सजिला छैनन् अबका समय झन्

कोही मरेर, कोही जेल परेर, कोही भूमिगत भएर, अनि थुप्रैले आफ्ना सपनाहरुको तिलाञ्जली दिएर पार्टी बनाए । तर, देश चलाउने, नियुक्ति र अवसर दिने बेलामा एउटै व्यक्ति र वर्गले मौका पाए । फलतः कम्युनिष्टका निम्ति दुई तिहाईको सरकार ‘कुकुरलाई घ्यु नपचेजस्तो’ हुन थालेको टिप्पणी नेकपाका नेताहरुले गरेका छन् ।
लामो समयदेखि हुन नसकेको विभिन्न संवैधानिक अंगका पदाधिकारी नियुक्तिका लागि धेरै कसरत गरेर प्रधानमन्त्री केपी ओलीले प्रतिपक्षी दलका नेता शेरबहादुर देउवालाई फकाउनुभयो । तर, अब बाधा शेरबहादुर नभएर, आफ्नै पार्टीका नेता तथा सभामुख अग्नी सापकोटा बन्ने हुनुभएको छ । भागबण्डा पाएर नियुक्तिमा सहमति जनाउने सहज स्वभावका नहुनु र प्रचण्डको एकदम निकट हुनुका कारण यतिबेला संवैधानिक नियुक्तिका लागि केपीले खल्तीबाट निकाल्नुभएका नामहरु अनुमोदन गर्नमा सकस भएको हो । यस्तो स्थितिमा कि सभामुखलाई छल्नुप¥यो कि बिरामी बनाउनुपर्‍यो, अर्को उपाय छैन । त्यसमाथि संवैधानिक परिषद्को सदस्य रहने उपसभामुख अझैसम्म चयन हुन सकेको छैन ।

कम्युनिष्ट पार्टीका बैठकहरु आलोचना, आत्मालोचनाबाट शुरु हुने परम्परा हो । तर, आजकल आलोचना सुनिँदैन, सहिँदैन । यसलाई नेताहरुले ‘आलुचना’ का रुपमा चपाइसकेका छन् । र, यो क्रममा केपी ओलीको अग्रता उदाहरणीय रहेको नेकपा नेताहरुको ठहर छ । उहाँका निम्ति पार्टी बैठक छल्न दशैं, तिहार, छठजस्ता पर्व बरदान भए पनि यही स्थिति दीगो रुपमा जाने देखिएन । यसअघि माधव नेपालले २० महिना, झलनाथ खनालले ७, प्रचण्डले ९–९ महिना सरकार चलाउनुभयो । समय पर्याप्त थिएन, तर सरकारका कारण पार्टीसमेत बद्नाम हुनुपर्ने तहका काम भएनन् । तर, केपी ओलीले अढाई वर्ष निरन्तर देश चलाउनुभएको यो समय इतिहासमा कम्युनिष्टका लागि पहिलोपटक हो । यसबीच पार्टी र कार्यकर्ता कहाँ छन् ? जनताले के भन्दैछन् ? जनमत संग्रह गरिरहनै पर्दैन ।

कर्णाली प्रदेशको झगडा होल्डमा राखेर केन्द्रमा साट्टसुट्ट मन्त्री भर्ति गरेपछि नेकपाभित्र भुसको आगोझँै विवादले नयाँ रुप लिन लागेको छ । प्रधानमन्त्री आफैँले त केही भन्नुभएको छैन, तर संसदीय दलका उपनेता सुवास नेम्वाङलाई भन्न लगाउनुभयो, ‘सरकारको पुनर्गठन भएको हैन । रिक्त स्थानमात्र भरिएको हो । पूर्ण पुनर्गठन त तिहारपछि हुन्छ ।’ यसरी जिम्मेवार व्यक्तिले यस्तो कुरा बोलेपछि कर्मचारीले तिहारपछि जाने मन्त्रीका कुरा कति टेर्लान् ? किन काम गर्लान् ?

टिप्पणीहरू