गुम्बाको घाउ र गरिवीको दु:ख..

गुम्बाको घाउ र गरिवीको दु:ख..

दसैं मनाउन घर जान पाऊँ भन्दै टीकाको दिन संयुक्त निवेदन दिएका भारत उत्तराखण्डको देहरादूनस्थित शाक्य एकेडेमी (गुम्बा) मा कुटिएका मध्ये केही विद्यार्थी रुँदै, कराउँदै पश्चिम नेपालको गड्डाचौकी आइपुगेपछि यौटा काण्डको पटाक्षेप भएको छ । दसैंअघि केही विद्यार्थी घर आएका र टीकाको दिन अरु पनि घर (नेपाल) जान खोजेपछि गुम्बाका प्रिन्सिपल छिरिङ्ग छोदेन, गुरुआमा धाग्मो सोनाम र गुरु ज्ञानबज्र रिम्पोछे रिसले चुर भएका थिए । छोदेन र सोनामले विद्यार्थीहरूलाई सम्झाउन खोजेपनि रिम्पोछेले भने एक्कासी सबैमाथि लाठी बर्साएका हुन् । लाठीबाट धेरैजनाको टाउको र निधारमा चोट लागेको छ भने अधिकांशको शरीरमा घाउ देखिन्छ ।

छोदेन र सोनाम श्रीमान्,श्रीमती हुन् । सोनामकी आमा बिरामी भएर अस्पतालमा भर्ना गरिएको रिस आफूहरूमाथि पोखिएको विद्यार्थीले बताएका छन् । सोमबारको घटनापछि सबै विद्यार्थीको मोबाइल फोन खोसेर राखिएको थियो भने लाठी प्रहारको सूचना कसैलाई नदिन धम्क्याइएको उनीहरूले बताएका छन् । देहरादूनको भवनपुरस्थित शाक्य एकेडेमीमा बुद्ध धर्मसम्बन्धी अध्यापन गराइन्छ । त्यहाँ नेपालका विभिन्न जिल्लाबाट छनोट गरेर लगिएका झण्डै डेढ सय विद्यार्थी अध्ययनरत छन् ।

प्राप्त समाचारअनुसार घटनाबारे बेलैमा जानकारी गराइएपनि नयाँ दिल्लीस्थित नेपाली दूतावासले खासै सम्पर्क नगरेको बताइएको छ । नयाँ दिल्लीबाट एकाध घण्टाको सडक यात्रामा पुगिने देहरादूनमा अहिलेसम्म दूतावास प्रतिनिधि पुगेका छैनन् ।

देहरादूनको गुम्बामा बौद्ध धर्मसम्बन्धी अध्ययन गर्ने (लामा) नेपाली विद्यार्थीहरूमाथि भएको कुटपिट गम्भीर विषय हो । यो विषय त्यहाँ अध्ययनरत लामा विद्यार्थी,तिनका अभिभावक र बौद्ध धर्मसँग सम्बन्धित निकायको मात्र चासो होइन । उक्त घटना नेपाली नागरिकको अन्तरदेशीय सम्बन्धसँग जोडिएको एउटा गम्भीर विषय पनि हो ।

विज्ञहरूका अनुसार सार्वजनिक अन्तर्राष्ट्रिय कानुन आकर्षित हुने गरी भएको देहरादून घटनाको सम्बन्धमा परराष्ट्र मन्त्रालयले बेलैमा मुख खोल्नुपर्ने हो । तर बिध्यार्थी घर पुगिसकेपछि बल्ल बिज्ञप्ति निकालिएको छ । देहरादूनमा मात्रै होइन,भारतको पूर्वोत्तर दार्जिलिङ,सिक्किम,अरुणाचलका गुम्बाहरूमा विशेषगरी काठमाडौं आसपास र हिमाली जिल्लाहरूबाट गरीब र जेहेन्दार विद्यार्थीहरूलाई अध्यापनको लागि लैजाने गरिएको छ ।

टिप्पणीहरू