न दशैंका च्यांग्रा न दुई देशका मेला

न दशैंका च्यांग्रा न दुई देशका मेला

सीधा ठाडो सिङ, सर्लक्क परेका रौं, धेरै ठूला पनि नहुने । मासुको स्वाद भने जिब्रोमै झुण्डिने हिमाली क्षेत्रका च्याङ्ग्राको । तर, यस वर्ष हिमालपारिको जिल्ला मुस्ताङबाट च्याङ्ग्रा न्यून संख्यामा मात्रै बाहिरिएको छ ।
प्रत्येक वर्ष २० हजार हाराहारीमा च्याङ्ग्रा छिमेकी मुलुक चीन हुँदै मुस्ताङको कोरला नाकाबाट नेपाल प्रवेश गर्थे । यसपालि भने कोरोना भाइरसका कारण सीमा नाका बन्द हुँदा चीनबाट आएनन् । लोमन्थाङ गाउँपालिकाका अध्यक्ष सुवर्ण विष्ट भन्नुहुन्छ– ‘पोहोर चीनबाट कोरला नाका हुँदै १५ हजारभन्दा बढी च्याङ्ग्रा भित्रिएका थिए, यसपटक आएका छैनन् ।’सीमानाका पूरै सिल हुँदा च्याङ्ग्रा मात्र होइन, प्रत्येक वर्ष भदौमा हुने दुईदेशीय ब्यापार मेला पनि भएन ।

भेटेरेनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र, म्याग्दी–मुस्ताङका प्रमुख नारायण कुसुमले दिएको जानकारीअनुसार गत वर्ष २५ हजार च्याङ्ग्रा बाहिरिएको थियो भने यस वर्ष सोमबारसम्म ६ हजार च्याङ्ग्रा मात्रै आएको छ । ‘मुस्ताङको आफ्नो उत्पादन ४० प्रतिशत र चीनबाट ६० प्रतिशत भित्र्याएर बिक्री गरिन्छ’ उहाँले भन्नुभयो, ‘गत वर्ष २ हजार च्याङ्ग्रा मुस्ताङको जोमसोमबाटै ज्युँदो प्रतिकेजी पाँच सय ५० मा खरिद गरेर खाद्य संस्थानले काठमाडौं लगेको थियो भने अन्य २३ हजार खुद्रा व्यापारीमार्फत बिक्री गरिएको थियो ।’
मुस्ताङको जोमसोम पुगेर २८–३० हजारसम्म होलसेलमा खरिद गरी ल्याएको कारण ३५ हजारभन्दा माथि मूल्यमा म्याग्दीको बेनीमा बिक्री गर्न थालेका छन् । सोमबार बेनी आइपुगेको च्याङ्ग्राको अधिकतम मूल्य ३८ हजार रुपैयाँ रहेको व्यापारी अमर ठकुरीको भनाइ छ । गत वर्ष २३ हजारमा खरिद गरिएकोमा अहिले महँगो मूल्य तिर्नुपरेको उनीहरूको भनाइ छ ।

अमृत बास्कुनेबाट

टिप्पणीहरू