स्कुलमा साह्रै खत्तम संगत

स्कुलमा साह्रै खत्तम संगत

सेनाद्वारा सञ्चालित स्कुलहरु असुरक्षित हुँदै गएका छन् । सेनाले ठूलो लगानी गरेर आफ्ना छोराछोरी पढाउन भनेर लामो समयदेखि स्कुल सञ्चालन गर्दै आएको छ । कक्षा १ देखि ब्याचलर डिग्रीसम्म पढाइने शैक्षिक संस्थामा सैनिकको तल्लो तहका बच्चाहरु पढ्ने सरकारी स्कुलभन्दा झूर व्यवस्थापन छ । माथिल्लो तहका अधिकृतहरुले छोराछोरीलाई त्यहाँ पढाउनै चाहन्नन् ।

अधिकृतहरुलाई स्कुलबाट पैसा कमाउनै ठिक्क, गैरसैनिक शिक्षक कर्मचारीले कसलाई टेर्ने ? सैनिक स्कुलहरुका घटना बाहिर आउन दिइँदैन । हरेक वर्ष सैनिक स्कुलमा यौन दूराचारका घटना घटिरहन्छन् । चाहे त्यो भक्तपुरमा होस् या छोरीहरु मात्र पढ्ने बिजेश्वरी स्कुलमा । शिक्षक–विद्यार्थी, कर्मचारी–विद्यार्थी, सैनिक–कर्मचारी तथा विद्यार्थी–विद्यार्थीबीच यौनजन्य घटना घटिरहन्छन् । त्यस्ता धेरै घटनामध्ये यसै वर्ष सैनिक स्कुल भक्तपुरका प्रिन्सिपल सुरेन्द्र पनेरु र कक्षा १२ मा अध्ययनरत छात्रा … अधिकारीको घटना यत्तिकै सामसुम पारियो ।

हरेक वर्ष शिक्षक, कर्मचारीको भित्रभित्रै जागिर जान्छ, कति कारवाहीमा पर्छन् । कति काण्ड त शिक्षक र अभिभावकबीच पनि घट्ने गरेका छन् । सुमन बस्नेतले विद्यार्थी र उनकी आमा दुवैलाई शोषण गरेको अवस्थामा दुई वर्षअघि स्कुलबाट भगाइयो । सैनिक स्कुलहरुको साख जोगाउन के गर्नुपर्ला, कसले सोच्ने ? सेनाले एक वर्षसम्म पनि प्रिन्सिपल पठाउन सकेको छैन । यदि समयमै ध्यान दिइएन भने एक दिन सैनिक स्कुल भुसमा आगो लागेझैं भित्रभित्रै कुहिएर बन्द गर्ने अवस्था नआउला भन्न सकिन्न ।

टिप्पणीहरू