‘ठूला माछा’ होलान् त ठहरै !

पहुँचवाला भ्रष्टाचारी चोख्याउँदै तल्लो तहका कर्मचारी सताएको कारण अख्तियार सुस्ताएको छ । तर, सम्पत्ति शुद्धिकरण अनुसन्धान विभाग भने केही ‘ठूला माछा’ को फाइल पल्टाइरहेको छ ।

सम्भवतः दशैं बिदालगत्तै शंकर ग्रुपको भ्याट छली, जगदम्बा स्टिल्सको कबाडी सामानबाट गुणस्तरहीन रड उत्पादन, डेडिकेटेड फिडरलाइन अनियमितताको मुद्दासहित विशेष अदालतमा पेश हुँदैछ, झण्डै एक अर्ब हाराहारीको सुलभ अग्रवालको मुद्दा । चैतमा थर्मल गन कालोबजारीको अभियोगमा पक्राउ परेका उनी त्यसबेला धरौटीमा छुटेका थिए । तर, प्रहरीद्वारा सम्पत्ति शुद्धिकरणमा पेश गरिएका सुलभको मुद्दा अनुसन्धानको अन्तिम चरणमा पुगेकोस्रोतले जनाएको छ ।

त्यस्तै, बैंक ठगीका कसुरदार योगेन्द्रमान श्रेष्ठविरुद्धको मुद्दा पनि विशेष अदालतमा पेश भएको छ । उनीविरुद्ध दुई अर्ब ६६ करोड ६१ लाख गैरकानुनी आर्जन गरेको अभियोग छ । कैलाश विकास बैंक, एभरेष्ट बैंकसहित विभिन्न वित्तीय संस्थासँग ऋण लिएर दुरुपयोग गरेपछि उनीविरुद्ध सम्पत्ति शुद्धिकरणमा उजुरी परेको थियो । काठमाडौं, नागार्जुन– ४ का बासिन्दा उनी एउटै बैंकबाट ८३ करोडसम्म ऋण लिएर आफ्नो परिवारको नाममा रकम राख्ने ‘बहादुर घोटालाबाज’ का रुपमा चिनिन्छन् । उनी अध्यक्ष रहेको एक फाइनान्स कम्पनीले ८८ निक्षेपकर्ताको नाममा दिएको एक अर्ब ९६ करोड पाँच लाख ४७ हजार रुपैयाँ ऋण दुरुपयोग गरेपछि प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) र नेपाल राष्ट्र बैंकले अनुसन्धान गरेको थियो । त्यही आधारमा उनीमाथि सवा दुई अर्बको बैंकिङ कसुर मुद्दा चलाइएको थियो ।

नेकपाका अध्यक्षद्वयलाई मार्सी चामलको भात खुवाएर चर्चामा आएका झापाका मेडिकल व्यापारी दुर्गा प्रसाईं पनि सम्पत्ति शुद्धिकरणको अनुसन्धानमा तानिएका छन् । बिर्तामोडमा उनले खोलेको बिएण्डसी अस्पतालको स्रोत नखुलेको, विभिन्न बैंक अभिलेखका आधारमा रकमको आदानप्रदान संदिग्ध देखिएकोजस्ता विषयमा उनीमाथि अनुसन्धान शुरु भएको स्रोतले जनाएको छ । गत वर्ष चिकित्सा शिक्षा आयोगका उपाध्यक्ष डा.श्रीकृष्ण गिरीले आफूसँग २० करोड घूस मागेको सार्वजनिक अभिव्यक्ति दिएपछि उनीविरुद्ध भक्तपुरमा गाली बेइज्जती मुद्दा परेको थियो ।

त्यस्तै, हुलहुज्जतपूर्ण गतिविधिमा संलग्न रही रकम आर्जन गरेको भन्दै ‘बले’ नामले चिनिने बलराम सापकोटा र उनकी पत्नी सिर्जना कक्षपतिविरुद्धको मुद्दा पनि अदालतमा पेश भएकोछ । बलेका विरुद्ध १७ करोड ४७ लाख र पत्नी सिर्जनाका विरुद्ध दुई करोड ४७ लाख बिगो कायम गरी विशेष अदालतमा मुद्दा दायर गरिएको हो ।

टिप्पणीहरू