मान्छे नेकपाको, खेलो कांग्रेसमा

मान्छे नेकपाको, खेलो कांग्रेसमा

साढे दुई वर्षपछि हुने चुनावी प्रतिस्पर्धालाई आफ्नो अनुकूल बनाउने खेलो अहिल्यै शुरु गरेका छन्, पूर्वपर्यटन राज्यमन्त्री धनबहादुर बूढाले ।
उनी डोल्पा जिल्लाबाट प्रतिनिधिसभाको प्रत्यक्षतर्फका नेकपा सांसद हुन् ।

गत निर्वाचनमा आफ्ना प्रतिद्वन्द्वी थिए, कांग्रेसका अंगद बूढा ।

पहिला एमाले केन्द्रीय सदस्यसमेत भएका अंगदले ०७० को चुनावमा एमालेबाट पाइसकेको टिकट धनबहादुरले पैसाको बलमा खोसेपछि उनी कांग्रेस प्रवेश गरेका हुन् ।

धनबहादुरचाहिँ राप्रपा छोडेर टिकटका लागि एमाले बनेका थिए ।

अहिले आफ्नै दाजुलाई विमलेन्द्र निधीको आशिर्वादसहित कांग्रेस केन्द्रीय सदस्य बनाउँदै आगामी निर्वाचनमा उनको टिकट सुनिश्चित गर्दैछन् ।

कारण हो, नेकपाभित्र आफ्नो स्थिति खस्किनु र नेताहरुले रुचाउन छाड्नु । यसो भएपछि जिल्लाको राजनीति सकेसम्म आफ्नै हातमा, नभए पनि घरभित्रै सुरक्षित पार्ने उनको दाउ हो ।

यही रणनीतिअन्तर्गत दाजु कर्ण बूढालाई कांग्रेस बनाइदिए ।

लामो समय हलो चुनाव चिह्न भएको राप्रपाबाट राजनीति गरी हालै कांग्रेस बनेका बूढालाई विमलेन्द्र निधीहरुको जोडबलमा बोक्नै नसक्ने गहुंगो भारी बोकाइएको छ ।

उनी डोल्पा राप्रपा पार्टीको प्रमुख हुँदा जिल्लामा पार्टी कार्यालय समेत थिएन । कुनैबेला पूर्वपञ्चबाहेक अरुले चिहाउनै नसक्ने त्यहाँ अहिले राप्रपाका तीन सय मतदाता पनि छैनन् ।

कतिसम्म भने चुनावताका पशुपतिसमशेर राणासँग ४५ लाखभन्दा बढी रकम बुझेर पनि बूढाले नोमिनेशन गरेनन् ।
हालै मात्र कांग्रेस प्रवेश गरेका बूढालाई विमलेन्द्रहरुकै जोडबलमा केन्द्रिय सदस्य बनाइएको छ ।

यस्तै जिल्ला कार्यसमिति र उनले भनेका पाँच सय कार्यकर्तालाई क्रियाशील सदस्यता दिने तयारी चल्दैछ ।
हिजोको निर्वाचनमा कांग्रेसको बुथ कब्जा गर्न सघाउने नेकपाकै कार्यकर्तालाई पार्टीको क्रियाशील सदस्यता दिलाउन सघाएको भन्दै त्यहाँका पुराना कांग्रेस क्रुद्ध छन् ।

त्यहाँ धनबहादुर बूढाले अर्काे ठेकेदार कान्छाराम तामाङ (उनैले विमलेन्द्रलाई बानेश्वरको घर उपहार दिएको चर्चा छ) जस्ता ठेकेदारको लाइसेन्स प्रयोग गरी डोल्पाको अधिकांश ठेक्कापट्टा हत्याउँदै आएका छन् र ती सबै अलपत्र छन् ।
दुनै सदरमुकामदेखि धोसम्म जोड्ने सडकको पहिला नै ट्रयाक खोलिसकिएको हो । यो सडकको ठेक्का नेपाली सेनालाई दिन नमानी आफैँले ओगटेर राखेका छन् ।

बूढाको बदमासी कस्तो भने सजिलो ठाउँमा खन्ने र अप्ठ्यारो ठाउँ चाहिँ त्यतिकै छाडेर मेलम्ची घोटाला निम्त्याउँदै छन् । ठेक्का झण्डै ८० करोड लागतको हो । धनबहादुर सांसद भएलगत्तै काकाई गाउँपालिका (साविक शहरतारा गाविस) स्थित गुम्वातारामा रहेको १८ मुर्ति नै गायब बनाइएको भन्दै त्यहाँका स्थानीयले आवाज उठाउँदै आएका छन् ।
यो बिषयमा कर्ण बूढासँग प्रतिक्रिया लिन खोज्दा उनी सम्र्पकमा आएनन् ।

त्यहाँ धनबहादुरको जनाधार निकै खस्किएको छ ।
कांग्रेसको आगामी महाधिवेशनअघि दाजुलाई नै जिल्ला सभापति बनाएर आफ्नो क्षेत्रमा सुरक्षित बनाउने खेलमा धनबहादुर लागेका हुन् ।

टिप्पणीहरू