कर्णालीमा उनैले उचाले, उनैले पछारे

कर्णालीमा उनैले उचाले, उनैले पछारे

प्रदेश सरकार र पार्टीमा देखिएको पछिल्लो घटनाक्रमलाई सल्टाउन काठमाडौं बोलाइएका नेकपा, कर्णाली प्रदेशका मुख्यमन्त्रीलगायत नेताहरू अन्ततःआज फर्किने भएका छन् । बालुवाटारको खासै निक्र्यौल सुन्न नपाएपनि खुमलटारनिकट नेताहरूले ‘अहिले टालटुल भयो,तपाईंहरू फर्कनुस्’ भनेपछि उनीहरूले फर्कने सुरसार कसेका हुन् ।

यसबीच भएका केही छलफल र भेटघाटमध्ये बालुवाटारमा प्रधानमन्त्रीले व्यक्त गर्नुभएका धारणालाई उताका धेरैले ‘आपत्तिजनक’ भनेका छन् । कर्णालीका कमरेडहरूलाई प्रधानमन्त्रीले ‘प्रदेश सरकार संघीय सरकारको इकाइ भएकाले केन्द्रको अनुमतिबिना केही पनि गर्न पाईंदैन’ भन्ने आशय राखेको विषयलाई उनीहरूले गम्भीर रूपमा लिएको बताइन्छ । बालुवाटारमा ‘मन्त्री वा मुख्यमन्त्री फेर्ने काम प्रधानमन्त्रीलाई नसोधी वा अनुमति नलिई गर्न नपाईने’ भनेपछि उनीहरू अचम्भित बनेका थिए ।

आफनो पार्टीको मुख्यमन्त्री भएको वा बहुमत रहेको सरकारको हकमा अनौपचारिक रूपमा उक्त आशयको काम गर्न सकिएला । कर्णालीबाट आएको टिमका अधिकांशले ‘तर अहिले २ नं. प्रदेशको हकमा मुख्यमन्त्री लालबाबु राउतले त्यसो गर्लान् ? वा प्रधानमन्त्रीले २ नं. प्रदेशमा त्यसो भन्न र गर्न सक्नुहुन्छ ?’ भन्दै प्रतिप्रश्न गरेका छन् । उनीहरूका अनुसार प्रधानमन्त्रीको उक्त आशय संविधान र संघीय लोकतान्त्रिक व्यवस्थाको मर्म विपरित देखिन्छ ।

खासमा कर्णाली प्रदेशमा यामलाल कँडेललाई मुख्यमन्त्री बन्ने रहर बढेपछि पछिल्लो अवस्था उत्पन्न भएको बताइन्छ । तर,यसमा मलजलको कामचाहिँ  दुई जनाले गरेको स्वयम् कँडेलले काठमाडौंमा नेताहरूको घरदैलो कार्यक्रममा व्यक्त गर्नुले पनि घटनाक्रमलाई थप रहस्यमय बनाइदिएको छ । यसबीच कँडेललगायत कर्णालीका कमरेडहरूले अध्यक्षद्वयलाई सामुहिक र वरिष्ठ नेता माधवकुमार नेपाल,उपाध्यक्ष वामदेव गौतम र महासचिव विष्णु पौडेललाई एक्लाएक्लै भेटेका थिए ।

अध्यक्षद्वयसँगको सामुहिक भेटमा उनले ‘मैले यो सरकार (कर्णाली प्रदेश) गठनमा तत्कालीन एमालेलाई मर्का पारिएको विषयलाई शुरुदेखि उठाउँदै आएको थिएँ । कार्यकाल बाँडौं भनेर पनि त्यतिबेलै भनेको थिएँ । तर,मेरा ती सुझावलाई लत्याइयो र त्यतिबेला स्वयम् पूर्व एमालेबीचमा विभाजन ल्याएर प्राविधिक रूपमा कर्णाली प्रदेशको सरकार गठन गरियो ।’

कँडेलले अगाडि भने ‘तर, अहिले अविश्वास प्रस्ताव ल्याउनैपर्ने अवस्था चाँहि चन्द्रबहादुर शाही र निरज आचार्य स्वयमले मेरो घरमा आएर कुरा गरेपछि अघि बढेको हो । ती दुई जनाले कुरा गरेपछि मैले प्रक्रिया अघि बढाएको हुँ । घटनाक्रमले नयाँ रूप लिन थालेपछि अहिले आचार्य सरकार जोगाउन आफूले धेरै पापड पेलेको र दूत बनेको भन्दै हिँड्नुभएको छ रे । (शाहीको नाकैमा औंला छुनेगरी चोर औंला ठाडो पार्दै) ल भन्नुस् चन्द्रजी,तपाईंहरू दुबै जनाले मेरो घरमा आएर अविश्वासको प्रस्तावको कुरो गर्नु भएको हो कि होइन ?’ उक्त कुरो कँडेलले सबै नेतासँगको भेटमा समेत भनिदिएपछि कर्णाली प्रदेश सरकारमा देखिएको भनिएको विवाद र योजनाको चुरो बाहिर आएको हो ।

हुनपनि पछिल्लो एक सातादेखि तिनै आचार्य आफू अध्यक्ष प्रचण्ड र माधव नेपालको दूत भएर सरकार जोगाउन लागिपरेको समाचार प्रचारमा व्यापक लागेका छन् । तर,यता कँडेलले नेताहरूको सामुन्ने वास्तविकता खोल्दा सँगै रहेका शाही भने चुईंक्क बोल्न सकेनन् । हिजो मात्रै आचार्यले शाहीलाई कँडेलले नेताहरूको सामुन्ने त्यसरी औंला ठड्याएर कुरो खोल्दा प्रतिवाद गर्नुपर्दैन ? भनेर हकारेपछि शाहीले पनि रन्किँदै ‘के को प्रतिवाद गर्ने ? कसरी प्रतिवाद गर्ने ? तपाईं र म कँडेलको घरमा गएर अविश्वासको कुरो गरेकै हो । अनि अहिले होइन भन्न मिल्छ ?’ भनेको स्रोतको दाबी छ ।

पूर्व एमाओवादीका सांसद चन्द्रबहादुर शाहीलाई त्यतिबेलै प्रदेशको भौतिक योजनामन्त्री नबनाएको रिस शुरुदेखि नै थियो । कनिष्ठलाई मन्त्री बनाएर आफूलाई पन्छाउँदा उनको कन्पारो तात्नु स्वाभाविकै हो । पछि तिनै कनिष्ठ खड्ग खत्री आर्थिक चलखेलको आरोप लागेपछि मन्त्रीबाट खुस्के । त्यसरी मन्त्रालय खाली हुँदा पनि मुख्यमन्त्री शाहीले बरु आफैसङ्ग राखे तर आफूलाई मन्त्री बनाउने इच्छा नदेखाएको भन्दै चन्द्रबहादुर र आचार्यले अविश्वासको योजना बुनेको वास्तविकता काठमाडौंमा आएपछि छताछुल्ल भएको बताइन्छ ।

टिप्पणीहरू