कसले दिने यसको जवाफ भन न कमरेड !

कसले दिने यसको जवाफ भन न कमरेड !

दुई तिहाईको सरकार बनेपछि माटो छोए सुन हुन्छ भन्ने मनोविज्ञानमा धमिरा लागेको छ । शक्तिपीठका एकाध सय भक्तबाहेक अरूको अवस्था शरणार्थीजस्तै छ । छोटे नेताहरूका लागि जनप्रतिनिधिको जागिर अलि समयका लागि चिनीको चास्नीमा डुबेको कमिलाको जस्तै हुने निश्चित छ । स्थानीय तह थोर बहुत जनतासँग नजिकै छन् तर प्रदेशको संरचना कसैलाई नछुने टापूजस्तै भएको छ बरु मुसलमानको सिया, सुन्नी समुदाय एक भएको खबर आए आश्चर्य नमाने हुन्छ तर नेकपाका नेताहरूको एकता भीर–भैंसीजस्तै भइसक्यो । केपी ओली जसको राजनीतिक मनोविज्ञान नै संघीय गणतन्त्रविरोधी छ, उनैलाई त्यो शासनसत्ताको तालाचाबी बुझाउनु भनेको उचित लालनपालनका लागि मृगको बच्चा बाघलाई जिम्मा लाउनुजस्तै हो । ओलीको पहिलो कर्तव्य भनेको पद्दति नभएर आफ्नो बजार प्रवद्र्धन गर्नु हो । सुकिला मुकिला वर्ग आफ्नो स्वार्थका लागि यति चलाख छ, आफूलाई चिप्ल्याइएको नेताहरूले एक दशकपछि पत्तो पाउँछन् । कन्याएर सिध्याउने हुँडार चरित्र यिनीहरूको जीनभित्र छ । एउटा मुख्यसचिवले सरकार प्रमुखसँग पदका लागि दलाली गरेर आफ्नो पक्षमा निर्णय गराउने परम्परा नै बस्नु नोकरशाहतन्त्रको नाङ्गो उदाहरण हो ।

हिजोसम्म प्रचण्डलाई पशुपतिनाथभन्दा आफू आदरणीय रहेको भ्रम थियो । गिरिजाप्रसाद, शेरबहादुर, सुशील, झलनाथदेखि माधव नेपालसम्मलाई घाँस चर्न पठाएको आत्मरति थियो । अहिले ओली उनका लागि यस्तो दुशासन भएर उदाए कि थाल खाऊँ कि भात खाऊँ जसरी दिन काट्नु परेको छ । प्राण जाने बेलामा रावणले रामसँग भनेका थिए– ‘तिम्रो भाइ तिमीसँगै छ त्यसैले जित्यौ । मेरो भाइ तिमीसँग भएकाले मैले हारें ।’ कुलद्रोहको परिणाम खतरनाक हुन्छ । पूर्वमाओवादीका नेता स्वार्थको चास्नीमा भुलेर ओलीका रक्षक भएका छन् । प्रचण्डले सिफारिस गर्ने नाममा समेत ओलीको हस्तक्षेप भएपछि प्रचण्डभित्र कस्तो असुरक्षाको बादल मडारिएको होला आफैं अनुमान गर्न सकिन्छ । प्रचण्डले खुँडा, तरबारले मान्छे गिँडेर सफायालाई सार्थक बनाए । तर केपी ओलीले दाह्रा र नंग्रा झिकेर साँचो सफायाको प्रयोग गरिदिए । न शिकार गर्न सकिने, न कसैले शिकार गरेर दिएको चीज चपाउन सकिने ।

निःशस्त्र मानिने गौतम बुद्ध, भगवान राम, महादेव, कृष्णको उत्सव वर्षको एकदिन मनाइन्छ । तर रक्तमुछेल टाउकाको माला धारणा गर्ने देवीको आराधना १५ दिन चल्छ ।

न जनयुद्धको तुरूप काम लाग्यो, न बहुमतको धम्की नै । माधव नेपालको त शुभेच्छा नै अछूत गर्ने ओलीले उनलाई कति भाउ दिन्छन् भन्नै परेन । प्रतिशोधका विद्यावारिधि ओलीले नेपालका अघिल्तिर निरीह भएर डेढ दशक घाट कुरेको बिर्सिएका छैनन् । पात्रो बनाएर चिनो लगाई लगाई हिसाव चुक्ता गर्दै छन् । झलनाथ खनालको अवस्था भात खान सर्पको नाम बेच्नुपर्ने हालतमा पुगेको छ । छोरी कुटेर बुहारी तर्साउने खेलमा ओलीलाई कसैले नचिताए हुन्छ । सरकारको बाँकी अवधि यसरी नै ओलीको तारिखमा धाएरै बिताउनुपर्ने अवस्था आएमा प्रचण्ड र माधव नेपालले राजनीतिबाट सन्यासको घोषणा गर्न बेर छैन । नेता जोगी हुने त्यागले नभएर कर्तव्यबाट च्यूत भएपछि हो । यहाँ को शक्तिशाली, को कमजोरको मापदण्ड छैन । ओलीका आँगनमा झण्डावाल गाडी र नेता कार्यकर्ताको भीड हुँदा आफ्नो आँगन शून्य हुनुको पीडा ती नेताका लागि कोरोनाभन्दा कम घातक हुन्न । हाम्रो आध्यात्मिक दर्शन पनि शक्तिसापेक्ष छ । निःशस्त्र मानिने गौतम बुद्ध, भगवान राम, महादेव, कृष्णको उत्सव वर्षको एकदिन मनाइन्छ । तर रक्तमुछेल टाउकाको माला धारणा गर्ने देवीको आराधना १५ दिन चल्छ । दसैंको चहलपहल महिनौँअघि हुन्छ । आखिर किन ? त्यही मालाको कमाल हो । टाउकाको मालाको ठाउँ रुद्राक्षले लिएको हुन्थ्यो भने निश्चय नै दसैंको महिमागान यस्तो हुँदैनथ्यो ।

देश बनाउन दम्भ हैन, इमान चाहिन्छ । आकारमा ठूलो भइरहन जरुरी छैन । काठमाडौं जत्रो सिंगापुरका जनताले भीसाका लागि संसारका कुनै देशमा लाइन लाग्न जरुरी छैन । बरु ‘मेरो देशमा पाइला टेकिदेऊ’ भनेर रातो कार्पेट बिछ्याउनेको ओइरो छ । इथियोपियाबाट थाइल्याण्ड दैनिक सीधा हवाई सेवा छ । यो यथार्थसँग कति नेपाली जानकार छन् ? सबैभन्दा चुरो सत्य त के भने फेसबुकमा राष्ट्रियता पोख्यौं, उठायौं । चन्द्र सूर्य अंकित झण्डाको कपडामा गलफत्ती ग¥यौं । स्वदेशमा पृथ्वीनारायण शाहको सालिक उखेल्यौं, चीन गएर माओको सालिक परिक्रमा ग¥यौं । गाईको मासुबारे वाक्युद्ध गर्नमा रमायौं तर तारे होटलमा ‘बिफ’ मगाएर युद्धको रोडम्याप कोर्नेहरूको अनुहार सम्झिन दरकार राखेनौं । सबै नामका अगाडि जन थप्नुलाई राजनीतिक उपलब्धिको मापन बनाइयो । चालीस लाख नेपाली मुलुक बाहिर छन् । ३ सय ६५ दिन देशलाई सराप्ने खेती कुन देशको सभ्यताभित्र पर्छ ? कचौरा जत्रो देशमा खेलकुद टुँडिखेलभन्दा ठूलो भयो । सबैथोकको सट्टा अर्ती उत्पादन हुनथाल्यो । फेसबुकमा प्रकाशित दिउँसै रात पार्ने खालका अपराध र स्वार्थप्रेरित वाणीको बिस्कुनमा सबै रमाए ।व्यक्तिपिच्छेका प्रवक्ता जन्माइए । विदेशमा चौकीदारी गर्नेलाई देशको मन्त्री, प्रधानमन्त्री भएको भ्रम पलाउन थाल्यो । राजनीतिको मात यसरी लाग्यो कि घरबार साहुको नाममा बन्धकी राखेर अरबमा पसिना बगाउन गएको एउटा नेपाली कामदार सुत्केरी श्रीमतीलाई ज्वानो ख्वाउने खर्च पठाउन चुक्यो । दमले ग्रस्त बाउआमाको स्वास्थ्योपचारमा सहायक बन्न बिर्सियो । बरु नेताको आतेजाते, लवाई खवाई, बसाइको जिम्मा लिएर विमानस्थलमा खादा ओढाउँदै ऊसँग सेल्फी खिचेर फेसबुकमा अपलोड गरेको क्षण उसका लागि जीवनको सर्वाधिक सुखद र उपलब्धिमूलक घडी बन्न थाल्यो । विश्वमा एक देशबाट अर्को देशमा काममा जानु अब सभ्यताभित्र पर्छ । तर, नेपाली मात्र त्यस्ता कामदार हुन्, जसलाई मजदुरीभन्दा नेतागिरीको भोक छ । पूर्व अमेरिकी राष्ट्रपति बाराक ओबामाका भाइ चीनमा मजदुरी गर्छन् । उनले दाजुको पूmर्ती लगाएको समाचार मिडियामा कहिल्यै सार्वजनिक भएन । दाजु अमेरिकाको राष्ट्रपति हुँदा जागिर छोडेर किचेन क्याबिनेटको धूनी बाल्न अमेरिका फर्किएको खबर पनि कतै सुनिएन ।

आफ्नो देशमा प्रदूषणका कारण हुस्सु लाग्ने क्रम बाक्लिन थालेपछि भारतले दिउँसै हेडलाइट बल्ने मोटरसाइकल बजारमा ल्यायो । भारतको बजारमा पानी परेपछि नेपालमा छाता ओढ्नुप¥यो नै । आखिर दिउँसै हेडलाइट बल्ने मोटरसाइकल नेपालको सडकमा बगे्रल्ती देखिए । ब्रिटिस उपनिवेश बनेको भारतमा गोराहरूले दाहिने स्टेयरिङ भएको गाडी चलनमा ल्याए । त्यही सक्कलबमोजिम नक्कल नेपालमा उत्रियो । हिन्दी सिनेमा हल गएर हेर्ने सम्मानित नेपाली नागरिक दरिन्छ । हिन्दी गीत हुबहु गुन्गुनाउने अब्बल कलाकार प्रमाणित हुन्छ । चारधाम घुमेर आउनेको स्वर्ग सुरक्षित हुन्छ । काशीमा गएर पिण्ड बाट्नेले पितृका लागि थप भार उठाउनु पर्दैन । अलि कम्मर मर्काउने छोरो जन्म्यो भने सिधै टाइगर श्राफसँग तुलना गरिन्छ । तर नेपाली नेता भारत छि¥यो कि त सीधै अपराधीको दर्जामा राखिन्छ । राष्ट्रियताको परिभाषा विचित्रको छ । एउटा नर्सरी पढ्ने भारतीय बालकले तोते बोली फुट्नासाथ जानेको डाइलग हो– ‘दूध मागे तो खिर देंगे, कस्मिर मागो तो चिर देंगे ।’ माटोप्रतिको ममता हाम्रो भूमिमा शून्य छ । बोर्डिङ पढ्ने छोरोले टाइगर भन्यो त ठीक छ, झुक्किएर बाघ उच्चारण ग¥यो भने लगानी डुबेको सम्झिएर बाउआमाको रोइलो शुरु हुन्छ । ठेट्ना मकै अखाद्य, पपकर्न प्रिय मानिने दर्शन कहाँबाट शुरु भयो ? आलु कोक्याउने, चिप्सले जीब्रो लठ्याउने, यो संस्कार राज्यले बसाएको कि जनताले ? भारत, चीनका कारण समस्यामा जाकिने हैन । समस्या त सोचमा हो । खसी, कुखुरा, गाई, गोरुको मासुमा हामी विभाजित हुन्छौं भने त्यसको दोषी को ? आफ्नो आँगन फोहोर गरेर अरूलाई बढार्न प्रोत्साहित गरेपछि हस्तक्षेपको राग अलाप्न मिल्छ ? सत्य के हो भने पकाएर पानी बाक्लो र फकाएर मान्छे आफ्नो किमार्थ हुन्न ।

[email protected]

टिप्पणीहरू