कर्णालीका नेताको दशैं कुहियो

कर्णालीका नेताको दशैं कुहियो

नेकपामा कर्णाली प्रदेशका नेताहरू घटस्थापनापछि पनि काठमाडौंतिरै अलपत्र छन् । दिनभरि बालुवाटार र खुमलटारतिर भौंतारिँदा पनि न दुईजना अध्यक्षलाई सँगै राखेर भेट्न पाएका छन् न उहाँहरूबीच भएको बोलचाल नै सुन्न पाएका छन् । अहिले जताततै कोरोना फैलिएका कारण हिजोको दिनमा जस्तो भेटघाटको लागि खुल्ला स्थिति पनि छैन ।

अझै केहि दिन उता (कर्णाली प्रदेश) नजान अध्यक्ष तथा प्रधानमन्त्रीले दिनुभएको निर्देशनलाई लत्याउन नमिल्ने भएपछि भएभरका ती नेताको यसपालिको दशैं यतै कुहिने दिशातर्फ उन्मुख भएको हो । स्रोतका अनुसार सोमबार साँझसम्म पार्टी केन्द्रले ठोस निर्णय नगरेमा कर्णाली प्रदेश सरकारलाई मन्त्रिमण्डल पुनर्गठनको बाटो खुल्ने बताइएको छ ।

यसबीच मन्त्री बन्ने हल्ला पिटाइएका जनार्दन शर्माले पनि भेटघाटको लागि बालुवाटारले गरेको आग्रहलाई पन्छाइदिएका छन् । शनिबार भेटघाटको लागि बोलावट हुँदा शर्मा गएनन् भने यताउता कुदेर झगडा मिलाउने महासचिव पनि अर्थ मन्त्रालयमा अल्झिएपछि अब बालुवाटारको लागि छ्वाँएफ्वाँए मिलाउने मध्यस्थकर्ताको अभाव हुन थालेको छ ।

पछिल्लो घटनाक्रमले नेकपाको आगामी महाधिवेशन पनि अनिश्चित बन्दै गएको छ । तरपनि बालुवाटारले पार्टीको सबै कमिटीमा आफूहरूको बहुमत रहेको दाबी गर्न कञ्जुस्याईं नगरेको बताइन्छ । पूर्व माओवादी नेताहरूलाई आफ्नो पक्षमा पारेको कारण सचिवालय,स्थायी समिति र संसदीय दलमा आफ्नो पकड झन् बलियो बन्दै गएकोले अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई साइजमा ल्याइएको प्रधानमन्त्री निकटस्थहरूको गाईंगुईं सुनिन थालेको छ ।

टिप्पणीहरू