कोरोनाको नाममा ५४ करोड खर्च

कोरोना भाइरस संक्रमण यता स्थानीय सरकारले गरेका प्रयासप्रति नागरिकको असन्तुष्टि चुलिँदो छ । तर, संक्रमण नियन्त्रणको नाममा चार महिनामा मात्र यहाँका १० स्थानीय तहले झण्डै ५४ करोड रकम खर्च गरेका छन् । केन्द्र सरकारले कोरोना संक्रमण नियन्त्रणको नाममा गरेको हिसाब सार्वजनिक गर्न माग भइरहे पनि स्थानीय सरकारले गरेको खर्चको विषयमा भने कसैले चु नबोल्ने गरेकाले पनि यसको पारदर्शितामा संसय भने व्यक्त गर्ने गरिएको छ ।

२०७६ चैतदेखि २०७७ असारसम्ममा यहाँका स्थानीय तहहरुले राहत, स्वास्थ्य सामग्री, क्वारेन्टिन व्यवस्थापनदेखि यातायात र अतिक्ति भत्तामा ५३ करोड ९२ लाख छ हजार सात सय ११ रुपैयाँ खर्च गरेका छन् । क्वारेन्टाइन सञ्चालनको बेला गुणस्तरहीन खाना र बस्ने व्यवस्था गरेको गुनासो आइरहे पनि यो शीर्षकका समेत ठूलो रकम खर्च भएको देखिन्छ । संक्रमण नियन्त्रणको नाममा सबैभन्दा बढी खर्च इलाम नगरपालिकाले गरेको देखिन्छ । अहिलेसम्म ५७ जना संक्रमित देखिएको इलाम नगरपालिकाले चार महिनामा मात्र ७६ लाख पाँच हजार छ सय २१ रुपैयाँ खर्च गरेको छ । इलाम नगरपालिकाले लकडाउनको अवधिमा २५ सय ५६ घरधुरीलाई राहत वितरण गरेको छ । सबैभन्दा बढी घरधुरीलाई राहत वितरण गरेको पनि देखिन्छ । त्यसपछि हालसम्म १५ जना संक्रमित देखिएको सुर्योदय नगरपालिकाले दोस्रो बढी ७५ लाख ६६ हजार ७०८ रुपैयाँ खर्च गरेको छ ।
सबैभन्दा थोरै खर्च भने फाकफोक थुम गाउँपालिकाले गरेको देखिन्छ । सो पालिकाले २६ लाख ८६ हजार ५४९ रुपैयाँ खर्च गरेको छ । तर क्वारेन्टाइनको बेड संख्या एक सय तीन वटा मात्र छ भने चार महिनामा यति रकम खर्च गरेको पालिकामा भने छ महिनासम्ममा पनि ४० जना मात्र क्वारेन्टाइनमा बसेको देखिन्छ ।

यो गाउँपालिकामा हालसम्म एकै जना पनि संक्रमित छैनन् । छ जना संक्रमित देखिएको माइ नगरपालिकाले भने ६७ लाख तीन हजार ३० रुपैयाँ खर्च गरेको देखिन्छ । यसरीनै माइजोगमाई गाउँपालिकाले २८ लाख ९२ हजार ६१० रुपैयाँ खर्च गरेको छ । तीन जना संक्रमित देखिएको रोङ गाउँपालिकाले ४५ लाख ९८ हजार २४० रुपैयाँ खर्च गरेको देखिन्छ । एक जना संक्रमित देखिएको चुलाचुली गाउँपालिकाले ५४ लाख ४२ हजार रुपैयाँ खर्च गरेको छ । आठ जना संक्रमित देखिएको सन्दकपुर गाउँपालिकाले ४७ लाख ३७ हजार ६५४ रुपैयाँ खर्च गरेको छ । चार जना संक्रमित देखिएको देउमाइ नगरपालिकाले भने ५८ लाख ४७ हजार ६५३ रुपैयाँ खर्च गरेको छ । देउमाईले २५ बेडको क्वारेन्टाइन निर्माण गरेको छ ।

इलामका १० स्थानीय तहहरुले लकडाउनको समयमा ११ हजार सात २६ परिवारलाई राहत वितरण गरेको थियो ।

टिप्पणीहरू