लाश चिरेको दुई सय पाउने लक्ष्मी

लाश चिरेको दुई सय पाउने लक्ष्मी

बेनी अस्पतालको शवगृहमा जब स–साना बालबालिकाको शव चिर्नुपर्छ, तब म पनि त आमा हुँँ नि, मन कटक्क खान्छ । मृतकका आफन्त पीडाले छट्पटिँदै रुने, कराउने गर्दा भित्र आफूले शव चिर्नु कठिन हुन्छ । काम गर्नुपूर्व र काम गरेपछि मन त कुँडिन्छ नै ! तैपनि आफ्नो जिम्मेवारी नै त्यही भएकाले गर्नैपर्छ । यो कुनै चलचित्र वा एकादेशको कथा नभई बेनी अस्पतालको शवगृहमा पोष्टमार्टम सहयोगी लक्ष्मी किसानको यथार्थ हो । ‘सडिसकेका शव पनि आएका हुन्छन्, तैपनि जिम्मेवारी त पूरा गर्नैपर्‍यो नि हैन र ?’

शव चिरेर अदालत, प्रहरी र डाक्टरले खोज्ने रिपोर्टमा उल्लेख गर्ने विषयवस्तु दुरुस्तसँग निकाल्ने जिम्मेवारी छ लक्ष्मीको । सबैले लक्ष्मी सिस्टर भन्ने उहाँ बेनी अस्पतालमा ०६२ सालदेखि कार्यालय सहयोगीका रूपमा कार्यरत हुनुहुन्छ । बागलुङ नगरपालिका–३ की लक्ष्मीका श्रीमान्ले ०५७ देखि बेनी अस्पतालमै पोष्टमार्टममा काम गर्ने गरे पनि ०६२ मा श्रीमानले छाडेपछि लक्ष्मीले सोही काम थाल्नुभएको हो । एउटा छोरी अहिले बेनीमै १२ कक्षा पढ्छिन् भने छोरा कक्षा ४ मा पढ्छन् । बागलुङबाट बेनी आएर कार्यालय सहयोगीको रूपमा कार्यरत लक्ष्मीको १५ वर्ष बेनी अस्पतालमा शव पोष्टमार्टम गरेरै बित्यो ।

कुनै घटना वा दुर्घटना हुन्छ, कसैले आत्महत्या गर्लान् वा भवितव्यमै कसैको ज्यान जाला, उनीहरूको मृत्युको कारण खुल्न नसकेपछि घटनास्थलमा प्रहरी पुग्छ । मृत शरीरलाई ल्याएर बेनी अस्पतालको शवगृहमा राखेपछि खोजी हुने नाम हो लक्ष्मी सिस्टर । प्रहरीको पत्रसहित आउने टोली र मृतकका आफन्तले खोजी गर्छन् लक्ष्मी सिस्टरलाई ।

बेनी अस्पतालका मेडिकल अधिकृत डाक्टर सागर लामिछाने भन्नुहुन्छ, ‘म बेनी आएपछिको एक वर्षमा १९ वटा पोष्टमार्टम गर्दा कुनै पनि शवको म्यानेज गर्ने, अंग चिरफार गर्ने, ‘ह्याण्डल’ गर्नेजस्ता सबै काममा उहाँले विमति जनाउनु भएन । आफ्नो काम गर्न निडर, कर्तव्य र जिम्मेवारीमा निकै वफादार हुनुहुन्छ लक्ष्मी दिदी ।’
‘कुनै काम र कुनै पनि समयमा गर्दिनँ नभन्नु नै लक्ष्मीको सबल पक्ष हो, मध्यरात होस् वा बिहान, साँझ र दिउँसो लक्ष्मीले देखेका र भनेका काम सबै गर्छिन्’, बेनी अस्पताल व्यवस्थापन समितिका अध्यक्ष बेलबहादुर कटुवालले भन्नुभयो । पोष्टमार्टम गर्न आएका शव चिर्नु, बाथरुम तथा ट्वाइलेट सरसफाइको नेतृत्व लक्ष्मीकै हो ।

म्याग्दी जिल्ला अस्पताल १५ बेडबाट ५० बेड क्षमतामा स्तरोन्नति हुँदै आफ्नो नाम फेरेर बेनी अस्पताल भयो, कच्ची भवन पक्की बन्ने अन्तिम तयारीमा छन् तर १५ वर्षदेखि निरन्तर लक्ष्मीको जिम्मेवारी उही र भूमिका अब्बल नै छ । लक्ष्मी भन्नुहुन्छ, ‘पहिलाभन्दा धेरै डाक्टर हुनुभयो, कर्मचारी पनि धेरै छन्, मैले पनि एक वर्षमा १३०–१३५ लासको पोष्टमार्टम गर्ने काममा सहयोगी भूमिका गरेको छु, मलाई प्रतिलास दुई सय रुपैयाँमा कर काटेर आउँछ ।’ शुरुमा त गाह्रै भयो, कुनै तालिम लिएको होइन, डाक्टरहरूले भनेअनुसार काम गर्दै जाँदा सिकेको हुँ’, लक्ष्मीले भन्नुभयो ।

टिप्पणीहरू