सत्तारुढ दलको बिबाद फेरि उत्कर्षमा

सत्तारुढ दलको बिबाद फेरि उत्कर्षमा

११ दिनपछि शनिबार दिउँसो बालुवाटारमा नेकपाका दुईजना अध्यक्षबीच भेट भएको २४ घण्टा नबित्दै पार्टी बिभाजनको खतरा देखा परेको छ । सधैं समन्वयकारी भूमिका निभाउँदै आउनुभएका महासचिव बिष्णु पौडेलले समेत यसको संकेत गर्दै एकता बचाउन नेता,कार्यकर्ता,सदस्य,समर्थकका नाममा सामाजिक सन्जालमार्फत सार्वजनिक आह्वान गर्नुभएको छ भने दुबै अध्यक्षनिकटहरुका अलग अलग भेला बाक्लिन थालेका छन् ।अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीको आग्रहमा बालुवाटार पुगेका अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सङ्ग हिजोको भेटवार्ता शुरुदेखि नै ठास्सठुस्सबाट अघि बढेको बताइन्छ । प्रधानमन्त्रीले प्रचण्डतर्फ सोझिँदै ‘तपाईंले किन मेरोबिरुद्ध वक्तव्य निकाल्नुभयो ?’ भनेर सोधेपछि प्रचण्डले पनि ‘तपाईं जे मन लाग्यो त्यहि गर्ने, अनि के मचाँहि चुप लागेर बसिरहुँ ?’ भन्दै जवाफ फर्काउनु भएको स्रोतले बताएको छ ।

‘तपाईं जे मन लाग्यो त्यहि गर्ने, अनि के मचाँहि चुप लागेर बसिरहुँ ?’

अर्का अध्यक्षको भनाई उल्लेख गर्दै स्रोतले भनेको छ ‘तपाईंका हरेक गलत निर्णय र कार्यप्रति के म सँधै मुकदर्शक बन्दै ‘त्वम् शरणम्’ गरुँ ? पहिलेदेखिका तमाम विषयहरूमाथि पार्टी सचिवालयमा गम्भीर ढंगले छलफल गर्नु पर्दैन ?” सचिवालयको बैठकको कुरो उठाउनेबित्तिक्कै प्रधानमन्त्रीले शुरुमा ‘यस्तो अवस्थामा बैठक किन राख्ने र ?’ भन्नुभएको थियो । तर,एक छिनपछि उहाँले नै ‘ठीकै छ त्यसो हो भने महासचिवसँग समन्वय  गरौं’ भन्नुभयो । हिजो महासचिवसङ्ग समन्वय गरेर सचिवालय बैठक राख्नेवारे दुई अध्यक्षवीच सहमति हुने,आजै महासचिवले हात उठाउने परिस्थिति सिर्जना हुने-यो कुनै हालतमा सुखद सन्देश नभएको नेकपानिकट बुध्दिजीवीहरु बताउँछन् ।

हिजो महासचिवसङ्ग समन्वय गरेर सचिवालय बैठक राख्नेवारे दुई अध्यक्षवीच सहमति हुने, आजै महासचिवले हात उठाउने परिस्थिति सिर्जना हुने

गत भदौ २६ गतेको स्थायी समिति बैठकको निर्णयमा पार्टी बैठकको आयोजना र सरकारले गर्ने महत्वपूर्ण नियुक्ति दुबैजना अध्यक्षको सहमतिमा हुने भनिएको छ । बैठकको मिति तोक्ने काम सहमतिमा गर्नुपर्ने बालुवाटारको तर्कभित्र सरकारले गर्ने कुनैपनि निर्णयमा अर्का अध्यक्षको सहमति आवश्यक ठान्ने नगरिएको खुमलटारको निश्कर्ष रहिआएको छ । उच्च स्रोतका अनुसार सचिवालय बैठकको निम्ति बालुवाटारले अनिच्छा देखाएमा बहुमत सदस्यको आग्रहमा आवश्यक निर्णय लिन अब खुमलटार पछि नहट्ने निश्कर्षमा पुगेको हो ।

उता,कर्णाली प्रदेशका सामाजिक विकास मन्त्री दल रावलले सामाजिक सञ्जालमा लेखेको स्टाटसको आधारमा आजै  मन्त्रिमण्डल पुनर्गठन हुने आँकलन गरिएको थियो । मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले प्रधानमन्त्री निकट मन्त्रीहरूलाई बर्खास्त गर्ने योजना बुनेको आरोप लगाउँदै पहिल्यै रावलले सामाजिक सञ्जालमा प्रचार गरेको खुमलटारको बुझाई छ ।

टिप्पणीहरू