कोरोनाले झन झन पेल्दै

कोरोनाले झन झन पेल्दै

नेपाल सरकार,स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले हिजो अपरान्ह जारी गरेको विवरणअनुसार मुलुकभर १ लाख ६२ हजार ३ सय ५४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । त्यसमध्ये ७५.प्रतिशत अर्थात् १ लाख २१ हजार ८ सय २४ जनामा संक्रमण निको भएको छ भने,८ सय ८७ जनाको निधन भएको छ । पीसीआर परीक्षणमा पोजिटिभ देखिएकामध्ये २४.४० प्रतिशत अर्थात् ३९ हजार ६ सय ४३ जना अझै सक्रिय संक्रमित छन् ।

कूल संक्रमितमध्ये काठमाडौं उपत्यकामा मात्र झण्डै आधाको हाराहारीमा छन् । तीमध्ये काठमाडौंमा अझै १६ हजार ९ सय ५८ जना,ललितपुरमा २ हजार ४ सय ३४ जना र भक्तपुरमा १ हजार १ सय ९४ जना सक्रिय संक्रमित छन् । काठमाडौं उपत्यकामा मात्रै ३ सय १४ जनाको निधन भएको छ । यसबीच होम आइसोलेशनमा बसेकाहरूको संख्या ३१ हजार ९ सय ३४ रहेकोमा उपत्यकामा मात्रै झण्डै १५ हजारको नजिक छ । हालसम्म १४ लाख ९ हजार २ सय ९५ जनाको आरटडिटी पीसीआर परीक्षण गरिएको पनि मन्त्रालयको विवरणमा उल्लेख छ ।

लक्षणसहितका संक्रमित बढेसँगै आईसीयू र भेण्टिलेटरमा बस्नेहरूको संख्या क्रमशः बढ्दो छ । हिजोसम्म आईसीयुमा २ सय ९० जना र भेण्टिलेटरमा ७२ जनालाई राखिएको छ । तीमध्ये सबैभन्दा बढी बागमती प्रदेशमा क्रमशः १ सय ७८ र ५७ जना छन् भने सबैभन्दा कम कर्णाली र सुदूरपश्चिम प्रदेशमा आईसीयूमा रहेकाहरूको संख्या क्रमशः ४ र ५ जना मात्र छ ।

अघिल्लो सातासम्म उल्लेख्य संख्यामा देखिएको कोरोना संक्रमितको अवस्था दशैंको बिदाका कारण कम भएको बताइएको छ । गत शुक्रबारदेखि अधिकांश अस्पताल,परीक्षण केन्द्र र स्वास्थ्य संस्थामा दशैं बिदामा स्वास्थ्यकर्मीको पातलो उपस्थितिले परीक्षण प्रभावित भएको हो । एकजना जनस्वास्थ्यविद्का अनुसार यो साता केही पातलो देखिएको संक्रमितको संख्या आगामी सातादेखि ह्वात्तै बढ्ने छ । दशैंमा शहरबाट गाउँ र गाउँबाट शहर पसेकाहरूले स्वास्थ्य सुरक्षाको मापदण्ड नअपनाएको परिणाम सर्वत्र देखिँदा अवस्था झन् भयावह हुने आँकलन गरिएको छ ।

दक्षिण एशियाली राष्ट्रहरूको पछिल्लो अवस्थालाई हेर्दा कोरोना संक्रमित निको हुने दर सबैभन्दा धेरै पाकिस्तानमा छ । त्यहाँ ९४.६ प्रतिशत रहेको निको हुने दर माल्दिभ्समा ९१.६, भुटानमा ९१.२, भारतमा ९०.६, अफगानिस्तानमा ८३.४, बंगलादेशमा ७९.१, नेपालमा ७५ र सबैभन्दा कम श्रीलंकामा ४६.७ प्रतिशत मात्र रहेको छ ।

टिप्पणीहरू