चार सचिव खाली,को उक्लेलान् यसपालि ?

उमेर हदका कारण बुधबार मात्रै राष्ट्रिय सतर्कता केन्द्रमा कार्यरत सचिव ऋृषिराज शर्माले अवकाश पाएसँगै ४ सचिव पद रिक्त हुन पुगेको छ ।
यसअघि नै प्राविधिकतर्फ कृषि मन्त्रालयका सचिव राजेन्द्र भारीले गत ३० असोजमा अनिवार्य अवकाश पाए । यस्तै नेपाल कानुन आयोगका सचिव चिरञ्जिवी खनालले २ कार्तिकमा अवकाश पाएसँगै कानुन आयोग सचिवविहिन छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा ५ सचिवको दरबन्दी छ । तर जिम्मेवारी खोसिएर उपप्रधानमन्त्री ईश्वर पोखरेल विनाविभागीय बनेपछि  आफू बस्दै आएको कोठा मन्त्रीलाई जिम्मा लगाएर  यादव कोइराला त्यहाँबाट सँस्क्रिति तथा पर्यटन मन्त्रालयतिर पुगेसँगै प्रधानमन्त्री कार्यालयमा एक सचिव पद रिक्त छ ।
काठमाडौं महानगरपालिकाको सचिव दरबन्दीबाट विशिष्ट श्रेणी काटिएकाले चार पद मात्र रिक्त हुने स्थिति छ ।
प्रशासन सेवातर्फ  सचिव पदका लागि बरिष्ठताका आधारमा संचार तथा सूचना प्रविधि मन्त्रालयका सहसचिव गोकर्णमणि दवाडी प्रवल दाबेदार हुन् । उनी यसअघि ५ पटक बरिष्ठताका आधारमा पहिलो नम्बरमा सचिव बढुवा सिफारिसमा परे पनि कनिष्ठ विष्णु नेपाल,मानबहादुर बिके,चन्द्रमान श्रेष्ठ,मधु मरासिनीहरुले सचिव पाइसकेका छन् ।
नेपाल हाल गण्डकी प्रदेशको प्रमुख सचिव,बिक बाग्मती प्रदेशको प्रमुख सचिव छन् यस्तै श्रेष्ठ कर्णाली प्रदेशको प्रमुख सचिवको जिम्मेवारीमा छन् भने मधुलेचाहिँ सचिवमा बढुवा हुनेबित्तिकै महालेखा नियन्त्रकको कार्यालय कमाण्ड गर्ने अवसर पाएका छन् ।
प्रशासनतर्फ दुवाडीका साथै सुमन अर्याल र भरतमणि सुवेदीहरु सचिव बढुवाका लागि दावेदार हुन् । यसअघि अर्थमन्त्री युवराज खतिवडादेखि मुख्यसचिव लोकदर्शन रेग्मीहरुका कारण पाँच पटकसम्म  अन्यायमा पारिएका दुवाडी सचिव बढुवा होलान् वा नहोलान् ? निजामती बृत्तमा चासोका साथ हेरिएको छ ।
यस्तै यसअघि नै बरिष्ठताको आधारमा  कृषिसचिव बन्नुपर्ने योगेन्द्रकुमार कार्की पनि गोकर्णमणि दुवाडी झैं पछि परेका मानिन्छन्  ।
बरिष्ठताका आधारमा गत वैशाखमै सचिव बढुवा हुनुपर्ने कार्कीको सट्टा तेश्रो नम्बरमा नाम सिफारिस भएका राजेन्द्र भारीलाई सचिव बनाइएको थियो । उनी कृषि मन्त्री घनश्याम भुषालकै जिल्लावासी हुन् ।
प्राविधिकतर्फ सचिव बन्ने लाइनमा चाहिँ कार्कीसहित गोविन्द शर्मा कृष्ण आचार्य र विमलकुमार निर्मल छन् ।
शंकरदास बैरागी मुख्यसचिव बनेसँगै पहिलो पटक सहसचिवहरु सचिवमा बढुवा हुँदैछन् ।

टिप्पणीहरू