जात्रापर्वका लागि बाँचेका नेपाली « janaaasthanews
१८ मंसिर २०७७, बिहीबार

जात्रापर्वका लागि बाँचेका नेपाली



महाभारत युद्धपछि युधिष्ठिरले शरशय्यामा रहेका भीष्म पितामहसँग ज्ञानका कुरा सिक्ने सिलसिलामा सोधे, संसारमा आश्चर्यको कुरा के हो ? भीष्मले जवाफ दिए,

अहनि अहनि गच्छन्ति भुतानि यममन्दिरम्

शेषाजीवितुमिच्छन्ति किमाश्चर्यम्तपरम् । अर्थात् हरेक दिन एक न एक मानिस यमराजको मन्दिर गइरहेको हुन्छ, तैपनि मानिसहरू आफूलाई अनन्तकालसम्म जीवित हुनेछु भन्ठान्छन्, यसभन्दा बढी आश्चर्य संसारमा के होला ? प्रसङ्ग, कोरोना भाइरसबाट हालसम्म करीब तीन करोड ७८ लाख सङ्क्रमित र ११ लाख निधन भए पनि मानिसमा आफू सङ्क्रमित हुन्न, मर्दिन भन्ने भाव देखिन्छ ।

एकातिर मास्क लगाउने, भीडभाडमा नजाने, स्यानिटाइजर प्रयोग गर्ने भन्ने स्वास्थ्य मापदण्ड छ अर्कातिर मानिसहरू विना मास्क वा च्युँडामा लगाएर हिँडिरहेका छन् । पसलपसल चाहारिरहेका छन्, कुममा कुम जोडी नारिएका छन् । रोगै लागे तातोपानी, बेसारपानी, कागतीपानी, गुर्जाे, अदुवा खाएर निको भइहाल्छ नि भन्दै रोगसँग कती नडराई हिँडेका मानिस देख्दा आश्चर्य लाग्छ । स्वस्थ र निरोग मानिसले त जसोतसो रोग पछार्लान् तर उच्च रक्तचाप, मधुमेह, दम, मिर्गाैलाका रोगीलाई यो छुट छैन । अझ वृद्धवृद्धालाई यसले गाँजेमा कमै मात्र उम्केलान् ।

नेपाली जाति चाडबाडमै रमाउने जात हो । यसभित्रका १२५ जातिका आ–आफ्नै धर्म, संस्कृति, रहनसहन, रीतिरिवाज, जात्रापर्व, मेला आदि छन् । हिसाब गर्ने हो भने एक न एक जातिको सालाखाला दिनहुँजसो एक न एक चाड परेकै हुन्छ । नीरस दिनहरू काट्न गाह्रो पनि हुन्छ । त्यसैले जात्रामात्रामा रमाएर जीवन बिताउने नेपालीको धर्म नै हो । नयाँ वर्षदेखि घोडेजात्रासम्मका दिनको रौनकले मानिसको फूर्ति नै अर्काे हुने क्या !
घरपरिवारको आर्थिक अवस्था, देशको अर्थतन्त्रसँग उसलाई मतलब भएन । भोजभतेर, नयाँ र राम्रा पहिरन, घरआँगन, सडकतिर लिपपोत र सरसफाइ गर्नैपर्‍यो । खर्च गर्नैपर्‍यो । नभए ऋण गर्‍यो, रमाइलो गर्‍यो ।
आफू टन्न खाने, पाहुनालाई पनि टन्न ख्वाउने नेपालीको संस्कार नै भइहाल्यो । नयाँ वर्ष, आमाखुवाउने औँशी, उँधौली, जुडशीतल, जानकी नवमी, बौद्धपूर्णिमा, भोटोजात्रा, असार १५, साउने सङ्क्रान्ति, साउन १५, मधुश्रावणी, जनैपूर्णिमा(राखी), गाईजात्रा, बाबु खुवाउने औँशी, जितिया, सोह्रश्राद्ध, विश्वकर्मा जयन्ती, दशैँतिहार, सामाचकेवा, छठ, इन्द्रजात्रा, इद, इदउलफित्र, रमजान, क्रिसमस, विवाहपञ्चमी, न्वागी, धातृनवमी, यःमरी पुन्ही, पुस १५, माघेसङ्क्रान्ति (तिला सङ्क्रान्ति), माघी, मकर सकराती, माघी), तमु ल्होसार, सोनाम ल्होसार, ग्याल्पो ल्होसार, उँभौली, चण्डीपूर्णिमा, धाननाच, फागुपूर्णिमा, चैतेदशैँ, रामनवमी कति हो कति ! कतै खड्गजात्रा त कतै बाँदरनाच, कतै धानरोपाइँ त कतै भगवतीजात्रा, कतै गणेशरथ यात्रा त कतै सिकाली जात्रा, कतै नरबलि त कतै बाख्राको पाठा निमोठ्याइ । कतै गोरुजात्रा त कतै भक्कु । निरीह पशुलाई बध गरेर, दुःख दिएर मनाउने जात्राको चलन नेपालमा मात्र होइन, विश्वमै चलेको छ । यसमा नेपालीलाई मात्र के भन्नू ?

अँ त नेपालीले ज्वरो, रुघाखोकी हाछ्युँ गरेरै धपाइदिन्छन् । अलिकति वासः चढाइदिएपछि त्यस्ता मौसमी रोग कता भाग्छन् कता । चाडपर्व, जात्रा, मेला भनेपछि हनहनी ज्वरो आए पनि कुदेर पुग्ने जात हो नेपाली । पूर्वको मान्छे पश्चिम र उत्तरको मान्छे दक्षिण पनि पुगिरहेको हुन्छ । त्यसैले नेपालीले हुलमुल गर्‍यो, भीडभाड गर्‍यो भनेर नकराए पनि हुन्छ । बस, मिनीबस, ट्रक, मिनीट्रकमा पनि खाँदिएर, गुन्द्रुक झैँ कोचिएर हिँडेकै हो, जुलूस धर्ना दिएकै हो । अझै पनि कुलमान र गोविन्द केसीका लागि मर्नै परे पनि तयार हुल देखिएकै हो ।
जीवनलाई ख्यालख्याल सम्झेर आवेगमा आई ज्यान फाल्नेहरू कति आए यस धर्तीमा । हरेक दिन पाँच हजारसम्म पोजिटिभ भेटिएका छन्, पन्ध्र जनासम्म दैनिक बितेका छन् । तैपनि जात्रामात्रा, चाडपर्वका लागि ज्यान दिन तयार हुनेको साहसलाई मान्नैपर्छ बा ! धर्तीमा अमर मान्छेहरू पनि चाहिन्छ जसले आफ्ना युगौँका अनुभव पछिल्ला सन्ततिलाई सुनाउन सकून् ।

[email protected]


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

कम्युनिष्टको झगडा र कांग्रेसको रणनीति
नेकपा लिग अफ नेशन्सको बाटोमा पुग्न लागेकै हो ?
ओली आउने भनेर गएका, राजावादीले समेत जोरी खोजेका
नेकपाको राजनीति र कुहिराको काग