मन्त्री अझै ओछ्यानमा

मन्त्री अझै ओछ्यानमा

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री हृदयेश त्रिपाठी अझै मन्त्रालय जान सकेका छैनन् । दशैंअघि बिरामी परेका उनी अस्पतालबाट मन्त्री क्वार्टर आएपनि हिँडडुल गर्न नसकेको कारण सिंहदरबार नगई पुलचोकमै घाम तापेर बसेको बताइन्छ । धापासीको ग्राण्डी अस्पतालमा पित्त थैलीको अपरेशन गरेका उनी कोरोना संक्रमणको उच्च जोखिम देखिएपछि क्वार्टरमै ओछ्यान लगाएर बसेका हुन् ।

मन्त्रालयका कर्मचारी, क्याबिनेटका अन्य मन्त्री तथा मुख्यसचिव समेतलाई संक्रमण पुष्टि भएपछि रोगी मन्त्रीहरूको विगतमा झैं फुत्त मन्त्रालय जाने र गफिने प्रक्रिया अवरुद्ध भएको स्रोतको दाबी छ । अहिलेको क्याबिनेटका अधिकांश सदस्य रोगी भएकाले पनि हालको अवस्थामा उनीहरू बाहिर निस्कन हिच्किचाएका हुन् ।

सुगरका रोगी शिक्षामन्त्री गिरिराजमणि पोखरेल पनि त्राहिमाम् छन् । पोखरेल पटकपटक रोगले च्यापेपछि वीर अस्पताल र पाटन अस्पतालमा भर्ना हुँदै आएका छन् । पछिल्लो पटक कोरोनाको आशंकामा केही साताअघि रातारात पाटन अस्पताल भर्ना भएका थिए । यसअघि पोखरेललाई स्वाईन फ्लु, मेनेन्जाइटिस्लगायत धेरैवटा रोगले आक्रमण गरेपछि अहिलेको अवस्थामा उनी निकै हच्किएका हुन् ।

टिप्पणीहरू