फुट्ला मन्त्रालय ? थपिइहाल्लान् तीन मन्त्री ?

फुट्ला मन्त्रालय ? थपिइहाल्लान् तीन मन्त्री ?

नेकपा अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली आफ्ना जुनसुकै कदमहरुको निम्ति संसदीय दलमा बहुमत जुटाउने अभियानमा लाग्नुभएको स्रोतले दाबी गरेको छ । दशैंको टीकाअगावै पुनः तीन जनालाई मन्त्रिमण्डलमा थप गर्ने तयारी गरिएपनि त्यो कम्तिमा पूर्णिमासम्मको लागि टरेको बताइन्छ । माओवादी कित्ताबाट हरिबोल गजुरेल,प्रभु साह र टोपबहादुर रायमाझीलाई जसरी पनि मन्त्री बनाउन उहाँले तीन वटा मन्त्रालय फुटाउने र राज्य मन्त्री सबै हटाउने योजना मसक्कैसँग आँटेपनि त्यो आजसम्म बाहिर आएको छैन ।

आइतबार महासचिव तथा अर्थमन्त्री विष्णु पौडेल हतारिएर बालुवाटार पुगेपछि क्याबिनेट बिस्तारको लागि ठिक्क पारिएको निर्णय एकाएक रोकिएको स्रोतले बताएको छ । बालुवाटारपछि पौडेल खुमलटार पुग्नुभएको थियो । अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले दशैं नसकिएसम्म आफू बालुवाटार नजाने र फोनमा समेत कुरा नगर्ने बताउनुभएको छ । भारतीय खुफिया संस्था र का अध्यक्ष सामन्तकुमार गोयलले गत बुधबार राती झण्डै तीन घण्टा बालुवाटारमा गरेको गोप्य वार्तापछि संसदीय दलमा बहुमत जुटाउन हस्ताक्षर संकलनको लागि प्रधानमन्त्री अग्रसर हुनुभएको खुमलटारको बुझाई छ ।

सकेसम्म नेकपाको संसदीय दलमा बहुमत पुर्याउने र त्यो सम्भव नभएमा मात्र संघीय संसदमा आफ्नो पक्षमा बहुमत पुर्याउने योजनामा बालुवाटारले रणनीति र योजना बुनेको उच्च स्रोतको दाबी छ । त्यसपछिको अवस्थालाई मध्यनजर गर्दै चुनाव चिन्ह सूर्य नै रहने गरी आवश्यकताअनुसार पार्टी विभाजनसम्मको ‘रोडम्याप’ कोरिएको बताइन्छ । तर,विभाजनको ‘रोडम्याप’ मा आफ्ना अति निकटस्थहरू तीनजना कमरेडबाट ‘ग्रिन सिग्नल’ नआइसकेकाले प्रधानमन्त्रीको भित्री योजना कार्यान्वयनमा सङ्कट देखिएको पनि खुमलटारतिरै चर्चा हुन थालेको हो ।

नेकपा संसदीय दलका उपनेता सुभाष नेम्वाङ्ग,महासचिव पौडेल र लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले समेत पार्टी विभाजनको योजनामा मुख नखोलेपछि रणनीति अगाडि बढाउन हम्मे परेको हो । नेम्वाङ्ग,पौडेल र पोखरेललाई समेत गोयलको गोप्य भ्रमण र भेटघाटबारे पूर्व जानकारी नदिइएको बालुवाटार स्रोतले दाबी गरेको छ ।

उता परराष्ट्रमन्त्री प्रदिप ज्ञवालीलाई उक्त भ्रमण र भेटघाटबारे कुनै मेसो नै नभएको परराष्ट्र मन्त्रालयका उच्च अधिकारीहरू बताउछन् । पूर्व एमाओवादी निकट नेताहरूका अनुसार पार्टी विभाजनसम्मको कुरो आउँदा मन्त्री बनाउन लागिएका भनिएका गजुरेल,साह र रायमाझी तीनैजनाले बालुवाटारलाई साथ दिनेमा शङ्का रहेको छ ।

टिप्पणीहरू