हिरासतमा जस्ता प्रहरी भेटिन्छन् « janaaasthanews
१३ कार्तिक २०७७, बिहीबार

हिरासतमा जस्ता प्रहरी भेटिन्छन्



भदौ २३ गते राति कतिबेला हो रुपनी, सप्तरी पुग्दा नै कोशी नदीको चिसो हावा आएको थियो । प्रहरीहरुले पिसाब फेर्न पनि दिएनन् । अदालत जाँदा दुईवटा एसएलआर, अश्रुग्याँसका लोला, सटगन, सानो पेस्तोल, लठ्ठीसहित १० जना खटिन्थे । अहिले चार जना मात्र भएका कारण लगलगी कामिरहेका हुँदा हुन् । निजी प्लेट भएको स्कोर्पियोमा चोर बाटो हुँदै ढल्केबरपूर्व सायद हरिहरपुर निस्केर बाटो लागेका थिए ।

कोशीबाँध पुग्नासाथ पारिपट्टि बाँधको मुखमा थारुहरुले ढडिया थापेझैं सुनसरी प्रहरीको भ्यान बसेको रहेछ । दुईवटा प्रहरी टोली, भारत र नेपालका प्रहरी र कर्मचारी, स्थानीय देखिन्थे । रातको १० बजिसकेको । सवारीसाधनबाट झर्नासाथ बीचैबाट ‘ल खा’ भनेर पिसाब फेरिदिएँ । केही वर्षअघि आधुनिक सभ्यतालाई गिज्याउँदै वादी समुदायका महिलाले माइतीघर मण्डलामा अर्धनग्न प्रदर्शन गरेका थिए । मैले पूरै प्रदर्शन गरिदिएँ– कोशीबाँधतिर फर्केर । हाम्रो माटोमा सिञ्चाइ नगर्ने, विनाशमात्र गर्ने कोशीको सम्मान नै किन गर्नु ! मलाई लिएर आएका धनुषाका ‘आरनमा पोल्दापोल्दै उफ्रेर निस्केकाजस्ता, छाला र संस्कार दुवै काला भएका प्रहरी रातको अँध्यारोमा भूतप्रेतजस्ता देखिए । सुनसरीको भ्यानले इनरुवातिर लिएर गयो । इनरुवा जिप्रकामा धरान इप्रकाको भ्यान आएर बसेको रहेछ । हिजो धनुषामा गाँजाको चर्को दुर्गन्ध र लामखुट्टेको टोकाइले निद्रा लागेको थिएन । यतातिर चिसो चिसो भयो र निद्रा लाग्यो । धरान इप्रका पुग्दा रातको १२ बजेको थियो ।

चितवनबाट हिँड्दा मसँग भएका पाँचवटा औषधिका झोला घटेर तीनवटा भएका थिए । झोलाको औषधि हेर्दै ‘कामरेडहरु सबै बिरामी पो आउँछ, कसरी क्रान्ति गर्छ हौ !’ भन्दै एकजना हवल्दारले सेनिटाइजर दिए । राति १ बजे नयाँ बन्दै गरेको कोठा हतारपतार सफा गरेर खटमा प्लास्टिकको गुन्द्री राखिदिएका रहेछन् ।

बिहानपख निदाएछु । कोतगार्डले मर्‍यो कि भनेर होला, चर्को स्वरले बोलाएपछि ब्युँझिएँ । नुहाइधुवाइ गरें । झोला आज भने आफैंसँग थियो । इप्रकाको होटल कोरोना संक्रमणको कारण बन्द रहेछ । कोतगार्डले तातोपानी ल्याइदिए । २ नम्बर प्रदेशको लोकतन्त्रले तातोपानी पनि दिएको थिएन । औषधि र आफ्नो झोलाको तयारी खानेकुरा खान पनि तिनीहरु आफ्नै बराजुको ढुकुटी रित्तेलाजस्तो गर्थे । आज कागती, तातोपानी, अ‍ोली ब्रान्डेड कोरोना दबाइ (बेसार, पानी) खाएँ । बिहान ८ बजेतिर प्रहरी निरीक्षक आए । बीसी सरलाई अस्पताल भर्ना गरेका छौं । तपाईं आउने थाहा भएपछि हतारहतार तयार गरेको भन्दै थिए । चर्पी टाढा भएकाले पिसाब फेर्न पानीका बोतल राखिदिए । कोठामा पानी जमेको थियो । केही घण्टापछि डीएसपी र इन्स्पेक्टरले परैबाट अभिवादन गरे । आफ्नो हिरासत देशमै नमूना भएको, राजनीतिक र भीआईपी थुनुवालाई अरुबाट अलग राख्ने गरी नयाँ भवन बनाएको बताए । बिरामी र अपांगमैत्री थुनुवा घर अझ प्राथमिकतामा पर्नुपर्ने विषय भने उनीहरुको दिमागमा देखिन्नथ्यो । उनीहरुले व्यावहारिक कुरा गरे । इण्डियाका लाहुरेले उहिले उहिले गाउँमा बोक्नेजस्तै रेडियो थियो । इन्स्पेक्टरले ब्याट्री ल्याइदिए । त्यसपछि खाना खाइयो । खाना धनुषाको भन्दा बीसको उन्नाइस मात्र भए पनि सफा थियो । खाना ल्याउने महिला प्रहरी पनि सफा भएकाले खान दिगमिग भएन । धनुषामा मान्छे नै फोहोरी थिए । असभ्य शासक थिए ।

‘अवकाश भएपछि उपदेश दिने डीआइजी र आइजिपीले बहाल रहँदा के गरे ? आफू घुस खाएर मोटाउने, हाम्रो भत्ता काट्ने, मन्त्री खुसी पार्ने, हामीलाई मार्ने… का छोराहरु’ भनिरहन्थे ।

बिहान ११ बजेतिर म्याद थप्न अदालततिर लगे । अदालत जानुपूर्व सरकारी वकिलको कार्यालय गइयो । ती बलराम तिमिल्सिनाका साथी रहेछन् । न्यौपानेले कवि बलरामको सामाजिक सञ्जालमा मेरो टिप्पणी हिजो हेरेको हुनाले छलफल गरे । ‘हामीले सहानुभूति राख्ने भनेको प्रक्रिया छिटो गरिदिने हो, अरु केही गर्न सकिन्न’ भन्दै थिए । त्यहाँबाट जिल्ला अदालत गइयो । पुग्नासाथ एकजना महिलाले नमस्कार गर्दै ‘अनिल सर, म अधिवक्ता कला त्रिताल’ भनिन् । मैले बन्दीहरुको समाचार बनाउन धेरैपटक सम्पर्क गरेको थिएँ । पहिलो भेट भए पनि धेरै पुरानो चिनारी भएझैं लाग्दै थियो । अर्को साथी पनि आउनुभएको छ, बाहिर हुनुहुन्छ भनेपछि थाहा भयो । उनीहरुसँग राजनीतिक र कानुनी कुरा भए । कलाको फोनबाट शोभासँग कुराकानी भयो । अविरल आज नै सर्वोच्च अदालतमा रिट दायर गर्न गएको कुरा कलाले भनिसक्नुभएको थियो । अम्बिका, इन्द्र रेग्मी, खेम, रसुवाली कवि, बलराम थुप्रैले सामाजिक सञ्जालमा सरकारी कदमको विरोध गरेका रहेछन् । पूर्वी नेपालमा पनि युवाले रिहाइको माग गरेको विराटनगरकै साथीबाट थाहा भयो ।

बीसी र मलाई एकैदिन मुद्दा टुंगो लगाउने गरी १४ दिन म्याद थप गरिएछ । फापरको रोटी खाजा खाइयो । कलाले बिरामीअनुसार खाना र उपचार गराउन आदेश गराएपछि फर्किन लाग्यौं । थर्मस, गिलास ल्याइदिए । तयारी खानेकुरा र औषधि थियो । कलाले लुगाहरु छ कि छैन सोध्नुभयो । प्रहरीले हाकिम र नेतालाई आमाचकारी गाली गरिरहन्थे । ‘अवकाश भएपछि उपदेश दिने डीआइजी र आइजिपीले बहाल रहँदा के गरे ? …का छोराहरु ! आफू घुस खाएर मोटाउने, हाम्रो भत्ता काट्ने, मन्त्री खुसी पार्ने, हामीलाई मार्ने… का छोराहरु’ भनिरहन्थे ।

धरान इप्रका आउनासाथ इन्स्पेक्टरले मेरो शारीरिक समस्याबारे सोधे । मैले भात नखाइकन फालिदिएको देखेका र आज न्यायाधीशको आदेशसमेत मनन गरेर होला, रोटीको व्यवस्था गरिदिए । धनुषाको भन्दा सुनसरीको जनसंख्या बढी छ तर थुनुवा धनुषामा १० गुणा बढी देखिन्छ । भीडभाड ज्यादै र प्रहरीहरु १८ घण्टासमम दैनिक काम गर्नुपर्दा कोरोना साम्य हुनासाथ जागिर नखाने बताउँछन् । उनीहरु दिक्दारी, झर्कोफर्को, तनाव, कुण्ठा, आक्रोशको भूमरीमा छन् । सुविधाको अभाव, हाकिम र जनता दुवैतिरबाट अपमान, पारिवारिक वातावरणको अभाव, पेन्सन अवधि बढ्नु र भत्ता कटौतीले अधिकांश प्रहरी जवान र हवल्दार मानसिक रोगीको अवस्थामा छन् । दुई नम्बर प्रदेशमा धेरै भए पनि धरान र चितवनको स्थिति कम थिएन ।

अबेर खाना खाएँ । खाना कुपोषणको कारखानाजस्तो थियो । प्रहरी जवान सबैले त्यही खान्छन् भन्थे तर सफा र शिष्टता भने थियो । धनुषाका प्रहरी ‘हवल्दार र जवान मान्छे हो र’ भन्थे तर थुनुवाप्रति उनीहरु पनि जंगली व्यवहार गर्थे । धरानमा त्यस्तो भएको छैन । आर्थिक दुरावस्थाले साँस्कृतिक पतनलाई गहिरो पार्दै लग्छ । २ नम्बर प्रदेशका मुठीभर ठालुमा सामन्ती चिन्तन र आमसमुदाय दास अवस्थामा छन् । एउटालाई छपाछप काट्दा अर्को उग्राइरहन्छ । त्यही पशुचेत समाजमा छ । यद्यपि यो दलाल पुँजीवादी समाजको प्रतिनिधि चरित्र नै हो ।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

किस्सा नेपाल-भारत सम्बन्धको
गृहमन्त्री सिँहदरवारमा, गृह मन्त्रालय बालुवाटारमा ?
मन्त्री अझै ओछ्यानमा
प्रदेशलाई आदेश दिँदै प्रधानमन्त्री