बेलायत बस्ने नेपालीलाई दशैंको दु:ख

बेलायत बस्ने नेपालीलाई दशैंको दु:ख

कोरोना कहरका कारण बेलायत बस्ने नेपालीको दशैं यसपटक खल्लोसँग बित्यो । टीका घर घरमा मात्र सिमित रहन पुग्यो ।

बेलायत सरकारको ६ जनाभन्दा बढी जमघट र एक घरको मानिस अर्को घरमा जान नपाइने “रुल अफ सिक्स’ नियमका कारण यसपालिको दशैंमा यता खासै चहलपहल देखिएन बरु धेरैले डिजिटल टीका र आशिर्वाद लिए-दिए।

‘कोरोनाका कारण यो वर्ष नेपाल जान सम्भव नभएपछि बिहान ८७ वर्षीय आमाले फोनमा आशिर्वाद दिनुभयो । घरमै परिवारसंग सामान्य तरिकाले टीका लगाइयो’, लण्डनका सफल व्यवसायी कूल आचार्य भन्छन्-‘अर्को वर्ष फेरि सबै इष्टमित्रसंग रमाइलो गरी टीका लगाउन पाउने विश्वास लिएको छु। कोभिडबाट बचौं । आफू सुरक्षित रहौं,अरुलाई सुरक्षित रहन मध्दत गरौँ।’

कोरोनाका कारण भौतिक हिसाबले भेट्न नपाए पनि टेक्नोलोजीको सहाराले भरपुर आनन्द लिइएको बताउँछन् शिव कल्चरल एण्ड कम्युनिटी सेन्टर अल्डरसट, बेलायतका महासचिव विक्रम भट्टराई । ‘यो दशैंको टिकामा आमाको हात हाम्रो निधारमा नछोइएर के भयो त ? हरदम,हरपल आशिर्वाद छँदैछ,तीन पुस्ता एउटै फ्रेममा’ उनले भने ।

लन्डनस्थित नेपाली राजदूतावासमा पनि परिवारमै सिमित रह्यो यसपालाको दशैं । दूतावासले प्रत्येक साल ‘विजयादशमी,दीपावली, म्ह:पूजा,नेपालसम्बत,छठ,जितिया, उधौली,ल्होसार र माघी’ जस्ता नेपालका महान सांस्कृतिक पर्वको अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम गर्दै आएको थियो ।

राजदूत डा.दुर्गाबहादुर सुवेदीले बेलायतमा आफ्नो पाचौं दशैंका केहि तस्विर ट्वीटरमार्फत सार्वजनिक गरेका छन् ।

चार वर्षदेखि सैयौंको संख्यामा बेलायतवासी नेपाली तथा विदेशीमाझ शुभकामना आदानप्रदान गर्दै आएका सुवेदीले योपटक दूतावास परिवारसँग मात्र दशैं मनाए । राजदूत सुवेदी आफ्नो चार वर्षे कार्यकाल पूरा गरेर छिट्टै फर्कने तयारीमा छन् ।

विजया दशमीको दिन सोमबार लन्डनको प्लमस्टिडमा अवस्थित पशुपतिनाथ मन्दिरमा स्थानीय नेपालीहरुका लागि टीका कार्यक्रम गरिएको थियो । मन्दिर आउने भक्तजनहरुलाई पन्डितहरुले टीका, जमरा लगाइदिएका थिए ।

विगत वर्षमा दशैंको दिन मन्दिरमा टीका थाप्न आउनेहरुको भीड नै लाग्ने गरेकोमा यस वर्ष भने महामारीका कारण त्यो संख्यामा कमि देखियो ।

बिहान ८ बजे शुरु भएर टीका कार्यक्रम दिउँसो २ बजेसम्म राखिएको मन्दिर व्यवस्थापन समितिकी सचिव कल्पना त्रिपाठीले जानकारी दिइन् ।

उनका अनुसार कोरोना महामारीका कारण आवश्यक समाजिक दूरीसहित सबै सतर्कता अपनाइयो । टीका थाप्न आउनेहरुलाई ‘वन वे’ मार्गबाट मन्दिर भित्रिने र अर्कोतर्फबाट बाहिरिने व्यवस्था गरिएको थियो ।

बेलायतमा बिहान ७ बजेर ४५ मिनेटको शुभ साइतमा टीका लगाउनेहरु खासै देखिएनन् । शुभ साइत बिहान चाँडो परेका कारण अधिकांशले भने साइत शुरु भइसकेपछिको समयमा टीका लगाएका छन् ।

बेलायतमा कोरोना संक्रमणको दोस्रो लहर आउने सङ्केत देखिएपछि संक्रमण नियन्त्रण गर्न लकडाउन सम्बन्धी कडा नीति अपनाइएको छ ।

टिप्पणीहरू