पढी हेर, कति गहिरो हुन्छ प्रेमको पीडा

पढी हेर, कति गहिरो हुन्छ प्रेमको पीडा

वक्त ने किया, क्या हंसी सितम,
तुम रहे न तुम, हम रहे न हम ।

बेकरार दिल इस तरह मिले,
जिसतरह कभी हम जुदा न थे,
तुम भी खो गए, हम भी खो गए,
एक राह पर चलके दो कदम ।

जाएँगे कहाँ सूझता नहीं,
चल पडे मगर रास्ता नहीं,
क्या तलास है कुछ पता नहीं
बुन रहे है दिल, ख्वाब दम–ब–दम
बक्त ने किया, क्या हंसी सितम ।

हिन्दी चित्रपटका महान् निर्देशक, निर्माता, लेखक, अभिनेता गुरुदत्तको जीवनीमा यो गीतको ठूलो महत्व छ । कारण सन् १९५९ मा प्रदर्शित ‘कागजके फूल’ को यो गीत उनकी पत्नी गीता दत्तले गाएकी हुन् भने चलचित्रमा यो गीत स्वयं गुरुदत्त र उनको प्रेमिका वहिदा रहमानमाथि फिल्मांकन गरिएको हो । वास्तविक जीवनमा मात्र होइन, यो चलचित्रमा पनि वहिदा उनकी प्रेमिका बनेकी थिइन् । उनै वहिदाको कारण गुरुदत्तको पारिवारिक जीवन तहसनहस बन्न पुग्यो र अन्त्यमा गुरुदत्तले आफ्नो इहलीला समाप्त गरिदिए ।

अब्रार अल्बी लेखक, निर्देशक र अभिनेता । लामो समय गुरुदत्तसँग सहकार्य गरेका । गुरुदत्तभन्दा दुई वर्षले कान्छा । कलेजमा अध्ययनरत समय एकदिन अब्रार साथीहरुसँग समुद्री तटमा घुम्न गए । एकछिनको वार्तालापपछि उनीहरुका सामु तीनवटी केटी प्रस्तुत भए । दुई जना १५ वर्षीया र अर्की २९ वर्षीया । अब्रारलाई तीमध्ये एउटी छान्न भनियो । उनी अकमकिए । हडबडाउँदै २९ वर्षकीलाई रोजे । युवतीले अचम्म मान्दै सोधिन्, ‘भर्खरका ठिटीहरु हुँदाहुँदै मलाई किन छान्नुभयो ?’

साँझ परेपछि अब्रारका साथीहरु ती नाबालिग केटीहरुलाई लिएर गन्तव्यतर्फ लागे । अँध्यारोसँग त्यहाँको वातावरण रंगीन बन्दै गयो तर अब्रार त्यहीं नजिकको एउटा आश्रममा बसेर ती युवतीसँग गफिए । कुराकानीकै क्रममा उनले युवतीको नाउँ ‘गुलाबो’ भन्ने थाहा पाए । बिहान साथीहरु रंगरंगेली मनाएर फर्किसक्दा पनि अब्रार र गुलाबो त्यहीं थिए । उनीहरु ट्याक्सीमा घर फर्कन लागे । अब्रारले गुलाबोलाई पनि लान चाहे किनभने उनीसित थप कुराकानी गर्न चाहन्थे । तर गाडीमा ठाउँ थिएन । गुलाबोले अब्रारको मनस्थिति बुझेपछि उनलाई तानेर भनिन्, ‘अरे बुद्धु, तिमीलाई मेरो काखमा राखौंला नि, जाऊँ ।’

गाडी गुलाबोको निवासतर्फ लाग्यो । मुर्गी गल्लीमा गाडी रोकेपछि गुलाबोले अब्रारलाई तानेर आफ्नो घरतर्फ लगिन् । त्यो राति उनीहरुबीच कुनै किसिमको शारीरिक सम्बन्ध भएन तर गुलाबोले अब्रारलाई मन पराउन थालिन् । त्यसपछिका दिनमा भेट्ने बहाना बनाउन थालिन् । एकदिन अब्रार गुलाबोको कोठातर्फ गए तर कोठाबाहिर एउटी युवतीले रोकिन् । भेट्न नपाउने भनिन् तर अब्रारको स्वर सुनिसकेकी गुलाबो बाहिर निस्किइन् । केटीको कपाल लुछेर परसम्म धकेलिदिइन् । अब्रारको हात समातेर ट्याक्सी चढिन् । ट्याक्सीलाई एलिफिस्टिन रोडमा रोक्न लगाइन् । अब्रारको खल्तीमा पैसा थिएन । गुलाबोले नै तिरिन् र नजिकको घरमा लगिन् । कोठामा एउटा मात्र बिछ्यौना थियो । मधुरो बत्ती बलिरहेको थियो । दुवै गफिन थाले । त्यत्तिकैमा कसैले ढोका ढक्ढक्यायो । अब्रारको सातो उड्यो । गुलाबोले ढोका खोलिन् । बाहिर उभिएका पुरुष ह्विस्कीको बोत्तल दिएर गए ।

त्यो रात दुवैले खुब पिए । रक्सीको मातमा अब्रारले गुलाबोलाई आमाचकारी गाली गरे । गुलाबोले हातले उनको मुख थुनेर ‘तिम्रो मुखबाट यस्तो फोहोरी शब्द निकालेको सुहाउँदैन’ भनिन् । आँखाबाट आँशु खसाल्दै ‘म त वेश्या हुँ, निच हुँ, तिमी त हैनौ नि’ भनिन् । त्यो रात उनले आफ्नो जीवनकथा सुनाइन् । बाध्यताले वेश्या बन्न पुगेको र देवीबाट गुलाबो बनेको घटना सुनाइन् । एउटा सिपाहीसित प्रेम गरेको तर पछि ती विवाहित रहेको किस्सा सुनाइन् । वेश्यालय चलाउने महिलाको जालमा कसरी फस्न पुगिन्, त्यो पनि सुनाइन् ।

अब्रार त्यसपछि फिल्मको सुटिङमा व्यस्त भए । धेरैपटक भेट्न आउने बचन दिए तर गएनन् । एकदिन फुर्सद मिलाएर गुलाबोलाई भेट्न गए । कोठाबाहिर बसिरहेकी बालिकाले आफ्नी आमा अस्पतालमा जँचाउन गएको सुनाइन् । बाबु पनि सँगै गएको र फर्कने समय भइसकेको भनिन् । एकछिनमा गुलाबो आइपुगिन् । उनले भेट्ने बाचा गर्दै नआउने गरेको गुनासो गरिन् र अर्कोपटक भेट्न आउँदा ढिलो भइसक्ने कुरो गरिन् । वास्तवमा गुलाबोलाई क्षयरोग लागेको रहेछ । त्यसको केही दिनपछि अब्रारलाई गुलाबोसँग भेट्न मन लाग्यो । उनी बस चढेर गए । बाटोमा मलामी आइरहेको देखे । लासको अनुहार ढाकिएको थिएन । उनले गुलाबोलाई चिने ।
गुलाबोसितको बिछोडले अब्रार धेरै दिन दुःखी बने । घरबाटै ननिस्किकन बसे । एकदिन गफैगफमा अब्रारले गुलाबोको कथा गुरुदत्तलाई सुनाए । गुरुदत्तले गुलाबोको जीवनीमा फिल्म निर्माण गर्ने सोच बनाए । अब्रारले कथा लेखे । दुवै मिलेर पटकथा बनाए । उनै गुलाबोको जीवनमा आधारित फिल्म बन्यो ‘प्यासा’ । र, फिल्म सिआइडीमार्फत हिन्दी चलचित्रमा प्रवेश गरेकी उनै वहिदा रहमानलाई ‘सडक बेश्या’ गुलाबो बनाएर खेल्न लगाए । ‘प्यासा’ आवश्यकभन्दा बढी गम्भीर बनेपछि संगीतकार एसडी बर्मनले फिल्म नचल्ने विचार राखे । गुरुदत्त स्वयं पनि बर्मनको कुरामा सहमत भए र कतिपय दृश्य पुनः छायांकन गर्ने निश्कर्षमा पुगे तर वहिदाले फिल्म हिट हुने विचार पोखिन् । गुरुदत्तले सानी बालिका (१८ वर्ष) ले भनेकोमा सत्यता देखे । हुन पनि ‘प्यासा’ हिन्दी फिल्मको इतिहासमा कालजयी चलचित्र सावित भयो । सोही फिल्मको छायांकनकै दौरान गुरुदत्त र वहिदा नजिकिए । गाढा प्रेममा परे । वहिदासितको विवाहेत्तर सम्बन्धकै कारण गुरुदत्तको पारिवारिक जीवन तहसनहस भयो । गुरुदत्त गीतासित सम्बन्ध बिच्छेद गरेर वहिदासित बिहे गर्न गइरहेको हल्ला बजारमा फैलिएपछि पत्नी गीता दत्त लोग्ने छाडेर माइत बस्न गइन् ।

खासमा वहिदा तेलगु फिल्ममा खेल्थिन् । १३ वर्षकै उमेरमा भरतनाट्यम सिकेकी उनको तेलगु फिल्म ‘रोजुलुमरायी’ ले दक्षिण भारतमा तहल्का मच्चाएको थियो । उनले उक्त फिल्ममा गरेको नृत्य सम्पूर्ण भारतमा चर्चाको विषय बनेको थियो । यसबीच गुरुदत्तले तेलगु फिल्म ‘मिसिअम्मा’ को हिन्दी संस्करण बनाउने सोच बनाए र कपिराइट किन्न अब्रारसँग हैदरावाद गए । उनले वहिदाको नृत्य मन पराइसकेका थिए । उनीहरु निर्माता बी. नागीरेड्डीको स्टुडियो जाँदै गए । ठीक त्यसै समय स्टुडियोको अगाडि एउटा गाडी रोकियो । गाडीबाट ४–५ जना युवती निस्केर त्यही स्टुडियोमा पसे । गुरुले तीमध्येकी एउटी युवतीलाई मन पराए । बी. नागीरेड्डीसित उनैको बारेमा सोधे । युवती उनै वहिदा रहमान रहिछन् । गुरु उनीसँग भेटेर खुशी भए । उनले मुम्बई बोलाए । गुरुले देवानन्द अभिनित सिआइडीमा सानो खलनायिकाको भूमिका दिए । फिल्म सुपरहिट भयो । दर्शकले खलनायिका कामिनीको भूमिका खेलेकी वहिदालाई अत्यन्त मन पराए । गुरुले पनि वहिदाकै कारण फिल्मले सफलता हासिल गरेको र वहिदा आफ्नो फिल्म निर्माण कम्पनीका लागि ‘लक्षण’ भएको महसुस गरे । त्यसपछि ‘प्यासा’ मा मुख्य भूमिका दिएर खेलाए । यसपछि उनले आफ्नो फिल्ममा लगातार वहिदालाई नै रोल दिए ।
वहिदा अविवाहित थिइन् । गुरु विवाहित । त्यसबेलाको सुपरहिट गायिका गीता दत्तका पति । दुई छोरा र एक छोरीका पिता । गुरु विवाहित भनी थाहा पाउँदापाउँदै वहिदाले आफूलाई रोक्न सकिनन् र प्रेम गर्न थालिन् । वहिदा अत्यन्त शालिन र भद्र युवती थिइन् । वहिदाको सोही स्वभाव र अभिनयबाट गुरु कायल थिए, उनी पनि थाहै नपाई वहिदाको प्रेममा बाँधिदै गए । तर, जब वहिदासितको सम्बन्धकै कारण गीता केटाकेटीलाई लिएर माइत बस्न गइन्, तब गुरुले गीताको अभाव महसुस गरे । प्रेमलाई सम्झे । पत्नीसित सुलह चाहे । वहिदालाई स्टुडियो प्रवेशमा बन्देज लगाइदिए । सधैंझैं स्टुडियो पुग्दा र प्रवेशमा रोक लगाउँदा वहिदाको मन पनि छियाछिया भयो । रोएर घर फर्किन् । उनले पनि गुरुसितको सम्बन्धको भविष्य देखिनन् । गुरुको घर छिन्नभिन्न भएको पनि हेर्न चाहिनन् । उनहिरुबीच धर्म पनि बाधक थियो । गुरुले धर्म परिवर्तन गरेर कहिल्यै आफूसित विवाह नगर्नेमा ढुक्क थिइन् । त्यसैले गुरुबाट टाढिँदै गइन् ।

उता गुरुले पत्नी र प्रेमिका दुवैलाई गुमाइसकेका थिए । उनको ड्रिम प्रोजेक्ट ‘कागजको फूल’ असफल भएपछि टाट पल्टिए । स्टुडियो, घर, अफिस सबै लिलाम हुने स्थितिमा पुग्यो । यस्तो अवस्थामा उनले रक्सी र निद्रा लाग्ने औषधिको सहारा लिए । दिनहुँ रक्सीमा मस्त हुन थाले । सन् १९६४ को अक्टोबर ९ मा गुरु ‘बहारें फिर भी आएगी’ फिल्म छायांकन गर्न स्टुडियोमा थिए । माला सिन्हाको कारण छायांकन रद्द भयो । गुरु भाइ देवीदत्तसित घरतिर लागे । बाटोमा उनले चंगा र माजा किने । उनी छोराछोरीसँग बिदाको दिन चंगा उडाएर रमाइलो गर्न चाहन्थे । थेरिनलाइनमा गाडी रोकेर ह्विस्की किने । घर पुग्नेबित्तिकै किचनमा पसेर अम्लेट बनाउन लागे । देवी घरबाट हिँडेपछि रक्सी खान थाले । उनी छोराछोरीलाई भेट्न चाहन्थे । खासगरी अढाई वर्षकी छोरी नीनालाई औधी माया गर्थे । उनले नीनालाई हेर्न चाहेको बताए । तर गीताले नीनालाई मात्र होइन, कसैलाई नपठाउने ठाडो जवाफ फर्काइन् । गीताको उक्त व्यवहारले उनको मनमा ठूलो चोट पुग्यो । रक्सीको साथै निद्रा लाग्ने चक्की खान थाले । नतिजा बिहान उनलाई मृत भेटियो । उनी ३९ वर्षका थिए ।
गुरुको निधनपछि गीताले एक्लो महसुस गरिन् । गुरुसित छुटेर बसेकोमा पश्चाताप गरिन् । उनी पनि रक्सीको सहारामा जिउन थालिन् । घरखर्च चलाउन गाह्रो हुँदै गएपछि पुनः गाउने प्रयास गरिन् तर रक्सीले उनको जीब्रो सुकिसकेको थियो । स्वर बिग्रिसकेको थियो । गायन क्षेत्रमा लता मंगेशकर र आशा भोंसले दिदीबहिनीले कब्जा जमाइसकेका थिए तर पनि ‘अनुभव’ फिल्ममा बलजफ्ती गाइन् । गाउँदा गाउँदै बीचैमा बेहोससमेत भइन् । स्टुडियोका मालिक बीएन शर्माले बेहोस गायिकाको अनुहारमा पानी छ्याप्दै, चिया पिलाउँदै गीत सक्न लगाए । रक्सीले गीताको कलेजो क्षतिग्रस्त भइसकेको थियो । सख्त बिरामी परिन् । ४१ वर्षको कलिलो उमेरमा सन् १९७२ को जुलाई २० मा उनको पनि निधन भयो ।

गुरुदत्तबाट टाढिएपछि वहिदाले अन्य निर्माता, निर्देशकहरुको फिल्ममा काम गर्न थालिन् । उनीबाट अभिनित धेरै चलचित्र सफल भए । ३६ वर्षको उमेरमा कम चलेका गायक कमलजितसँग सन् १९७४ मा बिहे गरिन् । दुवैले सन् १९६४ मा बनेको चलचित्र ‘सगुन’ मा सँगै काम गरेका थिए । दुवै त्यसै बेलादेखि नजिकिएका थिए तर बिहे १० वर्षपछि मात्र गरे । वहिदा एक छोरा र एक छोरीको आमा बनिन् । कमलजितको सन् २०१० मा निधन भइसकेको छ भने वहिदा यतिखेर ८२ वर्षकी भइन् ।

टिप्पणीहरू