बहुबिबाह,‘‘बर्थ डे पार्टी’ र कर्मचारीको ताँती

बहुबिबाह,‘‘बर्थ डे पार्टी’ र कर्मचारीको ताँती

सुनिलस्मृति गाउँपालिका,सुलिचौर,रोल्पाका अध्यक्ष गुणेन्द्र घर्तीले आफ्ना जुम्ल्याहा सन्तानको जन्मदिन (बर्थ डे) सरकारी कर्मचारीको उपस्थितिवीच होटलमा भव्य भोजको आयोजना गरेका छन् । जनयुद्धको उद्गमस्थल रोल्पाका पूर्व एमाओवादी एवम् गाउँपालिका अध्यक्ष कमरेडले बुर्जुवा तवरले मनाएको जन्मदिनको पारा देखेपछि स्थानीय अचम्भित बनेका हुन् । अर्कोतर्फ कोरोना महामारीमा सयौं मान्छे भेला गरेर पालिका अध्यक्षले नै होटलमा कार्यक्रमको आयोजना गर्नुले सरकारले तोकेको स्वास्थ्य मापदण्डको खिल्ली उडेको छ ।

हालैको बर्थ डे पार्टीमा बधाई दिने,भोज खाने,केक खाने र खुवाउनेहरूको लाइनमा स्थानीय प्रायः सबै सरकारी कार्यालयका कर्मचारी,सुरक्षाकर्मी,राजनीतिक दलका प्रतिनिधि,व्यापारी र बुद्धिजीवीको खचाखच भीड देखिन्थ्यो । दुई वर्षअघि नेकपा ५ नं. प्रदेश कमिटीको सदस्यको शपथ ग्रहणमा समेत नैतिक आचरणयुक्त जीवन बिताउने शपथ लिएका र गाउँपालिकाको उदाहरणीय नेतृत्व गर्नुपर्ने व्यक्तिले देखाएको द्वैध चरित्रले नेपाली कम्युनिष्ट आन्दोलनको चित्रण गरेको बताइएको छ ।

बहुबिबाहित घर्तीले भव्य समारोह र सबै सरकारी कर्मचारीलाई अनिवार्य उपस्थितिको निम्तो दिएर मनाएको बर्थ डेपछि सामाजिक सञ्जालमार्फत् दिइएको कृतज्ञता तथा धन्यवादमा भनिएको छ ‘आर्जु र आर्जन (जुम्ल्याहा) छोरीको जन्म उत्सवमा हाम्रो आग्रहलाई स्वीकार गर्दै उपस्थितभै छोरीलाई हौसला,खुशी,तथा आशीर्वाद प्रदान गरिदिनु हुने सम्पूर्ण हाम्रो आफन्तजन, जनप्रतिनिधि, राष्ट्रसेवक कर्मचारी, राजनैतिक दल, समाजसेवी, वुद्धिजीवी, उद्योग वाणिज्य संघ,संघ संस्था,पत्रकार,सुरक्षाकर्मी र सम्पूर्ण विशिष्ट मानुभावहरूमा हामी सघर परिवार हार्दिक आभारसहित सधन्यवाद ज्ञापन गर्दछौं । र, व्यवस्थापकीय क्षेत्रमा देखिएको केही असुविधाजनक अवस्थाबाट हामी दुःखी बनेका छौं । र, पर्न गएको असरप्रति हाम्रो परिवार क्षमाप्रार्थी नमन गर्दछौं ।’

टिप्पणीहरू