त्यहाँ एउटा खतरनाक मान्छे छ

त्यहाँ एउटा खतरनाक मान्छे छ

गर्धन र कुम दुखेका कारण राति असमयमा ब्युँझिएँ । बिहान ४ बजेसम्म गीत सुनेर बिताएँ । हिजो बेलुका धादिङबेसी पुछारबजार घर भएका पाठक थरका असई कोतगार्ड खटिएर आएका थिए । उनलाई ड्युटी हवल्दार मेजरले त्यहाँ एउटा खतरनाक मान्छे छ, होशियारीपूर्वक ड्युटी गर्नु भनेका रहेछन् । उनले सहज भएपछि कस्तो खतरनाक मान्छे होला, देशमा युद्ध त छैन भन्दै आएको र सरकारको नीति देखेर दिक्क लागेको सुनाए । संखुवासभा जिप्रकामा डिबीहरुलाई मेरो विषयमा त्यस्तै टिप्पणी गर्थे रे ! म कसका लागि, किन खतरनाक ? मनमा प्रश्न उब्जियो । महोत्तरीको घुमुवाले पनि गत वर्ष साथीहरुसँग त्यसै भनेको रहेछ । भनिन्छ, दमन गर्नुभन्दा अगाडि विषयको विद्रूपीकरण आवश्यक हुन्छ । हुन त अपराधी गिरोहले प्रशंसा गर्नुभन्दा आलोचना गरेकै राम्रो हुन्छ । कोतगार्डहरु उँघिरहेका थिए । सुनसान थियो, उठेर बत्ती बालें अनि ‘त्यहाँ एउटा खतरनाक मान्छे छ’ शीर्षकमा कविता लेखें । गर्धन दुखेकाले कविताको केही अंश सुतेरै पूरा गरें । त्यसपछि पेनकिलर खाएर फेरि सुतें ।

बिहान ६ बजे कोतगार्ड फेरिए । एकजना थिए माधवपुरका काप्री थरका जवान । उनी सहयोगी स्वभावका र नारायणकाजीका समर्थक थिए । केही दिनअघि ठीक छ अंकल ? भन्दा मैले ‘तपाईं मतिर एसएलआर ताकेर उभिनुभएको छ, म खाली हात छु । मसँग पनि एके–४७ भएको भए पो ठीक हुन्थ्यो, के ठीक हुनु र’ भनेको सम्झिएँ । अर्का थिए उनै पन्त, धादिङका । पन्तले ‘हामी त एउटै जातका मान्छे, ड्युटी पठाएर आएको हो, दुःख नमान्नुस् है’ भन्दै थिए । बिहान १० बजे फेरि कोतगार्ड बदलिए । खाना खाएर पल्टिएँ । आज लेखपढ गर्न सक्ने स्थिति थिएन ।

समाचार सुनिरहेको थिएँ । हिजो संसद्को कानुन, न्याय तथा मानवअधिकार समितिसमक्ष वनमन्त्री शक्ति बस्नेतले चितवनका ‘बाँदर कुर्न बनाएको मचान र एउटा गुन्द्री मात्र जलाएको’ बयान दिएछन् । साउन ४ गतेको झरीमा तीन घरमा आगो लगाउनुका अलावा सातवटा हात्तीले १० वटा घर भत्काएका थिए । रिसाएको बाघले रुख पनि कोपर्छ । मलाई त्यस्तै तनाव भयो । तस्कर पृष्ठभूमिका बस्नेतले सरला रेग्मीलाई जनयुद्धकालमा बलात्कार प्रयास गरेको समाचारलगत्तै कवि निभा शाहले उक्त काण्ड सार्वजनिक गरिन् । सामाजिक सञ्जालमा क्षणभरमै मोर्चाबन्दी देखियो । अपराधी पृष्ठभूमि भएका मान्छेहरु नै मन्त्री भएपछि अरु के नै हुन्थ्यो र !
दिनभरि अविरल वर्षा भइरहेको छ । तर, पंखा नचलाइकन बस्न गाह्रो । साँझतिर धरानबाट अधिवक्ता कला त्रितालले शिुलको खबर सुनाइन् । भोजपुरका अधिवक्ता चेतनाथ ढकालले शिलुको थप खबर सुनाए । त्यसलाई मैले ‘उमा भुजेल रिहा भएलगत्तै पुनः गिरफ्तार’ शीर्षकमा समाचार बनाएर पठाएँ । उहाँसँगै सुमन र मीनप्रसादको पनि समाचार थियो । गत वर्ष पुस १२ गते इटहरीको चक्रघट्टीबाट गिरफ्तार गरिएको र अदालतको आदेशविरुद्ध गैरकानुनी तवरले दशौंपटक पुनः गिरफ्तार गरिएको थियो ।

जनआस्थाबाट भतिज उमेशसँग सम्पर्क गरेर लेखको बारेमा सोधखोज भएको रहेछ । सञ्चो थिएन, आ… लेख्दिनँ भन्ने लाग्यो । फेरि सोच्यो मनले ‘दुश्मनबाहेक सबै चाहिन्छ, पत्रकार त झन् चाहिन्छन्, आफूले सहयोग गरे पो उनीहरुले पनि सम्झेलान्’ । उठेर एक हजार शब्दजतिको अखबारी लेख तयार पारी पठाएँ । अखबारी लेखनले गम्भीर सृजना–कर्मको बन्ध्याकरण गर्दो रहेछ तर राजनीति र सञ्चारकर्मीले अखबारी लेखनबाट भाग्न सक्दैन ।

अपाराह्नतिर विज्ञान भाञ्जासँग भेट भयो । कुसुमखोला ज्यादतिको चर्चा भयो । ‘थारु र चेपाङ समुदायविरुद्ध सिंहदरबार’ शीर्षकमा भोलि बिहान लेखेर बिजुली अखबारमा पठाउने सोच बनाएँ । पश्चिम चितवनको २०१४ सालको ‘राप्ती पुनर्वास परियोजना, राष्ट्रिय निकुञ्ज हुँदै आदिवासीमाथि ज्यादतिलाई वाणी प्रदान गर्नुपर्छ भन्ने लाग्यो । सत्तासिनको पक्षमा होइन, पीडितको पक्षमा लेख्न आवश्यक हुन्छ । साँझतिर शिलुको फोन आयो । पार्टीको प्रभाव कमजोर भएका कारण समाजमा पर्ने प्रभावको विषयमा बताउनुभयो । राजनीतिको प्रभाव प्रशासन, न्यायिक निकाय र प्रहरी बलमा पनि स्वाभाविक रुपले परेको हुन्छ । वस्तुगत र आत्मगत दुवै कारण त्यसको लागि जिम्मेवार छ । राति १० बजे कोतगार्ड फेरिए । त्यसपछि म पनि बत्ती निभाएर पल्टिएँ ।
होटल वान टु साप !

बिहान ब्युँझनासाथ ‘जयनेपाल साप, होटल वान टु’ सञ्चार सेटमा कोतगार्ड प्रमुख बोलेको सुनिन्थ्यो । आज बिहान ब्युँझँदा कोठामा सादा पोशाकका प्रहरी मात्र देखिए । लामो दूरी मार हान्ने हतियार, पोशाक र सञ्चार उपकरण लिएका थिएनन् । मैले उनीहरुलाई ‘हतियार खोई त ?’ भनेर सोधें । असईले ‘हतियार फिर्ता मागेको हुनाले बुझायौं, सादा पोशाकमा बस्न भनेका छन्’ भन्दै थिए । उनीहरुको कम्मरमा छोरो दूरीको हतियार र हत्कडी रहेछ । प्रहरी दबाबमा परेको हुन सक्थ्यो ।

सधैंझैं नित्यकर्म सकेर दूध, गहुँको चिउरा र फुल खाएँ । कालो नुन, बेसार, कागती र तातोपानी खाइसकेको थिएँ । त्यसपछि अयोध्या विवादको प्रसंग र ठोरी, माडी, सोमेश्वर र बाल्मीकिको विषयमा छोटो लेख तयार पारें । धेरै बेर बस्न नसक्ने हुनाले छोटो अखबारी लेख लेख्ने गरेको छु ।

लेखिरहेका बेला अम्बिकाको फोन आयो, किताब र पत्रिका ल्याइदिन भनें । बिहान ११ बजेतिर शोभा र अविरलसँग कुराकानी गरें, त्यसपछि मोहन वैद्यलिखित हिमाली दर्शन अध्ययन गरें । प्रकाशित भएदेखि नै अध्ययन गर्न खोजेको यो कृति अम्बिकाले ल्याइदिनुभएको हो । दार्शनिक क्षेत्रमा भारतीय चश्माले हेरेर नेपाल देखिन्न भन्ने विषयमा केन्द्रित भएझैं लाग्यो । नेपाली स्वाभिमानको लागि महत्वपूर्ण कृति लाग्यो तर यो कोणबाट चर्चा भएको छैन । आज विज्ञानले खाना ल्याइदिएका हुनाले क्यान्टिनको पत्रु खाना खान परेन ।
नयाँ पत्रिका देनिकमा ज्यासन हिकेलको विश्व बैंकको कार्यशैलीमा रहेको नश्लवादको चर्चा राम्रो लाग्यो । मध्याह्नमा अम्बिका भट्टराई आउनुभयो । अखबार अध्ययन गर्न पाइयो । नेटको सुविधा थिएन न त फोन नै थियो । भेट नभएको थुप्रै्र महिना भएको थियो । पार्टी, साथीभाइबारे लामो भलाकुसारी भयो । जेल–हिरासतमा भेटघाटले कैयौं दिनसम्म ताजगीपनको अनुभूति हुने गर्छ । ईश्वरले बेल्जियम पार्टीमा काम गर्न थालेको थाहा भयो । राजनीतिक काममा संलग्न हुँदा युवामा सोच्ने तरिका फराकिलो हुने, लघुताभाष (डिप्रेसन) को खतरा नहुने र मानवीय चिन्तनको विकास हुन सक्छ । युरोपका वा विदेशका युवामा त झन् आवश्यक छ । राजनीतिले स्वअनुशासन पनि पैदा गर्न सक्छ । जाने बेला ढोकामा उभिएर ‘प्रहरीहरुसँग कुरा नगर्नुस् है, कुरा लगाउँछन्’ भन्दै जानुभयो । हरेक मान्छेलाई आफू नै जान्ने, होसियारजस्तो लाग्दो रहेछ । ‘हस् हजुर’ भनेर बिदा गरें ।
अपराह्न कुमार र अर्को एकजना साथी आए । मुद्दा फाँटको असई विश्वराज सुवेदीले ‘अनिलजीले ध्वस्त पार्नुभएछ, म नकारात्मक छैन भनिदिनुस् है’ भनेका रहेछन् । मेरो डायरी चोर्ने ‘चोर प्रहरी’ तिनै थिए । मेरो डायरी चोर्नेले अरु कति थुनुवाको गोजीमा हात हालेर पैसा चोरेको होला ? मनमा प्रश्न उठ्यो । भ्रष्टाचारको कारण उसको टाँडी चौकी सरुवा भएको रहेछ ।

संखुवासभा चैनपुर जिल्ला अदालतबाट शिलुका वकिलले फोन गरे । उमासँग कुरा गर्नुस् भन्दै फोन दिए । तल झरेपछि फोन गर्न पाइन्न होला, वकिलमार्फत खबर छोड्छु भन्नुभएको थियो । तपाईंलाई फसाउने गरी प्रहरीको ठूलो तयारी छ, अलि तयारी गर्नुपर्छ भन्दै हुनुहुन्थ्यो ।

साँझपख सुदीप पाठकले फोन गरे । हालखबर सोधे । ‘म तपाईंको साथमा छु, दुःख दियो भने भन्दा हुन्छ’ भन्दै थिए । आज कलासँग कुराकानी भयो । उनी शिलुको बहस गर्न भोजपुर गएकी र पहिलोपटक मसँग त्यहीं फोनमा कुरा भएको थियो । ‘अनिल सर, म कुरा गर्दै जान्छु र उमालाई फोन दिन्छु, बोल्नुस् ल’ भन्दै थिइन् । काठमाडौंबाट शिलुलाई भोजपुरका लागि हिँडाइएपछि कलाको सहयोगमा खबर सोध्न पाइएको थियो । मुद्दाको प्रकृति र वातावरणको विषयमा जानकारी पाइयो ।

आज पत्रकार निमकान्त पाण्डेसँग पनि छलफल भयो । जनधारणाको लेख पढेपछि फोन गरेको थिएँ । ओली अमेरिकी योजनामा चलेको भन्ने उनको निश्कर्ष थियो । पुरानो काम गर्नका लागि ‘वातावरण नमिलेको’ उनको भनाइ थियो । तर मैले पनि गर्न सक्ने केही थिएन । खबरसम्म पठाएको थिएँ । शहरमा बौद्धिक समूहसँग भरपर्दो अन्तक्र्रिया भएन भन्ने पुरानै गुनासो थियो ।

– भरतपुर अस्पताल, मेडिकल वार्ड ३०१ ‘ए’ (भदौ १)

टिप्पणीहरू