पूर्व मन्त्री बाँस्कोटाको फाइल जहिँको त्यहिँ

पूर्व मन्त्री बाँस्कोटाको फाइल जहिँको त्यहिँ

पूर्व सञ्चारमन्त्री गोकुल बाँस्कोटालाई लागेको ७० करोड कमिशन मोलमोलाईको आरोप र सोसम्बन्धमा अख्तियार दुरूपयोग अनुसन्धान आयोगले थालेको अनुसन्धान पछिल्लो समयमा जहाँ रोकिएको हो त्यहिँ रहेको बताइन्छ । आयोग स्रोत भन्छ,‘बाँस्कोटाको फाइल पहिलेको अवस्थाबाट एक इञ्च पनि अघि बढेको छैन’ ।

स्रोतका अनुसार देश,काल र परिस्थितिअनुसार उक्त फाइलमाथि तत्काल केही हुने सम्भावना पनि देखिँदैन । हालै संसदको सार्वजनिक लेखा समितिले विभिन्न विषयमाथि आयोगले गरेको अनुसन्धान सम्बन्धमा यथार्थ विवरण उपलब्ध गराउन दुई साताअघि सोधनी गरेको थियो । समितिले सोधेका विभिन्न विषयमध्ये सरकारको सेक्युरिटी प्रेस खरिद र नेपाल वायुसेवा निगमको वाइडबडी जहाज खरिदसम्बन्धमा भएको अनुसन्धानको पछिल्लो अवस्थाबारे आयोगले जवाफ पठाइसकेको छ ।

आयोगले पठाएको पत्रमा ‘वाइडबडी जहाजको सम्बन्धमा परराष्ट्र मन्त्रालयमार्फत् सम्बन्धित एजेण्टसँग आवश्यक सोधपुछ भइरहेको’ व्यहोरा उल्लेख छ । त्यसैगरी सेक्युरिटी प्रेस खरिदमा पूर्व सञ्चारमन्त्री गोकुल बाँस्कोटालाई लागेको कमिशन मोलमोलाइको आरोपसम्बन्धमा पनि ‘सम्बन्धित व्यक्तिसँग थप जानकारी लिने र आरोपित व्यक्तिसँग बयान लिने काम बाँकी रहेको’ व्यहोरा उल्लेख छ ।

आयोगमा नयाँ प्रमुख आयुक्तले जिम्मेवारी लिएको डेढ महिना बित्न लाग्दासमेत बैठकमा यससम्बन्धी एजेण्डा बनेको छैन । यसअघिका प्रमुख आयुक्तले भने आफ्नो कार्यकालको अन्तिमतिर उक्त फाइललाई टुङ्ग्याइदिने आशयले अनावश्यक सक्रियता देखाएको खबर बाहिरिएको थियो । यसैबीच आयोगको प्रहरी टोलीले बाँस्कोटाको बयान निजको निवासमै गएर लिएको बताइन्छ ।

टिप्पणीहरू