राष्ट्र बैंकको भनाई र गराईमा फरक किन ?

राष्ट्र बैंकको भनाई र गराईमा फरक किन ?

कोरोना महामारी र सङ्क्रमणको उच्च जोखिम देखाउँदै नेपाल राष्ट्र बैंकले गत सोमबार यो वर्ष नयाँ नोट सटही नगर्ने सूचना जारी गरे पनि आफ्ना कर्मचारीको हकमा भने खुसुखुसु बितरण जारी छ । दशैंको मुखमा पहिले झैँ यो वर्ष पनि नयाँ नोट सटही गर्नेको भीड हुने सम्भावनालाई रोक्न बैंकले उक्त निर्णय गरेको बताइएको थियो । लगत्तै बैंकका अधिकांश अधिकृत तथा कर्मचारीले उक्त सूचनालाई सामाजिक सञ्जालमा पोष्ट गरेर कोरोना भाइरसको अगाडि ‘भाइरल’  बनाइदिएका थिए ।

सङ्क्रमणको सम्भावनालाई दृष्टिगत गर्दै सर्वसाधारणले उक्त कार्यको सह्राना गरे । सर्वत्र नयाँ नोटको चासो राख्नेहरू सूचनापछि एकाएक सेलाए । तर,सर्वसाधारण सेलाएको मौका छोपेर बैंकले आफ्ना कर्मचारीलाई भने बुधबारदेखि प्रति कर्मचारी ३७ हजार रूपैयाँ बराबरको नयाँ नोट सटही गरेको छ ।

मुद्रा व्यवस्थापन विभागका अनुसार अनौपचारिक रूपमा केन्द्रीय कार्यालयका प्रत्येक विभाग,कार्यालय र महाशाखालाई पालैपालो आफ्ना कर्मचारी संख्या बराबर ३७ हजार बराबरको नयाँ नोट वितरण गर्ने पालो लगाइएको छ । उक्त व्यवस्था काठमाडौं बाहिरका आठवटै कार्यालयमा पनि लागू गरिएको छ । ३७ हजार रूपैयाँमा १ सय,५०,२०,१० र ५ दरका २ प्याकेट नोट दिने नीतिअनुरूप बुधबारदेखि आफ्ना कर्मचारीलाई मात्र नोट वितरण गरेको एकजना निर्देशकले जनआस्थालाई बताए ।

यसरी सर्वसाधारणलाई रोक लगाएर आफ्ना कर्मचारीमार्फत् नोट वितरण गर्दा समाजमा पहुँच भएका र नभएका दुई वर्ग देखिएको छ । महामारीमा समेत भित्रभित्रै नयाँ नोट वितरण गरेपछि सर्वसाधारणले आफूलाई कोरोनाबाट जोगिएको महसूस गरेपनि केन्द्रीय बैंकको पनपच्छेपूर्ण व्यवहारबाट ठेस पुगेको गुनासो सुनिन्छ।

सर्वसाधारणलाई रोक लगाएर आफ्ना कर्मचारीमार्फत् नोट वितरण गर्दा समाजमा पहुँच भएका र नभएका दुई वर्ग देखिएको छ ।

‘जो भान्छे,उसैले खान्छे’ भनेझैँ कोरोना महामारीका कारण यो वर्ष दशैं,तिहार,छठलगायतका चाडपर्व उल्लासमय वातावरणमा मनाउने वातावरण छैन । सर्वसाधारण आफ्नो घर,कोठा र निश्चित सीमामा खुम्चिएका छन् । तर, केन्द्रीय बैंकले एकातिर सङ्क्रमणलाई ध्यानमा राखेर सर्वसाधारणलाई आफ्नो वरिपरी नआउन सूचना जारी गर्दै त्यहि मौकामा झण्डै १२ सय जना कर्मचारीलाई नोट सटही गर्दा सङ्क्रमणको सम्भावना नरहेको  जिकिरमा कुनै दम नदेखिएको  बताइन्छ ।

बैंकमा हिजोसम्म झण्डै १ सय जना कर्मचारी र त्यति नै संख्यामा तिनका परिवार सङ्क्रमित भइसकेका छन् । त्यस्तो अवस्थामा त्यहिँ भित्रका १२ सय जना कर्मचारीलाई नयाँ नोट वितरण गर्दा कोरोना सङ्क्रमणको सम्भावना हुँदैन भन्नु ‘मनको लड्डु घिऊसँग खानु’ बराबर हो । यसबीच सङ्क्रमणको त्रासले अधिकांश कर्मचारीको दुई र आधाभन्दा बढीको चार पटकसम्म पीसीआर परीक्षण गरिएको छ । परीक्षणलगायतमा ९० लाख रूपैयाँभन्दा बढी खर्च भैसकेको छ ।

मुद्रा व्यवस्थापन विभागका एकजना सहायक निर्देशक भन्छन् ‘बहालरत कर्मचारीबाट सङ्क्रमण फैलनसक्ने सम्भावना झन् बढी देखियो । बहालरतमध्ये काठमाडौंमा रहेका झण्डै १ हजार जनाले नोट सटहीको लागि आवश्यक पर्ने रकम नजिकैको माछापुच्छ्रे वा नेपाल इन्भेष्टमेण्ट बैंकको काउण्टर र तिनका एटीएमबाट झिकेर ल्याउँदा त्यता पनि सङ्क्रमणको सम्भावना बढायो ।’ राष्ट्र बैंकका कर्मचारीको तलबी खाता माछापुच्छ्रे र इन्भेष्टमेण्ट बैंकमा रहेको छ ।

उनी भन्छन् ‘उच्च जोखिम मोलेर माछापुच्छ्रे वा नेपाल इन्भेष्टमेण्ट बैंकको काउण्टर र तिनका एटीएमबाट झिकेर ल्याउँदा ती कर्मचारीबाट पुनः राष्ट्र बैंकको मुद्रा व्यवस्थापनका साथै अन्यत्रसमेत सङ्क्रमण फैलनसक्ने खतरा बढेको छ ।’ तर,बैंकले आफ्ना बृद्ध उमेरका सेवानिवृत्त कर्मचारीलाई भने पेन्सन बुझ्न बैंकको काउण्टरमै बोलाए पनि एक प्याकेट नयाँ नोटसमेत नदिएको एकजना पूर्व गभर्नरले बताए ।

उनी भन्छन् ‘जनताप्रति जिम्मेवार हुने हो भने सूचनाबमोजिम यो वर्ष कसैलाई पनि नयाँ नोट वितरण गर्नुहुँदैनथ्यो । तर,गैरजिम्मेवार भएपछि कसको के लाग्छ ?’ गत साताको सूचना गभर्नर महाप्रसाद अधिकारीको जानकारीपछि मात्र सार्वजनिक गरिएको थियो । तर, अहिले त्यहि सूचनाको बर्खिलाप हुनेगरी आन्तरिक रूपमा नयाँ नोट वितरण गरिएको खबरले केन्द्रीय बैंकको नैतिकता र प्रतिष्ठामै धक्का लागेको छ । पूर्व गभर्नर भन्छन् ‘बैंकको नैतिकता र प्रतिष्ठा भनेको बहालरत गभर्नरको नैतिकता र प्रतिष्ठासँग जोडिएको विषय हो ।’

सर्वसाधारणलाई नयाँ नोट सटही नगर्ने सूचना जारी आएपछि बैंक आफूले पनि त्यसको पालना गर्नुपर्ने आवाजसमेत केही कर्मचारीले उठाएका थिए । तर,केन्द्रीय बैंकमा सेवा गरेको नाताले आफूहरूलाई सर्वसाधारणको कोटामा राख्न नहुने आवाज उठाउनेहरूको संख्या अत्यधिक रहेको स्रोतको दाबी छ । राष्ट्र बैंकको पछिल्लो व्यवहार र आचरणले उनीहरूले आफूलाई सर्वसाधारणभन्दा माथिको ‘सम्भ्रान्त वर्ग’ वा ‘उच्च कोटी’ को नागरिकमा राखेको अर्थ लागेको छ ।

टिप्पणीहरू