रक्षामन्त्री र रक्षा

रक्षामन्त्री र रक्षा

अन्ततः ईश्वर पोखरेलले आफ्नो रक्षामन्त्रीको पदसम्म पनि रक्षा गर्न सक्नु भएन । र, उहाँ एक बिनाविभागीय उपप्रधानमन्त्री बन्न पुग्नुभएको छ ।

रक्षामन्त्री भनेपछि उहाँको पहिलो काम भनेकै रक्षा गर्नु हो । त्यो पनि सानोतिनो रक्षा होइन, मुलुकको रक्षा । मुलुकको रक्षा गर्ने दायित्व भएकै कारण उहाँलाई रक्षामन्त्री भनिएको हो । तर, जसले आफ्नो एउटा पदको त रक्षा गर्न सक्दैन उसले मुलुकको रक्षा कसरी गर्ला ?

मानिस जब असुरक्षित हुन्छ, तब उसले नाम लिने ईश्वरको हो । ‘हे, ईश्वर ! मेरो रक्षा गर !’ तर नेपाल सरकारको ईश्वर यस्ता कि जसले ओम्नी र सम्धीबाहेक अरू कसैको रक्षा गर्नै नसक्ने । अरूको के कुरा, आफ्नै पदको त रक्षा गर्न सकेन ।

जसले आफ्नै पदको रक्षा गर्न सक्दैन, उसलाई मुलुकको रक्षामन्त्री बनाउनु बेकार छ । अतः उहाँलाई रक्षामन्त्रीबाट हटाएर प्रधानमन्त्री केपी ओलीले राम्रै गर्नुभएको छ । प्रधानमन्त्री ओलीले आजको मितिसम्म धेरै थोरै मात्र राम्रा काम गर्नुभएको छ । उहाँले गर्नुभएका ती थोरै राम्रा काममा एउटा यो पनि पर्ने भयो ।

राजधानी साटियो

युवराज खतिवडा अमेरिका गएपछि अर्थ मन्त्रालय पाउन धेरैले प्रयास गरे । कोही बिहान–बिहान बालुवाटार गए, कोही राति–राति प्रचण्ड निवास गए । सक्नेले सक्दो गरे । तर, अर्थ मन्त्रालय भनेको प्रयास मात्र गरेर पाइने चिज होइन । यसका लागि धेरै कुरा जोडिनुपर्छ । कमरेड विष्णु पौडेलमा त्यो जम्मै कुरा जोडिएर आयो ।
सबैभन्दा पहिले अर्थ मन्त्रालय भनेको पैसाको कारोवार गर्ने मन्त्रालय हो । हिन्दू धर्मअनुसार पैसाकी देवी लक्ष्मी हुन् । लक्ष्मीका श्रीमान् हुन् विष्णु । अतः पैसाको मन्त्रालय हेर्ने अधिकार स्वतः कमरेड विष्णुलाई जाने भयो । यसमा अरूले दाबी गर्न मिल्दै मिल्दैन । धर्मअनुसार त मिल्दै मिलेन, कर्मअनुसार पनि झन् मिल्दैन ।

देवीदेवताको कुरा छ, ख्यालठट्टा हो र ?

अर्को कुरा, कमरेड विष्णु पौडेल उनै नेता हुनुहुन्छ जो ५ नम्बर प्रदेशको राजधानी आफ्नै क्षेत्र बुटवलमा राख्नुपर्छ भनेर उर्लिरहनुभएको थियो । तर, राजधानी उहाँको क्षेत्रमा परेन । कमरेड शंकर पोखरेलको क्षेत्रमा पर्न गयो । यसको पनि क्षतिपूर्ति त हुनै पर्‍यो । बुटवललाई राजधानी प्राप्त नभए पनि अर्थमन्त्री त प्राप्त भयो नि ! अब यति भएपछि कमरेड विष्णुले राजधानी चाहियो भनेर फेरि कराउने–सराउने कुरै आएन । एक हिसाबले यसलाई राजधानीसँग साँटेको भनौँ न, होइन र ?

खुशी भएका खसीहरू

यसपालि अलि ढिलै भए पनि दसैंचाहिँ शुरु भयो । अरू बेला असोजमै आउने दसैं यसपालि कात्तिकमा मात्रै आइपुग्यो । तर, ढिलै आए पनि केही छैन, यो जयनगरबाट आएको रेल पुनः जयनगरै फर्केजसरी फर्कने दसैँ होइन । यो आएपछि खुशियाली मनाएरै जाने गर्छ ।

तर, यसपालिको दसैं अरू बेलाको भन्दा अलि फरक प्रकृतिको छ । किनभने यो दसैंमा मान्छेभन्दा पनि खसी बढी खुशी भएको देखिरहेको छु । मान्छे त कोरोनाको कारणले हदैसम्म निरास छ । खसीचाहिँ बेहदै खुशी छ ।
काठमाडौंको खसी बजार घुम्न गएको थिएँ । बेच्न ल्याइएका जम्मै खसीको अनुहारमा पूर्ण खुशियाली पो देख्छु । एउटा कालो खसीले अर्को छिर्केबिर्के खसीलाई भन्दै थियो, ‘हेर छिर्के, यसपालिचाहिँ तँ र म दुबै मिलेर दसैं मनाउन पाइने भयो । यो दसैं हाम्रोलागि खुशीको दसैं हो ।’

छिर्केले सोध्यो, ‘किन र काले ?’

कालेले भन्यो, ‘यसपालि कोरोना लाग्या देखिनस् मोरा ? यो दसैंमा खसी होइन मान्छेकै बलि चढ्लाजस्तो छ । हामी त सेफ छौँ । यो कोरोना भन्या जाँदै नगए हामी त पूरै सेफ ।’
‘हो, है ?’ छिर्केले पुच्छर हल्लायो । मेरोचाहिँ मुटु हल्लियो ।

टिप्पणीहरू