति दिवंगत भए वा कुनै कारणवश पदमुक्त भए उपराष्ट्रपति बाँकी अवधिका लागि राष्ट्रपति बन्ने व्यवस्था छ । काले र भारतीयकी ठिमाहा सन्तान भएकाले उनको पक्षमा अफ्रिकन र एशियन अमेरिकन मत सोलोडोलो रूपमा जाने सम्भावना छ । तसर्थ ट्रम्प कमलाप्रति आक्रामक छन् । राष्ट्रपतिका उम्मेदवार बाइडेनप्रति भन्दा ट्रम्प कमलाप्रति निर्मम सुनिएका छन् ।

ट्रम्प भारतीय अमेरिकनलाई बाइडेन–हयारिशभन्दा आफू भारतमैत्री रहेको सन्देश दिन प्रयासरत छन् । उनको चुनावी प्रचारमा समेत मोदीसँगको कार्यक्रम र भारत भ्रमणको सामग्री प्रयोग गरिएको छ । राजनीतिक केन्द्रमा आउनुपहिले मोदी अमेरिकामा केही समय बसेका थिए । उनका कैयौं भारतीय मित्र अमेरिकामा व्यापार व्यवसायमा छन् । मोदीका कारण अमेरिकामा आफूहरूको प्रतिष्ठा बढेको अनुभूति भारतीयलाई छ । मोदीले ओबामा र ट्रम्प दुबैको पालामा खास सम्मान पाए । प्रधानमन्त्री भएपछि अमेरिका आउँदा मोदीले भारतीय अमेरिकनलाई गोलबन्द गर्न खोजे । यो सबै बुझेका ट्रम्पले मोदीसँगको दोस्ती देखाएर भारतीय अमेरिकनको मत आफूतर्फ पार्ने प्रयास गरिरहेका छन् ।

कमला भारतीयमूलकी भए पनि मोदीको नीतिप्रति आलोचनात्मक छिन् । काश्मिर मामिलामा उनले त्यहाँका नागरिकको स्वतन्त्रता हनन भएको टिप्पणी गरेकी थिइन् । उनको बोली मोदीलाई बिझाउने खालको थियो । कमला ह्वाइटहाउसमा प्रवेश गरे अमेरिकी नीति काश्मिर मामिलालगायतमा भारतीय संस्थापनविरुद्ध हुने हो कि भन्ने डर नयाँदिल्लीलाई छ । डेमोक्र्याटिक पार्टीले कमलालाई उपराष्ट्रपतिको उम्मेदवार बनाएपछि भारतमा दीपावली गरियो । अमेरिकामा रहेका भारतीयले भोज गरे । तर, मोदीनिकट मानिने पत्रकारले कमलाको उदय भारतका लागि खतराको घण्टी भएको टिप्पणी गरे । धेरै उत्साहित नहुन र आलोचनात्मक हिसाबले कमलालाई बुझ्न सार्वजनिक अपिल गरे ।

भलै मोदीले बाहिर मुख खोलेका छैनन्, मोदी र ट्रम्पको दोस्ती तहको केमेस्ट्रीले भित्रभित्रै केही गर्न सक्छ । ट्रम्प र मोदी दुबै राजनीतिक केन्द्रमा जबरजस्त उदाएका हुन् । दुबैको परीक्षा कोरोनाले लिइरहेको छ । दुबै विपक्षीप्रति हदैसम्म असहिष्णु छन् । विभिन्न देशका प्रमुखबारे ट्रम्पले बेलाबेला तिखा टिप्पणी गरे । मोदी भने प्रशंसामा परे । कोरोना शुरु भएसँगै भारतले रोग प्रतिरोधात्मक शक्ति बढाउने हाइड्रोक्सीक्लोरोक्विनको निर्यातमा रोक लगायो । ट्रम्पले एक कल गरेपछि मोदी ठूलो मात्रामा अमेरिकालाई सो ड्रग दिन राजी भए । भारतको यो गुण अमेरिकाले कहिल्यै नभुल्ने भन्दै ट्रम्पले ट्वीट गरे । ट्रम्पलाई कोरोना लागेपछि मेरा दोस्त शब्दको प्रयोग गरी मोदीले ट्वीटमार्फत स्वास्थ्यलाभको कामना गरे ।

यी सबै पृष्ठभूमिबीच अमेरिकी चुनावको मुखैमा भारत–अमेरिकाबीच सैन्य सम्झौता हुनु अर्थपूर्ण छ । भलै, ढिलो–चाँडो यो सम्झौता हुने थियो, चुनावको मुखैमा सम्झौता गरेर ट्रम्पले सैन्य सहायताको बदलामा मोदीसँग राजनीतिक सहयोग चाहेका हुन् । भारतीय अमेरिकनलाई भारतका लागि आफ्नो विकल्प अरु हुन नसक्ने इम्प्रेशन दिन खोजेका हुन् ।

चुनावी सर्वेक्षणअनुसार ट्रम्पले हार्ने देखिएको छ । कोरोनाका कारण उनको पहिलो कार्यकाल उत्साहजनक हुन सकेन । सबभन्दा उपलब्धि भनेको अर्थतन्त्र थियो, त्यही धराशायी भयो । अर्को उपलब्धिका रूपमा विदेश नीतिलाई देखाउने प्रयास गरेका छन् । विपक्षीले उनीमाथि सहयोगी देशलाई चिढ्याएको तर उत्तर कोरियाली ‘तानाशाह’ सँग गले मिलाएको आरोप लगाएका छन् । ट्रम्प भने आफूलाई ‘आर्ट अफ डिल’ का लागि माहिर बताउँछन् । आफ्नो कार्यकालको आधा समय खास केही नगरेजस्तो देखिएका ट्रम्पले चुनावी वर्षमा भने विश्व तरंगित हुने क्रिया गरे । इरानी सैन्य कमाण्डरको इराकमा हत्या गरे । उत्तर कोरियाली नेतासँग उनकै भूमिमा हात मिलाए । मध्यपूर्वका देशमा वार्ता र सहमतिका लागि मध्यस्थता गरे । चीनसँग कोरोना ‘फैलाए’ बापत बदला लिने घोषणा गरे । ट्रम्पले मतदातालाई विश्वपरिवेशमा आफू पंगु नभई प्रभावशाली रहेको देखाउने प्रयास गरेका छन् । हालै सञ्चारमाध्यमलाई साक्षी राखेर विदेशी प्रमुखलाई बाइडेनबाट यो सम्भव थियो त भनेर प्रश्न गरे । भारतसँग भएको समझौता नयाँ होइन, क्रमिकता मात्र हो । सन् २००१ मा अलकायदाले अमेरिकी ट्वीन टावर ध्वस्त पारेपछि अमेरिकाले विश्वभर सैन्य (सहकार्यका लागि सम्झौता गरेको थियो । त्यसैको पछिल्लो चरण भारतसँगको सम्झौता हो । चुनावकै मुखमा सम्झौता गर्नु भारतीय मतदातालाई समेत प्रभावम पार्ने ट्रम्प रणनीति हो !

टिप्पणीहरू