परीक्षाको फाइल घुमेको घुम्यै

सर्वोच्च अदालत, राष्ट्रिय सूचना आयोग र राष्ट्रिय सतर्कता केन्द्रले रोक्ने आदेश दिँदादिँदै भौतिकशास्त्र विषयका उत्तरपुस्तिका त्रिविले धुल्याएर खरानी पारेपछि उत्पन्न विवाद फेरि जिल्ला सरकारी वकिल कार्यालय काठमाडौं पुगेकोे छ । त्रिविले सबै अभिलेख नष्ट गरिसकेको भन्दै आदेश कार्यान्वयन गर्न असम्भव भएको जवाफ पठाएको थियो । यता, पीडित परीक्षार्थीको जाहेरी दर्ता नहुने बताउँदै असोज १२ गते महानगरीय प्रहरी परिसर काठमाडौंले परीक्षाफल प्रकाशन भएको ४ महिनापछि छानबिन फाइल तामेलीमा राख्ने रायसहितको प्रतिवेदन जिल्ला सरकारी वकिलको कार्यालयमा पेश गरेको छ ।

त्रिभुवन विश्वविद्यालय विज्ञान तथा प्रविधि अध्ययन संस्थान, डिनको कार्यालयबाट सञ्चालित स्नातकोत्तर तह भौतिकशास्त्रअन्तर्गत प्रथम सेमेष्टरको पुरानो पाठ्यक्रममा आधारित ‘क्वान्टम मेकानिक्स’ विषयको २०७५ साल पुस २९ गते लिइएको परीक्षामा गडबडी भएको विवादको फाइल घुम्दैफिर्दै सरकारी वकिल कार्यालयमै पुगेको हो । महेन्द्ररत्न क्याम्पस ताहाचलमा तोकिएको उक्त परीक्षामा केही विद्यार्थीले भौतिकशास्त्र विषयको प्रश्नपत्र पाठ्यक्रमभन्दा बाहिरबाट आएको भन्दै अवज्ञा गरेपछि विवाद शुरु भएको थियो ।

यता, परीक्षामा धाँधली गरी कमजोर विद्यार्थीलाई समेत उत्तीर्ण गराइएको जिकिरसहित स्याङ्जाका आशिष पौडेलले फेरि असोज २२ गते जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौंका न्यायाधिवक्ता शान्ति न्यौपानेसमक्ष उजुरी दिएका छन् । उक्त उजुरीमा पनि अहिलेसम्म ठोस निर्णय आउन सकेको छैन ।

टिप्पणीहरू