किस्सा नेपाल-भारत सम्बन्धको

किस्सा नेपाल-भारत सम्बन्धको

भारतका दिग्गज राजनीतिक विश्लेषकहरूलाई समेत नेपालको राजनीति र गतिबिधि बुझ्न हम्मे हम्मे पर्न थालेको छ । हरेक पार्टी,जिल्ला र क्षेत्रमा आफ्नै भनिएर चिनिएका दुई दुई जना मान्छे प्रतिस्पर्धी भएपछि यदाकदा सोचेको योजना पूरा गराउनमाभन्दा झन् अप्ठेराहरू देखापर्न थालेको उसको बुझाई छ । प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसभित्र हेर्ने हो भने विमलेन्द्र निधी र अमरेशकुमार सिंह नै काफी छन् ।

तराईका जिल्लाहरूलाई हेर्ने हो भने एकातिर जनकपुरमा विमलेन्द्र निधी र राजेन्द्र महतो छन् उता,महन्थ ठाकुर र अमरेशकुमार सिंह पनि सर्लाहीको एकै ठाउँमा छन् । यस्तो अवस्थामा चित र पट आफ्नै भएकाले जसलाई उठाए पनि,हराए र जिताए पनि आफ्नै मान्छे आउने र पछारिने भएकाले उसलाई कतिपय अवस्थामा ढुक्कको स्थिति बन्ने गरेको छ ।

एकजना विश्लेषकका अनुसार भारतीय संस्थापन पक्षको रणनीति नै मित्रराष्ट्र भनिएका छिमेकका सत्ता पक्ष र विपक्षी सबैमा हैसियतअनुसारको पहुँच पुर्याउनु हो । भारतले हरदम त्यहि खेल रच्ने र खेल्ने भएकाले कुनैपनि राजनीतिक पार्टी चोखो छैनन् । त्यसो गर्दा दलहरूभित्र पटकपटक बार्गेनिङ्ग ढुक्कले गर्न पाइन्छ । आफूनिकट प्रतिस्पर्धीमध्ये एउटालाई उचालेको अवस्थामा अब तिमी भएनौ,उनको पालो भन्न पनि पाइयो ।

नेपाली दलहरूभित्र ‘भ्यागुताको धार्नी’ प्रवृत्तिको कारण उसले नेपालमा आफ्नो भरपर्दो र विश्वासिलो साथी नेपाली काँग्रेस नै रहेको निश्कर्ष निकालेको बताइन्छ । निर्वाचनमा अत्यधिक बहुमत ल्याएर शक्तिशाली बनेको नेकपाभित्र आफूले जति गरेपनि उसका नेताहरूले अन्तरआत्माबाट आफूलाई विश्वास गरिहाल्ने अवस्था नरहेको पनि भारतीय पक्षले छनक दिने गरेको छ । त्यसैले उसको भरपर्दो र विश्वासिलो मित्रचाहिँ  नेपाली काँग्रेस नै हो । तर त्यहि काँग्रेसका सभापति तथा पटक पटक प्रधानमन्त्री बनेका शेरबहादुर देउवालाई भने श्रीमती आरजुको कारण भारतले अहिलेसम्म आफ्नो विश्वासपात्रको सूचिमा समावेश गरेको छैन । पश्चिमा राष्ट्र निकटको बिल्ला लागेकी आरजूभन्दा बरु काँग्रेसभित्र विमलेन्द्र निधीलाई सभापति बनाउन सकिएमा आफ्ना सबै काम फत्ये गर्न सजिलो हुने भारतीय बुझाई रहेको बताइन्छ । अढाई दशकअघि देउवा गृहमन्त्री हुँदा नेपालको लागि तत्कालीन अमेरिकी राजदूत जुलिया चाङ्ग ब्लकले लमीको भूमिका निभाएर आरजूसँग लगनगाँठो कसिदिएपछि भारत देउवासँग सशंकित हुँदै आएको हो ।

टिप्पणीहरू