किन छैन आनन्दको मनमा आनन्द ?

किन छैन आनन्दको मनमा आनन्द ?

उचाइमा मैजत्रो मान्छे । दर्बिलोसँग हात मिलाउँदै भन्यो, ‘मेरो नाम आनन्द सापकोटा, कमरेड रमणको भाषामा डाँका !’ मैले त्यो मनुवाको चियो गर्न थालेको आज ठ्याक्कै १४ वर्ष भएछ । बन्दाबन्दीको बखत फोन गरेँ, सम्झिएँ र केही कथा उतार्न थालेँ ।

नुवाकोट कुमरी गाउँ विद्रोहीहरूको किल्ला । सबै विद्रोहीभन्दा चर्का थिए, आनन्द सापकोटा । यतिबेला लगभग गुमनामजस्तै छन् । कुमरीमा भएको भ्रष्टाचार र अनियमितताको फाइल भूमिगत मार्गबाट अख्तियारको दैलो र गाउँका सिंहदरबारको मझेरी ओहोरी–दोहोरी गरिरहेछ । माओवादीले मेयरको टिकट थमाएका जगत् लामा पिता सुकुमानको सम्झनामा निर्मित अस्पतालबाट सिटामोल र स्लाइन बाँडेर जनताको माया बटुलिरहेका छन् । यतिबेला कोरोना महामारीले माक्र्स र स्यानिटाइजर बाँड्न भ्याइ–नभ्याई छ उनलाई । हाम्रो स्वभाव पनि उही त हो, सित्तैमा पाए तीनपाथी चुक खाने, जितेका भन्दा हारेका मेयरको फूर्तीफार्ती चर्को छ । मान्छे त यो पो तगडा रहेछ भन्दै उकेरा लगाउन व्यस्त छन् गाउँले । कतिपयचाहिँ जगत्बहादुरको अनुहारभन्दा उसले ल्याउने हरियो डलर देखेर मुख मिठ्याउँदै छन् । जलजले थाप्लोको यो कथाभन्दा पल्लोपट्टि रुपिङ डाँडामा भएको लक्ष्मेश्वरी माविलाई उमावि बनाउन लक्ष्मी कमजोर भएको भन्दै सप्ताह लगाउन विवश थिए गाउँले । यो त्यतिबेलाकै कुरा हो, जतिबेला गाउँदेखि केन्द्रसम्मको सिंहदरबारमा कम्युनिष्टहरूकै हालिमुहाली चलेको थियो । र, त्यो अभियानको नेतृत्वकर्ताचाहिँ माष्टरको स्थायी जागिर छाडेर जनयुद्धतिर पूर्णकालीन भएका शिक्षक नेता शम्भु पनेरु थिए । जनयुद्ध र त्यसअगाडि अनवरत १७ वर्ष नुवाकोट जिल्ला कमिटी सदस्य रहेका पनेरु जनयुद्धको उतालछालमा हेलिएर डाँडागाउँतिर सुस्ताएपछि भने स्कुल चलाउने र बनाउने यो अभियानमा दिलोज्यानले लागेका थिए । उनले लडेको जनयुद्धले के दियो दिएन थाहा भएन तर यो सप्ताहले भने विद्यालय सञ्चालनका लागि पैसाको जोहो मजैले ग¥यो, माननीय कमरेडहरूले पनि दान गरे ।

किन गर्छ मान्छेले विद्रोह ? कसरी दबाइन्छ विद्रोहलाई ? स्वार्थको ढाकछोपमा के–के हुन्छन् जालीझेली कुराहरू ?

कुनैबेला माओवादी र न्याय खोज्न मान्छेहरू कुमरीतिर लाग्थे । यो दशकअघिको कुरा हो । यतिबेला भने कुमरीका मान्छेहरू न्याय खोज्न अख्तियारको दैलोतिर किन पुग्छन् होला ? शिक्षा र स्वास्थ्यलाई जनताको आधारभूत अधिकार ठान्ने कम्युनिष्ट पार्टीले सत्ता चलाएको बेला स्कुल चलाउन महायज्ञ लगाउने बाध्यता छ । यो त्यही गाउँको कथा हो जसले दशौँ वर्ष नुवाकोटको थवाङझैँ जनयुद्धको आधार किल्लाको पहिचान बनाएको थियो र झण्डै दुई दर्जन हाराहारी योद्धाले रगत बगाएका थिए ।

किन गर्छ मान्छेले विद्रोह ? कसरी दबाइन्छ विद्रोहलाई ? स्वार्थको ढाकछोपमा के–के हुन्छन् जालीझेली कुराहरू ?
उनको नाम आनन्दचाहिँ बा–आमाले राखिदिएका हुन् । क्रान्ति यात्रामा पवनको उपनाम पाएका उनी २०२९ सालतिर नुवाकोट जिल्ला साविक बेलकोट गाविसको शेरामा जन्मिएका थिए । धन नहुनेको नाम धनबहादुर, बुद्धि नहुनेको नाम बुद्धिबहादुर र सबैभन्दा धेरै असन्तुष्ट विद्रोहीको चाहिँ नाम थियो आनन्द ! कलाकारमा तबला बजाउने थिए उनी । कतिपयले तबला उपनामसमेत दिएका थिए ।

सुन्नुहोस् है साथी हो, आफ्नो गाउँघरको खबर
गाउँमा बसी जिउन पनि भैसक्यो रहर ।

जनसेनाका कमाण्डर यमबहादुर अधिकारी ‘प्रतिक्षा’ र सहकमाण्डर रामबहादुर भण्डारी ‘ज्योति’ खुब हौस्याउँथे । कुमरी, चन्द्रकान्त र माओवादी अन्तरसम्बन्धित छ । कुमरी पञ्चायतमा थियो शारदाप्रसाद मुडभरीको साम्राज्य । यो गाउँमा जनमोर्चालाई चुनाव जिताएर आनन्दसँग जागिर खाउँला भन्ने ती गुरुको सपना भताभुंग पार्ने अराजक विद्रोही चेलो भनेको कमरेड आनन्द नै थियो ।

नुवाकोट जिल्ला पार्टी बैठकले स्थानीय चुनाव बहिष्कारको निर्देशन दिएपछि कमरेडहरू दिनभरि बहिष्कार अभियान चलाउने र रातभरि घर–घर पसेर भोट माग्ने गर्थे । जिल्लाबाट रामकृष्ण बानियाँको नेतृत्वमा बहिष्कार अभियान सञ्चालनका लागि कमरेडहरू गाउँ पसेका थिए । गाउँतिर द्वैध चरित्रको चित्र देखेपछि आफैँले बम बनाएर निर्वाचन केन्द्र छेउमा पड्काई गाउँ छाडेर हिँडेका थिए आनन्द । बम पड्किएपछि विमला सुवेदीलाई खबर दिएर उनी भने जीवनपुरको पाखोतिर बसी कुमरीका अवसरवादीको रुवाबासीको रमिता हेर्दै थिए । किन होला विमलालाई खबर गरेको ? भन्ने जिज्ञासामा थप्छन्, ‘विमलाचाहिँ सोझीजस्तो लागेर किन फसाउनु भन्दै खबर गरेँ ।’ पार्टीको लाइन नमान्नेहरूलाई एक दनक यो विद्रोहले पक्कै दिएको थियो । विद्रोह सकेर शहर छिरेका आनन्दलाई पार्टीले ठाउँको ठाउँ ६ महिना निलम्बन गरिदियो । त्यतिबेला उपत्यका इञ्चार्ज थिए जल्दाबल्दा नेता कमरेड रवीन्द्र श्रेष्ठ ‘अनुकूल’ । अखिल क्रान्तिकारीको वीरेन्द्र मावि इकाइमा संगठित भएर जनकलाकारसम्म भएका थिए आनन्द । त्यतिबेला राजकुमार पुडासैनी, चेतबहादुर गुरुङहरू अघिल्लो कक्षाका थिए भने विमला सुवेदी र लक्ष्मी मुडभरीहरू दोस्रो कक्षाका ।

कहिलेकाहीँ त लाग्छ उनलाई, चन्द्रकान्तका चेलाहरू अधिकांश बद्मास भेटिए यो जिन्दगीमा । गोपी भण्डारीले ‘भोट माग्न जाऊँ जगतलाई’ भन्दै थियो तर मनले मानेन र गइनँ– उनी भन्दै थिए । वकिल र राजनीतिज्ञहरू फटाहा हुँदारहेछन् भन्नेमा प्रष्ट छु । किनकि त्यतिबेला पनि २ सयप्रति रसिद बढी छपाएर पैसा उठाएको थाहा भएपछि पार्टीले छानबिन गरेको काण्ड थियो नानीदेखि देखिने छाँटकाँट । तर, त्यसपछि के भयो थाहा भएन । मान्छेको आस्था कहाँ कति थियो ? त्यो उनै जानुन् । तर, स्वार्थचाहिँ भरपुर थियो अधिकांशमा । कुमरीको प्रभाव व्यापक देखिए पनि जानेर शहिद भए या बुझेर ज्यान फाले, त्यो उनै जानुन्– बाँकी धेरैचाहिँ डरपोक र डरछेरुवा निस्किए ।

उतिबेला सल्यानबाट पहिलो समाचार आएको थियोे भने दोस्रो बिष्फोटनको घटना नुवाकोटको कुमरीमा भएको थियो । त्यही सल्यानको समाचार पढेपछि ऊर्जा पाएका थिए आनन्दले । जनयुद्धको पूर्वसन्ध्यामा देशव्यापी साँस्कृतिक कार्यक्रम सञ्चालन भएका थिए । त्यहीताका नुवाकोट जिल्लामा हितबहादुर तामाङ, माइला लामालगायतको केन्द्रीय भूमिका रहेको पाइन्छ ।

हाम्रो रोल्पामा पुलिस कांग्रेस पसेर
झिटिझाम्टा गरिबका लगे लुटेर

उही गीत गाउँदै छन् सामना साँस्कृतिक परिवारका जनकलाकारहरू यतिबेला पनि, किन होला ? यस्ता–उस्ता दृश्य आँखाअघि फन्फनी घुम्न थालेपछि कसरी होला त आनन्दको त्यो मनमा आनन्द ?

टिप्पणीहरू