बालखैमा बिहेबारी, जीवन मरितरी

छोरी बबिताले बाबु आमाको ईच्छा विपरीत दलित केटासँग(परियार) प्रेम बिबाह गरेपछि दुबईमा रहेका बेसीसहर नगरपालिका – २ नरुबलका मुराली राना विक्षिप्त बने । निकै पुल्पुलाएर कुनै कुराको कमी महसुस नगराएका राना छोरीले दमाई केटो समातेर हिँडेपछि दुबई बाट नेपाल फर्के । छोरी हराएको भन्दै जिप्रका लमजुङमा उजुरी गरे । उजुरी गरेको गरेको हप्तादिन मै केटाकेटी चितवनको कंगारु होटलमा फेला परे । प्रहरीको सहयोगमा लमजुङ ल्याइए । ललाइफकाई केटाले भगाए भनेर थप उजुरी गरे । भकुण्डेको बालकल्याण मा.विमा सँगै पढ्ने केटाकेटी को उमेर १८ भन्दा कमै थियो । उजुरीमा जे भनिए पनि केटीले मन्जुरीमा हिँडेको भनेपछि केटालाई हप्काईदप्काई अलग गराइयो । अलग गराएको ३ महिनापनि नपुग्दै बबिता उही केटासँग हिँडिन् । घटना गत फागुनको थियो ।

सुन्दरबजार नगरपालिका – ८ की शशीकला अधिकारी १६ वर्षकै उमेरमा कक्षा १० मा पढ्दै गर्दा सीताराम सुनारसंग हिँडिन् । बाहुन, त्यही पनि पण्डित परिवारकी शशीकला कामीसँग भागेपछि बाउ पागलजस्तै बने । शिक्षक मात्र हैनन कम्युनिस्ट भनी चिनिएका बाहुन परिवारले छुट्याउन अनेक तिक्डम गरे । माओवादी गुहारे । सीताराम इन्डिया गएको मौका छोपी छोराछोरी जन्माएकी शशीलाई छुटाएर काठमाडौंको बानियाँसंग विवाह पनि गराइदिए तर ५/६ महिनापछि शशी पहिलेकै लोग्नेसँग आइपुगिन् ।

बेसीशहर मकैडाँडाकी लगभग १७ वर्षकी रिमाल केटीलाई १९ वर्षीय सोमराज परियारले भगाए । लकडाउनको समय भएकोले अन्यत्र जाने कुरा भएन । सोमराजले आफ्नै घर बेसीसहर – १० लगे । रमाइलो गरे आफन्त बोलाएर भोजपनि लगाए । दुर्भाग्य नयाँ बेहुलीसँग हप्ता दिनपनि नपुग्दै प्रहरीको हिरासतमा बालविबाहको आरोपमा पुगे । ललाइफकाईमा बालविवाह भनी मुद्दा दर्ता भयो । प्रहरीले सकेसम्म मुद्दा दर्ता नगरी बाहिरै मिलाउने पक्षमा थिए । उनीहरूलाई थाहा थियो यो दलित गैरदलित बीचको लफडा भन्ने । अदालतबाट केटा ५० हजार धरौटीमा छुटे। केटीलाई रिमाल परिवारले छुटाएर लगे।

जब दलित र गैरदलितबीच प्रेम र विवाहको कुरा हुन्छ, विवाहबारी बीस वर्ष पारी भन्दै बालविवाहमा मुद्दा चलाइन्छ ।‌ तर, यही जिल्लामा किशोरी आमा बन्नेहरुको तथ्याङ्क भने बग्रेल्ती पाइन्छ । जसरी अस्पतालमा गर्भपतन गराउन आउने अधिकांश २० वर्ष मुनिका युवतीहरु छन् त्यसरी वैधानिक बच्चा जन्माउने किशोरी आमाहरु २० वर्षमुनिकै छन्  । २० वर्षभन्दा कम उमेरमा गर्भवती भएका किशोरीहरूको विवाह भने १५ देखि १८ वर्षमा भएको जिल्ला सामुदायिक अस्पताल बेसिशहरको अनुमान छ ।

जिल्लामा बालविवाह गर्नेहरूको यकिन तथ्यांक भने छैन । तर अस्पतालमा प्रसूति सेवाका लागि आउने केही महिला १४ वर्षका युवतीहरु समेत रहेको पाइएको छ ।

लमजुङ जिल्ला सामुदायिक अस्पताल बेसिशहर को एक तथ्याङ्क अनुसार ०७६/७७ मा १ हजार १ सय २३ जना महिला आमा बनेका छन् । जसमा १ सय ७१ जना १८ वर्ष पनि नकाएका  किशोरी छन् । अझ रोचक र ८१ जना किशोरी हरु ले यही अस्पतालमा २ पटक प्रसूति सेवा लिएको देखिन्छ । २० वर्ष उमेर समूहका ५ सयको हाराहारीमा छन् । बाँकी २५ नकाटेका देखिन्छन् ।

आ.व ०७५/७६ मा यो तथ्याङ्क अलि कम थियो । कुल १ हजार ११ जना महिलाले आमा बनेकामा १ सय ८३ जना अर्थात् १९ प्रतिशत महिला २० वर्षमुनिका छन । जसमा १६ वर्ष पूरा भएका तर १७ नलागेकाहरु ३६ जना थिए । भने १८ वर्ष उमेर समूहका भने ३५२ थिए । बाँकी १९ र २० कै अवधिका ।  यो तथ्याङ्क आ.व ०७४/७५  भने अलि बढी देखिएको छ । १ हजार ३ सय २२ जना सुत्केरी बनेका मध्ये ३ सय ६३ जना १९ वर्ष ३ महिनाका देखिएका छन् । ७१ जना १८ वर्ष उमेर का छन् भने  १५ वर्षमा बच्चा जन्माउने ४ जना देखिएको छ ।

जिल्ला स्वास्थ्य कार्यालय र लमजुङ जिल्ला सामुदायिक अस्पतालले मातृशिशु तथा सुरक्षा कार्यक्रम सचेतनामूलक कार्यक्रम गर्दै आएता पनि अझै ग्रामीण क्षेत्र मा यसको प्रभाव परेको देखिन्न । अझ गुरुङ गाउँहरूमा बस्ने रोधिको चलनले कम उमेरमा बच्चा जन्माउनु अलवा बाबुको टुंगो लगाउन नसकेर समस्या मा परेका कति छन् कति । त्यस्तै समस्या कि एक पात्र हुन् सुमित्रा घर्ती । उमेर २० कटिसके पनि बाउको पत्तो नहुँदा नागरिकता पाउन सकेकी छैनन् । आमाको माइती मालिक, बिहे गरेर बाहुनडाँडा पुगिन् । विवाह गरेर गएको पाँच महिना नपुग्दै बच्चा जन्माएपछि तनाव भयो । बिहे गरेको लोग्नेलाई सकार्ने कुरो भएन । घनपोखराको जुन केटालाई उनले पोलिन उसले आरोप स्वीकार गरेन, मुद्दा पर्यो । डिएनए टेष्ट गर्दा नमिलेपछि आरोपित शमशेर गुरुङले पनि मुक्ति पाए । सम्भवत मनाङ, लमजुङ, गोरखा र तनहुँ मध्येकै सबल अस्पताल मानिन्छ लमजुङ जिल्ला सामुदायिक अस्पताल । पायक पर्ने क्षेत्रका अधिकांश महिला यसै अस्पतालमा प्रसुति सेवा लिन आउँछन् । ग्रामीण भेगका कति त सुत्केरी गराउन अस्पताल आउनै सक्दैनन् ।  अझ खोजी पस्ने हो भने यो सख्या अझ बढी हुन सक्ने अनुमान गर्न सकिन्छ ।

-अञ्जनकुमार

टिप्पणीहरू