अर्का कमरेड पनि अस्ताए

अर्का कमरेड पनि अस्ताए

दोस्रो संविधानसभाका सदस्य मानपुर चौधरीको कोरोना संक्रमणबाट मंगलबार दिउँसो निधन भएको छ । सप्तरीको कञ्चनपुर नगरपालिका–४, जगतपुर निवासी चौधरीको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा निधन भएको हो । स्वासप्रश्वासमा समस्या देखिएपछि कात्तिक २ गते धरान लगिएको भनिएपनि चौधरीको यसअघि कोशी अञ्चल अस्पतालमा गरिएको कोरोना परीक्षणको रिपोर्ट नेगेटिभ आएको बताइन्छ ।

उनले दोस्रो संविधानसभाको निर्वाचन सप्तरीको क्षेत्र नं. १ बाट जितेका थिए । त्यसअघि पूर्वमन्त्री जयप्रकाशप्रसाद गुप्ता निर्वाचित हुँदै आएकोमा दोस्रो संविधानसभा निर्वाचनमा मानपुर चौधरीले जितेका हुन् । त्यसबखत माओवादी र एमालेबीच चुनावी तालमेल भएको थियो । चौधरी विद्यालयदेखि नै गुप्ताका सहपाठीसमेत थिए ।

उनी विद्यार्थीकालदेखि नै वामपन्थी आन्दोलनमा होमिएका थिए । विद्यार्थी नेता हुँदै पछि एमालेको सप्तरी जिल्ला कमिटी अध्यक्ष बने । तर, पार्टी कमिटीको बैठकमा भिन्न मत राख्ने चौधरीलाई सुमन प्याकुरेलहरूले कहिल्यै लखेट्न छाडेनन् । उनीहरूको लखेटाईमा परेपछि मानपुरलगायत हिरालाल चौधरीहरू बाध्य भएर माओवादीमा प्रवेश गरेका थिए ।

केही दिनअघि सप्तरीबाट काठमाडौं आएको बखत उनलाई कोरोना संक्रमण भएको थियो । त्यसपछि गाउँ फर्किने क्रममा काठमाडौंबाट सोझै बिराटनगर गएको बताइन्छ । त्यहि मेसोमा बिराटनगरस्थित कोशी अञ्चल अस्पतालमा गराइएको परीक्षणमा कोरोना रिपोर्ट नेगेटिभ आयो । त्यहि रिपोर्ट लिएर सप्तरीस्थित आफ्नो गाउँ कञ्चनपुरमा गएर ढुक्कसँग बस्न थाले । गाउँ पुगेको केहि दिनपछि उनको स्वासप्रश्वासमा एक्कासी समस्या देखिएको परिवारले जानकारी दिएको छ ।

त्यसपछि उनलाई धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा भर्ना गरियो । भर्ना गरेपनि त्यहाँ राम्रो उपचार नभएको पारिवारिक स्रोतले बताएको छ । उनीहरूका अनुसार ‘अस्पतालमा लगेर बेडमा राख्ने काम मात्र भयो, स्वास्थ्य उपचारको कुनैपनि विधि अपनाइएन । अन्ततः मंगलबार दिउँसो १ बजे निधन भयो ।’

चौधरीले सप्तरीको निर्वाचन क्षेत्र नं. १ का निकै आशलाग्दो र उदीयमान वामपन्थी नेताको छबि बनाएका थिए । उनको निधनले मुलुकका स्वास्थ्य संस्थाको स्तर र परीक्षणको हैसियतलाई समेत उदाङ्गो बनाइदिएको सप्तरीवासीहरूले नै बताएका छन् ।

टिप्पणीहरू