व्यास क्षेत्रमा के-के बनाइँदै ?

व्यास क्षेत्रमा के-के बनाइँदै ?

दार्चुलाको अति विकट व्यास गाउँपालिकाको समग्र विकास गर्न सरकारले एकीकृत कार्ययोजना लागू गरेको छ । गृह मन्त्रालयले असोज २६ गते मन्त्रीस्तरीय निर्णयबाट ‘दार्चुला जिल्ला, व्यास गाउँपालिकाको समग्र विकास तथा सेवा प्रवाहमा सुधारसम्बन्धी एकीकृत कार्ययोजना २०७७’ स्वीकृत गरेको हो ।

मन्त्रालयले भोलिपल्टै प्रहरी प्रधान कार्यालय लगायतका निकायलाई लेखेको पत्रमा कार्ययोजनामा सबै सुरक्षा निकायसँग सम्बन्धित विषयका बुँदाहरूको कार्य प्रगति नियमित रूपमा पठाउनसमेत निर्देशन दिइएको छ ।

कार्ययोजनामा विभिन्न दशवटा क्षेत्रलाई समेटिएको छ । उल्लेखित विषय कार्यान्वयन गर्नेसम्बन्धमा विस्तृत विवरणसहित जिम्मेवार निकाय,सहयोगी निकाय र कार्ययोजना सम्पन्न गर्नुपर्ने समयसीमा समेत तोकिएको छ । कार्ययोजनामा पूर्वाधार निर्माणलाई पहिलो प्राथमिकता दिइएको छ । त्यसमा पनि दार्चुलादेखि टिंकरसम्मको सडक निर्माण गर्ने जिम्मेवारी नेपाली सेनालाई दिइएको छ । उक्त सडकको लागि आवश्यक बजेट संघीय भौतिक पूर्वाधार यातायात मन्त्रालयले जुटाउने र चालु आर्थिक वर्षभित्र कार्यप्रारम्भ गर्ने सीमा तोकिएको छ ।

त्यसैगरी छाङ्गरुदेखि टिंकरसम्म घोडेटो बाटो निर्माणको जिम्मा व्यास गाउँपालिकालाई र सहयोगी निकायको रूपमा नेपाली सेनालाई उल्लेख गरिएको छ । उक्त सडक आगामी असारभित्र सम्पन्न गरिसक्ने लक्ष्य छ । महाकाली नदीमा रहेका सीतापुललगायत काठेपुलहरूको निर्माण र मर्मत कार्यको जिम्मेवारी संघीय भौतिक पूर्वाधार यातायात मन्त्रालयको रहेको उल्लेख छ । आगामी असारभित्र सम्पन्न गर्ने लक्ष्य राखिएको उक्त कार्यको सहयोगी निकायको रूपमा अर्थ मन्त्रालय र व्यास गाउँपालिकालाई तोकिएको छ ।

कार्ययोजनामा व्यास गाउँपालिकामा आगामी तीन महिनाभित्र हेलिप्याड निर्माण गर्न नेपाली सेना र जिल्ला प्रशासन कार्यालयलाई सहयोगी निकाय तोकिएको छ भने आवश्यक बजेटको लागि गाउँपालिकाको जिम्मेवारी रहने उल्लेख छ । गाउँपालिकाको वार्ड नं। १ मा सञ्चालित खानेपानी योजनाको मर्मत र गाउँपालिकाभित्र पहिचान गरिएका अन्य खानेपानी आयोजनाहरूको निर्माणका लागि पनि असार मसान्तको सीमा तोकिएको छ । उक्त योजना मर्मतको जिम्मेवारी सुदूर पश्चिम प्रदेशको भौतिक पूर्वाधार,विकास मन्त्रालय र खानेपानी तथा सरसफाई डिभिजन कार्यालबैतडी र सहयोगी निकायमा सम्बन्धित मन्त्रालय र गाउँपालिकालाई तोकिएको छ ।

त्यसैगरी सेवा प्रवाहअन्तर्गत आगामी मंसिरभित्र टिंकर नाकामा भन्सार कार्यालय पुनस्थापना गर्ने,तीन महिनाभित्र सीमा प्रशासन कार्यालयमा दरबन्दीअनुसार कर्मचारी व्यवस्था तथा सेवा प्रवाह गर्ने र आगामी असारभित्र पशु क्वारिण्टिन कार्यालयको स्थापना गर्नेसमेत कार्ययोजनामा उल्लेख छ ।

सुरक्षाअन्तर्गत बाह्रैमास सञ्चालन हुनेगरी आगामी असारभित्र प्रहरी चौकी स्थापना गर्ने र सोही अवधिभित्र सशस्त्र प्रहरी बल नेपालको बोर्डर अपरेशन पोष्ट ९बीओपी० को लागि भवन निर्माण गर्ने जिम्मेवारी गृह मन्त्रालय आफैँले लिएको छ । त्यसको लागि गाउँपालिका र अर्थ मन्त्रालय सहयोगी निकायको रूपमा रहेका छन् ।

शिक्षातर्फ टिंकर र छाङ्गरुमा आगामी असारभित्र आधारभूत विद्यालयको स्थापना र पुनस्थापना गर्ने जिम्मेवारी व्यास गाउँपालिकाको र सहयोगी निकायको रूपमा शिक्षा,विज्ञान तथा प्रविधि मन्त्रालय एवम् संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय तोकिएका छन् ।

स्वास्थ्य तथा सरसफाईअन्तर्गत गाउँपालिकामा ५ देखि १५ शैयाको अस्पतालको निर्माण चालु आर्थिक वर्षभित्र शुरु गर्ने र त्यसको लागि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको प्रमुख जिम्मेवारी र सहयोगी निकायको रूपमा अर्थ मन्त्रालय रहेका छन् । गाउँपालिकाका प्रत्येक घरधुरीमा घरायसी शौचालयको निर्माण र विद्यालय तथा स्वास्थ्य संस्थाहरूमा सरसफाई सुविधा पुर्याउने कार्य पनि आगामी असारभित्र सम्पन्न गर्ने गरी गाउँपालिका र प्रदेशको सम्बन्धित मन्त्रालयलाई जिम्मेवार बनाइएको छ ।

सञ्चारतर्फ चालु आर्थिक वर्षभित्र टिंकर र छाङ्गरुमा सञ्चार सुविधाको व्यवस्था गरिने कार्ययोजनामा उल्लेख छ । त्यसैगरी टिंकर र छाङ्गरुका विकट वस्तीहरूमा भूक्षय नियन्त्रणको लागि आवश्यक व्यवस्था गर्न आगामी जेठ मसान्तको समयसीमा तोकिएको छ । कार्ययोजनामा उद्योग,पर्यटन विकास तथा प्रवद्र्धनका कार्यहरू तत्काल शुरु गरी रोजगारी सिर्जना र उद्यमशीलता विकास गर्ने भनिएको छ । त्यसको लागि प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना र संस्कृति,पर्यटन तथा नागरिक उड्यन मन्त्रालयलाई जिम्मेवार बनाइएको छ ।

व्यास गाउँपालिकामा व्यावसायिक कृषि तथा पशुपालनको लागि प्रदेशको सम्बन्धित मन्त्रालयलाई जिम्मेवार निकाय तोकिएको छ भने उक्त कार्यलाई निरन्तरता दिनुपर्ने समेत उल्लेख छ । व्यास गाउँपालिकामा भेँडा तथा च्याङ्ग्रा पालनको सम्भावना प्रचुर रहेको बताइन्छ ।

टिप्पणीहरू