मधेशी राजनीतिको इतिवृतान्त

केही समयअघि डा. बाबुराम भट्टराईञ र उपेन्द्र यादवले पर्सामा अन्य दलका कार्यकर्ताको पार्टी प्रवेश कार्यक्रम राखेका थिए तर त्यहाँ एकीकृत दल जनता समाजवादी पार्टी (जसपा) र महन्थ ठाकुरहरुको पूर्व पार्टी राजपाको तल्लो तहका नेताहरू उपस्थित भएनन् । तर पनि अन्य दलका केही कार्यकर्तालाई नयाँ पार्टीमा प्रवेश गराइयो । उता,पर्साको काउण्टरमा राजेन्द्र महतोले त्यसैगरी जनकपुरमा पार्टी प्रवेश कार्यक्रम राखे । त्यहाँपनि बाबुराम र उपेन्द्रतिरका साना-ठूला कुनै नेता तथा कार्यकर्ता देखिएनन् । यसले पनि उनीहरूको मन मिलनको अवस्थालाई सर्लक्क देखाउँछ । यी सबै गतिविधिले मधेशवादी दलहरूको एकतापछि बनेको एकीकृत दललाई एक ढिक्का बनाएर अघि बढाउनेतर्फ काम भइरहेको छ भनिएपनि जसपा नेताहरूका पार्टीगत क्रियाकलापमा सामूहिक उद्देश्य देखिँदैन ।

एकीकरण पहिलेको समझदारीमा सबै पक्षले दिएको नामबाट सात- आठ सय जनाको केन्द्रीय कमिटी बनाउने भनिएको थियो । धेरै जनाको जम्बो केन्द्रीय समिति बनाउनु मधेशवादी दलहरूको बाध्यता नै हो । अन्यथा,त्यहिँबाट पहिरो जाने वा फुट्ने क्रम शुरु हुने थियो । एकीकृत दलको भीमकाय कमिटी निर्माण व्यवहारिक पनि देखिएको छैन । अहिलेसम्म जसपाले केन्द्रीय कमिटीको बैठक नै बोलाउन सकेको छैन । उनीहरू यसैमा रुमल्लिएका छन् । हालत साढे चार सय सदस्यीय नेकपा केन्द्रीय समितिको जस्तै छ ।

विश्लेषकहरू काठमाडौं (संघीय) को राजनीतिक समीकरणमा फेरबदल नभएसम्म दुई नम्बर प्रदेशको सरकारमा पनि परिवर्तन नआउने बताउँछन् ।

२ नम्बर प्रदेश सरकार परिवर्तन हुने हल्ला धेरै अघिदेखि चलेको छ । तर,विश्लेषकहरू काठमाडौं (संघीय) को राजनीतिक समीकरणमा फेरबदल नभएसम्म दुई नम्बर प्रदेशको सरकारमा पनि परिवर्तन नआउने बताउँछन् ।हालै उपेन्द्र यादव जनकपुर जाँदा यसअघि उनैको पार्टीबाट मुख्यमन्त्री बनेका लालबाबु राउत गद्दीको बिरोधमा चर्का कुरा उठेको थियो । सरकार बदल्ने भन्नासाथ मुख्यमन्त्रीसँगै सभामुखलगायत अन्य मन्त्रीहरूको समेत फेरबदल गर्नैपर्ने हुन्छ । त्यस्तो अवस्थामा बाहिर हल्ला भएझैँ सजिलैसँग प्रदेश सरकारमा परिवर्तन नआउने उनीहरूको ठम्याई छ ।

प्रदेशका सामाजिक विकास मन्त्री नवलकिशोर साह सद्भावना पार्टी पृष्ठभूमिका हुन्,जो करोडौं रूपैयाँ आर्थिक सहयोग उपलब्ध गराउने राजेन्द्र महतोका एक मात्र मुन्सीको रूपमा परिचित छन् । उता,भौतिक योजना मन्त्री जितेन्द्र सोनल नेता महन्थ ठाकुरको खजाञ्ची नै बताइन्छन् ।

सोनल ह्वारह्वार्ती खर्च गर्ने प्रवृत्तिका मान्छे हुन् । उनका एकजना मित्र भन्छन् ‘मन मिल्यो भने उनले खल्तिमा भएको जति सबै एउटै ठाउँमा सिध्याउँछन् । यो उनको शौख नै हो ।’

२ नम्बर प्रदेश सरकार बदल्नु भनेको त्यहाँका मन्त्रीद्वय साह र सोनल पनि हट्नु हो । त्यसैले उनीहरूलाई हटाएर भइराखेको ‘अच्छा च्यानल’ भत्काउन महतो र ठाकुर दुबै अनिच्छुक हुनु स्वाभाविक नै हो । हिजो मन्त्रिमण्डल गठनको बेला चारजना मन्त्रीको लागि दुईवटा दलले दुई जनाको नाम तिमी देऊ,अनि दुई जनाको म दिन्छु र मुख्यमन्त्री मेरो दलको भयो भनेझैँ सजिलो अहिले छैन ।

यतिखेर सबै मधेशवादी दल एउटै जनता समाजवादी पार्टीमा समेटिएका छन् । त्यसकारण त्यहाँको सरकार परिवर्तन हुने सम्भावना अत्यन्त न्यून हुँदै गएको छ । तर पनि उपेन्द्र यादवले बिरोधको सामना भने गरिरहेका छन् । एकथरि ‘लालबाबुको बिरोध उपेन्द्रले आफ्नै प्रायोजनमा गराएको’ भन्नेहरू पनि छन् । झट्ट सुन्दा उक्त आरोप होइन भन्ने लागेपनि वा वास्तविकता त्यहि भएपनि उपेन्द्रले तत्काल सरकार परिवर्तनको कदम चालिहाल्छन् भन्नेमा कसैले पनि विश्वास गरेको देखिँदैन ।

टिप्पणीहरू