विप्लवको नाम बेच्दै, पत्नी पिट्दै

पहिला पैसा थिएन, पत्नी सुन्दर थिइन् । अहिले मनग्यै पैसा भयो, उनै पत्नी बेस्वादकी भइन् । पैसाले साइज–साइजका युवती त पछि लागे । तर, आफू भने जेलमा ।

कोरोना संक्रमणको मौका छोपेर मेडिकल (सर्जिकल) सामानको कालोबजारी गर्ने सुलभ अग्रवाल रंगेहात पक्राउ परे । उनको जस्तै कम मूल्यको सामान अत्यधिक मूल्यमा बेचेर दुई महिनामा करोडपति बनेका आशिष प्याकुरेलचाहिँ कालोबजारीको सामानसहित रंगेहात फेला परेनन् । तर, पापको धन कताबाट कराउँछ भन्ने टुंगो नहुँदो रहेछ । त्यसैले उनी अहिले सेन्ट्रल जेलको छिँडीमा रुँदै बसेका छन् ।

सुनसरीको रामधुनी नगरपालिका– १ स्थायी वतन भएका २५ वर्षीय आशिष त्रिपुरेश्वरमा सर्जिकल सामान सप्लाईमात्र गर्दैनथे, विप्लव नेकपाको नाममा व्यवसायीसँग चन्दा असुल्नेदेखि डाक्टर र अस्पताल सञ्चालक तर्साउनेसम्मका काम गर्थे । तर, अहिले उनी यीमध्ये कुनै लफडाले जेल परेका हैनन् । चार वर्षअघि इटहरी– २ की २४ वर्षीया युवती सम्झना (नाम परिवर्तन) सँग मागी विवाह गरेर हाल ललितपुर, इमाडोलस्थित गोपिकृष्ण रौनियारको घरमा आशिष डेरा बस्दै आएका थिए ।

०७६ मंसिरदेखि सम्झनालाई दुव्र्यवहार गरेको जाहेरी सातदोबाटोस्थित प्रहरी बृत्तमा परेको थियो । ०७६ को भदौदेखि आशिषले पत्नीलाई बेवास्ता गर्न थालेका हुन् । बहाना थियो, पार्टीको काममा हिँड्नुपर्ने । तर, उनी विप्लव नेकपाको कुनै जिम्मेवारीप्राप्त कार्यकर्ता नभएर त्यो नाममा उठ्तीपुठ्ती गर्ने व्यक्तिमात्र थिए । सम्झनाले जाहेरीमा नलेखेको वास्तविकताचाहिँ के हो भने, जब चैतमा कोरोना संक्रमण बढेर देश लकडाउनमा गयो, तब अत्यावश्यक स्वास्थ्य सामाग्रीको माग बढ्यो । यस्तो मौकामा उनले विदेशबाट स्वास्थ्य सामाग्री आयात गर्ने विभिन्न फर्मसँग मिलेर काम गरे । यसप्रकार जेठ–असारसम्म हातमा करोडमाथिको सम्पत्ति भयो । असारदेखि लकडाउन खुल्यो । यसपछि घरमा बास हुन छाड्यो । पत्नी न हुन्, पतिलाई ‘कहाँ गयौ ? किन आएनौ ?’ भनेर सोध्ने नै भइन् ।

तर, प्रश्न आशिषका निम्ति कर्कशध्वनीझैँ दिक्कलाग्दो बन्यो । अनि, पत्नीसँग सम्बन्ध बिच्छेद मागे । यसबेलासम्म आशिषमा विभिन्न साइज र हाइटका युवतीलाई पालैपालो घुमाउने, रमाउने आदत बसिसकेको थियो । पत्नीलाई यो कुरा सह्य हुने कुरै भएन । उनी गाली गर्थिन् । अभिभावक गुहार्थिन् । अनि, आशिषचाहिँ पत्नीमाथि मानसिक र शारीरिक हमला गर्न तम्सिन्थे । यसपछि यत्रो यातना सहेर, केही लाख रुपैयाँ क्षतिपूर्तिका भरमा पतिसँग अलग्गिनुको सट्टा वैवाहिक बलात्कारको मुद्दा दायर गरिन् । मुलुकी अपराध संहिताको दफा २१९ को उपदफा १ ले निषेधित तथा परिभाषित गरेको कसुर आशिषले पत्नीमाथि गरेको जाहेरीमा लेखिन् ।

ललितपुर जिल्ला अदालतका न्यायाधीश शिवबहादुर रानाभाटको इजलासले उनलाई असोज २७ गते मंगलबार पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको छ ।

टिप्पणीहरू