यस्तो बिहे कसैले नगरोस् राधा !

यस्तो बिहे कसैले नगरोस् राधा !

‘कावासोतीमा एकजना दिदीलाई घरपरिवारले नहेरेर बारीको पाटामा बस्नुभएको छ । स्वास्थ्य अवस्था राम्रो छैन । विदेश गएका श्रीमान्ले वास्ता नगरेका कारण मानसिक अवस्था बिग्रेको छ । उद्धार गरौँ न कसैगरी !’ ४ वर्षअघि फेसबुक म्यासेञ्जरमा राधाको म्यासेज आयो । पत्रकार नै भएका कारण दुवैबीच चिनाजानी त थियो तर एकदमै निकट भने थिएनौँ । कसैलाई उद्धार गर्ने कुरा उनले मलाई नै किन भनिन् होला ? अहिलेसम्म थाहा छैन । कावासोतीका अरु पत्रकार साथी धनु, सविता, प्रकाश, कल्पना र मीनासमेत मिलेर ती महिलाको उद्धार गर्‍यौँ । उनका श्रीमान्लाई विदेशबाट झिकाउन र घरपरिवारलाई जिम्मेवार बनाउन अनेक समस्या झेल्यौँ । केन्द्र र प्रदेश सांसददेखि स्थानीय तहलाई गुहार्‍यौँ । रकम उठायौँ ।

रिपोर्टिङ र रेडियो कार्यक्रमसमेत चलाउने राधालाई व्यक्तिगत भन्दा पनि सामाजिक कामबाटै अलि बढि चिनेँ । उमेरमा मभन्दा कान्छी राधालाई खुब परिपक्व देखेको तिनै महिलालाई उद्धार गर्ने समयमा हो ।

२०७४ फागुन मसान्तको अघिल्लो दिन बेलुका फोन आयो, ‘भोलि बिहे हुँदै छ । फोनबाटै निम्ता भनेँ । इमर्जेन्सी आँटियो । आउनु है ।’ अक्क न बक्क भएँ । कोसँग ? कहाँ ? बुझ्न पनि हतार भयो । ०७५ वैशाखमा काठमाडौं आएपछि प्रकाश (उनका भाइ, पत्रकार) सँग भेटेर थाहा पाएँ, राधा काठमाडौंमै छन् । भेट्नका लागि धरहरापछाडि पुग्यौँ दुवैजना । श्रीमान् पनि आउलान् भन्ने सोचेकी थिएँ तर उनी एकदम हतार र हतास मानसिकतामा श्रीमान्को भाइ पर्ने देवरसँग आएकी थिइन् । ‘भिनाजु खै त ?’ प्रकाशले सोधे । ‘काममा हुनुहुन्छ त्यही भएर बाबुसँग आएको !’ राधाको जवाफ र हाउभाउ देखेर त्यतिबेलै अनौठो शंका उब्जेको थियो ।

राधाले बिहेपछि नियमित गर्दै आएको पत्रकारितालाई बिट मारेकी थिइन् । एकदिन प्रकाशले जरुरी सल्लाह गर्नुछ भन्दै समय मागे । बिहेपछिको अवस्थासँगै थाहा पाएँ उनी स्तन क्यान्सर लागेर थलिएकी छन् र उपचार भैरहेको छ । बिहेको रात नै श्रीमान्को बेवास्तामा परेकी राधा माइतीलाई तनाव नदिने र सकेसम्म घरमै सल्लाह गर्ने भनेर एक्लै कस्सिएकी रहिछन् । उनले घरपरिवारसँग श्रीमान्को व्यवहार र सम्बन्धबारे गरेको छलफलको अडियो सुनेँ । हिजो अरुको न्यायको लागि लडेकी राधा आफैँ अन्यायमा परेकी थिइन् तर लड्नलाई साथमा कोही छैन । बिहे गरेको तीन महिनापछि श्रीमान्को यातना र भौतिक आक्रमणबाट चोट लागेर उपचारका लागि अस्पताल गएकी उनमा स्तन क्यान्सर अन्तिम चरणमा पुगेको थाहा भएको थियो । काठमाडौंमै उपचार गरेर श्रीमान्को घरमा बसेकी उनलाई बिरामी अवस्थामा ढोका थुनेर पानीसमेत नदिई बस्ने कस्ता परिवार ? आत्महत्या गर्न आँटेकी उनले कुन साहस जुटाएर मध्यरात माइती गुहारेकी थिइन् ? जनआस्था साप्ताहिकमा गतवर्ष प्रकाशित बकपत्रमा प्रष्ट छ । रोगसँगको लडाइँ एकातिर, श्रीमान्सँग अधिकारको लडाइँ अर्कोतिर । राधाले क्यान्सरलाई तीन वर्षसम्म कसरी झेलेकी होलिन् ? सम्झँदा पनि मन काँप्छ ।

अहिल्यै बिहे गर्दिन भन्ने राधा एकाएक हुन्छ त नि भन्ने निर्णयमा पुगिन् । स्थानीय अस्मी भट्टराईसँग बिबाह गरिन् तर घुम्टो ओढ्नु र अर्काको घर पुग्नुबाहेक बिहेको अनुभूति भएन । सामान्य बिरामी हुँदा आफ्नाहरूको वास्ता र बोलीलेसमेत मान्छे निको हुन्छ । क्यान्सरले खाएको शरिर देख्दा श्रीमान्को नाम पाएको मान्छेको मनमा रत्तिपनि माया पलाएन । के मान्छे मान्छेप्रति यतिसम्म निकृष्ट, क्रुर र पापिष्ट हुनसक्छ ?

राधा उपचारका लागि नेपाल र भारत गरिरहेकी थिइन् । पटक पटकको केमोथेरापी र औषधिका कारण शरिर सुकेको दाउरा जस्तै, कपाल र आँखीभौँलगायत शरिरका रौँ झरेर मुडुलै, बिस्तरामा लम्पसार उनी श्रीमान्सँग लड्न आयोग, अड्डा–अदालत, प्रहरीकोमा धाउन सक्ने अवस्थामा थिइनन् । महिला आयोगमा भाइ प्रकाश र मैले उनको नाममा निवेदन दियौँ ।

छलफलका लागि श्रीमान् अधिवक्ता बोकेर आए । विषय उनको थियो तर बढि अधिवक्ता बोले । बिहे गरेर ल्याएकी श्रीमती बिरामी हुँदा एक कल फोन नगरेको उल्टै थर्काएको र बेवास्ता गरेकोमा महान काम गरेको छु भन्ने जसरी उनी प्रस्तुत भए । आयोगका पदाधिकारीको पेलपालमा एउटा सहमतिपत्र बन्यो, श्रीमतीको स्याहारसुसार गर्ने, खर्च दिने, माया दिने । तर मगजमा जिम्मेवारी भन्ने रत्तीपनि नभएको मान्छे कागजी खोस्टोमा लेख्दैमा के बाँधिन्थ्यो र ? राधालाई घरपरिवारले श्रीमान्ले फोन गरेको छ, खर्च पठाएको छ भनेर ढाँटेका थिए कारण उनको आत्मबल बलियो बनाउनुथियो ।

यो बीचमा उनी केही तङ्ग्रिइन् । कपाल पलाउन थाल्यो । शरिर अलि हेर्नलायकको भयो । अब राधालाई बिस्तरामा पल्टनु थिएन् । बुवासँग अनुरोध गरिन् र आफूजस्तै दिदीबहिनीले क्यान्सर र घरेलु हिंसा भोग्न नपरोस् भनेर गाउँ गाउँमा कार्यक्रम गर्न थालिन् । राधा क्यान्सर सचेतना फाउण्डेसन संस्थाको नाममा जिल्लाभरी अभियान चलाइन् । यो संस्था दर्ताको प्रक्रियामा हुँदै उनले संसार छाडेकी छन् । राधाको लडाइँ पैसासँगको थिएन र त अन्तिम अवस्थासम्म न्यायका लागि रोगी शरिर घिसारिरहिन् अदालतसम्म, अस्पतालसम्म ।

राधा, तिमीले देखेका केही थान सपना छन् । तिमी किताब लेखिसकेर धर्ति छोड्ने भन्थ्यौ । तिमीले लेखेका अक्षरहरूलाई किताबको रूप दिनु छ । तिमीले थालेको न्यायको अभियानलाई प्रचार गर्नु छ, फैलाउनु छ । तिमीले लडेको लडाईँ मेरालागि मार्गदर्शक हो । त्यो लडाईंका किस्सा सुनाएर भएपनि अबका पुस्ता (किशोरीहरू) लाई बलियो बनाउनु छ ।

नवलपुर चितवन क्षेत्रले क्यान्सरबाट केहीअघि मात्र तिमीजस्तै साहसी डा. बिएम खरेल (विष्णुमाया) र अल्लि आगाडि अनिता शर्मा (लेखक ः जीवन एक, संघर्ष अनेक/प्रच्छन्न) लाई यसैगरी गुमाएको छ ।

दसैँको चतुर्दशी तिथि पारेर कात्तिक १४ गते तिमीले धर्ति छोडेको कुरा सुनेको दिन म तिमी गयौ भन्नेभन्दा बढी तिम्रा कति काम अधुरा भए भन्नेमा चिन्तित थिएँ ।

तिमी छैनौ तर हरेक संघर्षलाई जीवितै छाडेर गएकी छौ । सायद तिमी मृत्युको मिति तोकिएर पनि फेरि उठी हाम्रा लागि पत्रकारितालाई निरन्तरता दियौ, हाम्रैलागि सामाजिक संस्था चलायौ, गाउँ गाउँमा पुग्यौ र हाम्रैलागि केही अक्षर नासो छाडेकी छ्यौ । तिम्रो नासो सुरक्षित गर्नुछ राधा ।

टिप्पणीहरू