यामलालको कुरा सोह्रैआना गलत

यामलालको कुरा सोह्रैआना गलत

कर्णाली प्रदेशका मुख्यमन्त्र महेन्द्रबहादुर शाहीविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गर्ने सन्दर्भमा जनआस्थामा पनि समाचार आयो कि, ‘क.यामलाल कँडेलले निरज आचार्य र चन्द्रबहादुर शाहीले घरमा आएर भनेपछि यसो गरेको हुँ । तिनै निरज आचार्यले यो कुरा प्रचार गर्दै हिँडेका छन् ।’

अविश्वास प्रस्ताव ल्याउने मलाई थाहा हुने कुरा भएन । कर्णाली प्रदेश सरकार फाल्ने वा नफाल्ने कुरा मेरो रुचीको विषय भएन, न त्यो विषयसँग सम्बन्धित मेरो कुनै पार्टी जिम्मेवारी नै छ ।

म सांसद भएको भए आफ्ना लागि मन्त्री वा मुख्यमन्त्री बनौँ भनेर लाग्यो भन्न सुहाउँथ्यो होला । तर, म त प्रदेशसभा निर्वाचनमा पार्टीले जाजरकोटबाट दिइसकेको टिकट गठबन्धनका नाममा अर्को सहयात्री दलका साथीले पाउने भएपछि हाँसी–हाँसी, गला मिलाएर छाडिदिएको हुँ ।

खासमा क.यामलाल कँडेलसँग उति बढी घुलमिल, कुराकानी नहुनेमध्येमा म पनि एक हुँ । उहाँको स्वभाव नै त्यही रहेछ । लामो समयपछि उहाँले डेढ महिनाअघि फोन गर्नुभएको थियो ।

‘ए साथी, के छ हालखबर ?’ भनेर सोध्नुभयो ।
मैले ‘ठीकै छ कमरेड, कोरोनाको यस्तो बिग्बिगी छ, अरु त के हुनु र’ भनेँ ।
उहाँले ‘बसेर चिया खाऔँ न’ भन्नुभयो ।

तर, भेट भएन ।

त्यसपछि फेरि संवाद भयो, काठमाडौंमै ।

उहाँले भन्नुभयो, ‘म सुर्खेत जाँदैछु । अलिकति छलफल गर्नुपर्छ भन्ने लागेको छ । त्यहाँ माओवादीको दादागिरी बढ्यो, हस्तक्षेप पनि बढ्यो । हरेक ठाउँमा अप्ठेरो पार्ने, हाम्रा साथीहरुलाई डोमिनेट गर्ने काम भयो ।’

मैले भनेँ, ‘कमरेड, तपाईंहरु नेतृत्वमा हुनुहुन्छ । हामीलाई सबैतिरबाट सेक्ने काम भएकै छ । तपाईंहरु छलफल गर्नुस् । पार्टी, सरकार कसरी चलाउने, त्यो त कमरेडहरुले नै छलफल गरेर मिलाउने कुरा भयो । म सुर्खेततिर आएछु भने भेटौँला…।’

म केही समयपछि जाजरकोटबाट फर्किंदा सुर्खेतमा केही साथीहरुसँग बसेर चिया खाइयो ।
यामलालको कुरा निस्कियो । मैले भेट्ने चाहना राखेपछि क.चन्द्रबहादुर शाहीले उहाँको घर लगिदिनुभयो ।
बढीमा १० मीनेटजति कुरा गरियो ।

हाम्रो कुरा भन्दा हामीले उहाँको कुरा बढी सुन्यौँ । स्वाभाविक हो, उहाँ हामीभन्दा बूढो, पुरोना, लामो इतिहास भएको नेता । हामीले उहाँको कुरा सुन्नैपर्छ पनि ।

उहाँले चन्द्रबहादुरजीलाई भन्नुभयो, ‘उहाँहरुले राम्रो खुट्टै टेक्नुभएन ।’

कुरा सुनेर चन्द्रबहादुर हाँस्नुभयो, अरु केही भन्नुभएन ।

त्यो भेटमा अविश्वासको प्रस्ताव ल्याउने, मुख्यमन्त्री फेर्नेजस्ता केही कुरै भएको थिएन ।

तर, एकदिन १० मीनेट भेटेका आधारमा ‘चन्द्रबहादुर र निरज आचार्यले भनेको, अनि सरकार ढाल्न लागेको’ भन्ने कुरा आफैँमा हाँस्यास्पद छ ।

त्यो भन्दा धेरै हाँस्यास्पद कुरा छ, यो कुराको प्रचार गर्न निरज आचार्य हिँडेको भन्ने ।

मानौँ कि, मैले भनेरै यामलाल त्यहाँको सरकार ढाल्न लाग्नुभएको हो भने उहाँ कति कमजोर कडीमा उभिनुभएको रहेछ भन्ने बुझिँदैन र ?
किनभने, म न पार्टीको कुनै निर्णायक भूमिकामा रहेको मान्छे। मैले वा चन्द्रबहादुरजीले भनेर यामलाललाई सरकार ढाल्न हिँड्नुपर्ने कुनै बाध्यता पनि छैन ।

अझ, मेरो हकमा त त्यो सरकार राख्ने र ढाल्ने कुरै सरोकारभित्र पर्दैन ।

के यामलाल कमरेडलाई हामीले अह्राउँदा उहाँ सरकार ढाल्न हिँड्ने कुरा यो दुनियाँमा कसैले पत्याउँछ ? मलाई लाग्छ पत्याउँदैनन् ।
बरु, यामलालले हामीलाई निर्देशन दिनसक्नुहुन्छ, पालना गर्ने कर्तव्य हाम्रो हुन्थ्यो होला । उहाँले त्यसो पनि गर्नुभएको छैन ।

फेरि, म केन्द्रका नेताहरुसँग त्यति धेरै पहुँच भएको, किङमेकर तहको मान्छे पनि होइन । यदि त्यसो हुँदो हो त महाधिवेशनमा जितिसकेको केन्द्रीय सदस्य गुमाएर अहिले एकताको बेलामा तानिनुपर्ने मान्छे हुन्नथेँ ।

शायद, चन्द्रबहादुरजीको स्थिति पनि यही हुनुपर्छ ।

त्यसैले यस्ता बेसरोकारका बकबासहरु बन्द हुनुपर्छ ।
यस्ता कुराको पछि कोही पनि लाग्नुहुने छैन भन्ने मैले विश्वास लिएको छु ।

निरज आचार्य, केन्द्रीय सदस्य तथा सहइञ्चार्ज– जाजरकोट
नेपाल कम्युनिष्ट पार्टी (नेकपा)

टिप्पणीहरू