आशा नगर्नोस् न, डराउनै पर्दैन

आशा नगर्नोस् न, डराउनै पर्दैन

प्रधानमन्त्रीमा दोस्रोपटक अविजित यात्रा गरेपछि केपी शर्मा ओलीको कार्यशैली फरक हुने धेरैको अनुमान यति फरक पर्‍यो कि, त्यतिसम्म होला भनेर सायदै कल्पना गरिन्थ्यो । सत्तामा रजगज गर्न सबैभन्दा सजिलो भ¥याङ हो गृहमन्त्री । गिरिजाबाबुले शेरबहादुर देउवालाई र मनमोहन–माधवले केपी ओलीलाई गृहमन्त्री नदिएको भए सायद उहाँहरू आज रक्षाबाट पनि रक्षा नभएकाहरू जस्तै हालतमा हुनुहुन्थ्यो होला । वामदेव, विजय गच्छदार, खुमबहादुर खड्का, कृष्ण सिटौलादेखि भीम रावल, जनार्दन शर्माहरूको ओज देखेर नै हुनुपर्छ, प्रधानमन्त्रीले सबैभन्दा कमजोर र आफ्नो पिछलग्गु बनाइदिनुभयो बलशाली, प्रभावशाली र कार्यकारी अध्यक्षको पनि ‘मित’ भनिएका अहिलेका गृहमन्त्रीलाई । यो ३ वर्षमा यहाँहरूले कहीँ कतै गृहमन्त्रीको अन्तर्वार्ता पढ्नुभएको छ ? हेर्नुभएको छ ? सुन्नुभएको छ ? पत्रकारहरूले कुनै पत्रकार सम्मेलनमा प्रश्न सोध्न पाउनुभएको छ ? प्रदेश ५ को सुरक्षा गोष्ठीपछि गृहमन्त्रीले बोल्नुभएको थियो । तर त्यहाँ शर्त थियो, कुनै पनि पत्रकारबाट ‘प्लिज, नो क्वइसन ।’

सरकारसँग अनगिन्ती आशा थिए । दुई पार्टी एकता घोषणापछि त झन नेपाली जनतालाई भोकालाई खिर भनेजस्तै भएको थियो । शुरुका वर्षमा देशमै केही हुन्छ भनेर विदेशबाट युवा आए र फेरि श्रम स्वीकृति लिन चाहेनन् । देशमै उद्यम रोजे । सकारात्मक सञ्चारका बेलुन यसरी फुक्यो कि, त्यो धान्न नेकपा र सरकारलाई अहिले गाह्रो भइरहेको छ । सरकारलाई सही बाटोमा हिँडाउने सल्लाहकारको अभाव थिएन, अनुभव नभएका प्रधानमन्त्री र मन्त्रीहरू पनि थिएनन् अनि योजना, घोषणापत्र नै नभएको त झनै हुँदै हैन । तर यसै साता अनेरास्ववियुको कार्यविभाजनमा समेत असन्तुष्टि पोखिएका छन् । सबैतिर असन्तुष्टिको नशा फुलाएर सरकार स्वयं अस्वस्थ भएको हो !

सुरेन्द्र पाण्डे यो सरकारले ल्याएको बजेटको प्रशंसक हुन् । अग्रज नेताहरू नाफाको जिन्दगीका अर्थमन्त्री डा. युवराज खतिवडाको खासै विरोध गर्दैनन् । हेभिवेट नेताहरूलाई बजेट पारिदिएपछि अर्थमन्त्री, प्रधानमन्त्री जो भए पनि तिनले हेर्ने निर्वाचन क्षेत्र हो । सुरेन्द्र पाण्डेले यो साता कान्तिपुर टेलिभिजनमा केपी ओलीको कार्यशैली र रवैयाको खुलेर विरोध गरेको टिप्पणीले सामाजिक सञ्जालहरू पोतिए । समाचारअनुसार, राष्ट्रपति र कार्यकारी अध्यक्षसहित वरिष्ठ नेताहरू सुरेन्द्र पाण्डेको पक्षमा थिए । अर्थमन्त्री उनैलाई दिनु केपी ओलीका लागि किन पहाड बन्यो, यसको जवाफ उहाँले नदिए पनि नेकपाले कालान्तरमा दिनुपर्छ । त्यतिखेर धेरै क्षतिपूर्ति पनि भर्नु पर्ला राजनीतिमा । तर सुरेन्द्र पाण्डेमा एक आशाको दियो जागिरहेको देख्थेँ ।

सुरेन्द्र पाण्डे एमालेको असारे भेलबाढीमा भइरहेको नवौँ महाधिवेशनमा महासचिवका बलिया उम्मेदवार थिए । आफन्त र गुटले धोका नदिएका भए शायद एमालेको मात्रै होइन, अहिले नेकपाको पनि महासचिव नै हुन्थे । जागिर र मन्त्रीको लोभ गरेर हुँदाखाँदाको महासचिव छोड्ने नेता होइनन् पाण्डे । फेरि महाधिवेशन होला, महासचिव या त्योभन्दा माथिल्लो पदमा उठिएला– फरक कुरा । तर पाण्डे यो सरकारको रक्षाकवच बनेका थिए । प्रधानमन्त्रीले मुच्र्छित सपनाहरूमा पानी छम्केर जगाएको एकलौटी टे«डमार्क लिँदा पनि अरु कसैको दाबी थिएन । बरु सुरेन्द्र पाण्डेहरूको निस्वार्थ साथ थियो ।

यो ३ वर्षमा सरकारले जगाएको एउटै काम हो आशा । तर आशाको यस्तो रूपान्तरण भयो कि, ट्विटरमा पार्टीकै वरिष्ठ नेताहरूलाई गाली गरेर लेखेबापत ‘रेलको महाप्रबन्धक’ सम्म पाइन थाल्यो । यतिमात्र होइन, जुन सरकारको अध्यक्ष छन्, उसैलाई सराप्नेहरू रेडियो नेपालको ‘सञ्चालक’ भए । कयौँ गल्ती गर्नेहरू नै हजुरको शालिक बनाउने हामी हौँ भनेपछि माफ पाउनेभित्र परे । इमान्दार र असल कार्यकर्ताहरू ‘कुन्नि कसले केरा हेरेको जस्तो’ करार हुँदै ७ वर्ष पार भइसकेको छ । फेरि पनि नेकपा सरकारसँग आशा भने मरेको छैन । यही पार्टीले केही गर्छ भनेर आशा गर्दागर्दै कयौँले सातपटक नियुक्ति पाइसके । कयौँको दौरासुरुवाल यत्तिकै ढुसी परेर गन्हाउन थाल्यो ।

सरकारले के दियो ? अचेल भन्ने गर्छन् धेरैले– आशा । आशा के भयो त ? आशा भयमा परिणत भयो । कार्यकारी अध्यक्ष, वरिष्ठ नेता, केपी ओलीलाई ‘बाबै’ भन्नेहरू नै आशामा बसे । त्यसरी आशा गर्नेमा नेवारहरू बढी छन् । केशव स्थापित, रामवीर मानन्धर पनि थिए शायद । तर ओली ‘कृष्णगोपाल’ अस्त्र हानेर अरुलाई विस्थापित गरिदिन्छन् । गोकुल बाँस्कोटा र महेश बस्नेतलाई जुधाएर योगेश भट्टराईहरूलाई तर्साउँछन् । विष्णु पौडेललाई पछुवा बनाएर ईश्वर पोखरेललाई ‘अमलेख’ गरिदिन्छन् । शंकर पोखरेललाई ‘तथास्तु’ भनेर यामलाल कँडेल मात्र होइन, वामदेव गौतमलाई पनि ‘प्रदीप नेपाल’ बनाइदिन्छन् । आफ्नैहरू त प्रधानमन्त्रीसँग यति हायलकायल छन् भने ओलीसँग पुष्पकमल दाहाल, माधवकुमार नेपाल, झलनाथ खनाल नै भयभित भइरहँदा सुरेन्द्र पाण्डेलाई यिनले राज्यमन्त्री दिन परे पनि दिन्नन् भन्नेमा म चैँ ढुक्क छु ।

प्रधानमन्त्रीले १२ औँ पटक मन्त्रिमण्डल विस्तार गर्दा वरिष्ठ नेता झलनाथ खनालको रक्तचापलगायतले अस्पताल भर्ना हुनुप¥यो । कुरा कर्णालीका भएका थिए कार्यकारी अध्यक्षसँग । घर पुग्दा मन्त्रिमण्डल विस्तार भइसकेको मिडियाबाट थाहा पाए । स्वयं रामप्रसाद सापकोटा दीपशिखा, लेखनाथ न्यौपानेलगायतका नेताहरूको फेसबुक स्ट्याटसले कार्यकारी अध्यक्षको ‘स्ट्याटस’मा राम्रै मजाक गरिरहेको थियो । प्रधानमन्त्री पाइन्जेल अँचेट्न र घचेट्न कति माहिर हुनुहुन्छ ? एमालेको नवौँ महाधिवेशनमा झलनाथलाई मौन बनाएर माधव नेपाललाई आमनेसामने पार्दा वामदेव प्रयोग हुनु भयो । पछि एकता प्रकरणमा माधव नेपाललाई वरियता दिएर झलनाथलाई १७ महिना झुलाइदिनु भयो । फेरि झलनाथलाई वरियता दिएर माधव नेपाललाई तल झार्दा नेपाल ‘कमजोर’ नभएपछि प्रचण्डलाई भन्नु भयो, ‘तपाईं मतिर आउने कि माधव नेपालतिर ?’ प्रधानमन्त्री आशा देखाउनु हुन्छ, डर लाग्ने बनाउनु हुन्छ । ‘अब त मेरो पालो’ भन्नेहरूलाई ‘हिस्स बूढी हरिया दाँत’ पार्दै निःशुल्क रक्तचाप बढाइदिनु हुन्छ । पार्टीभन्दा सरकार ठूलो । ठूलो सरकारको यो तीन उपलब्धीबाहेक चौथो उपलब्धि लेख्न त सरकारको चारवटा टेलिभिजन च्यानल, गोरखापत्र, रेडियो नेपाल, रासस छँदैछन् । जहाँ सरकारकै मान्छेहरू प्रधानमन्त्रीलाई अपमान हुने शब्द वाचन गर्न बाबुराम भट्टराईहरूलाई प्रयोग गरिरहेका छन् । हाम्रो काम देखेको लेख्ने हो । केही पद पाइन्छ भनेर आशा गर्ने, सरकारसँग डराउने अनि रक्तचाप किन बढाउने ? पंक्तिकार यो मामलामा ढुक्क छ । तपाईं पनि ढुक्क हुनुुहोस् । अब आशा कम गर्नुहोस्, त्यसपछि डराउनु पर्दैन । जब आशा र डर बोक्नुहुन्न भने रक्तचाप बढ्दै बढ्दैन । ढुक्क हुनुहोस् । एकथान संगठित सदस्य हुँ, एक भोट हुँ भनेर आफूलाई आमनेपाली ठान्नुहोस् । दशैँको एकमुष्ट शुभकामना प्रिय पाठकहरू !
[email protected]

टिप्पणीहरू