बेलायत बस्ने नेपालीमा घोटालाको विवाद

गैरआवासीय नेपाली संघ (एनआरएनए) युके अध्यक्ष पुनम गुरुङ र पूर्वअध्यक्ष योगकुमार फगामी ४ करोड रुपैयाँ हिनामिना काण्डमा तानिएका छन् । पहिलो पटक महिला नेतृत्व पाएको एनआरएनए युके अहिले यही काण्डले आलोचित छ । कार्यसमितिका उपाध्यक्षहरूले नै ४ करोड घोटाला काण्ड अदालत पु¥याएका हुन् । एनआरएनए युके उपाध्यक्ष नारायण कँडेल, प्रेम गाहामगर, रामचन्द्र पोखरेल, मोहन कार्की, इंग्ल्याण्ड राज्य परिषद्का उपाध्यक्ष लालबहादुर (एलबीजेड) गुरुङ तथा पूर्वउपाध्यक्ष शेरबहादुर सुनार समेतले आर्थिक हिनामिनाविरुद्ध वकिल गुहारेका छन् । गुरुङ र फगामीसँगै मनोनीत आइसीसी सदस्य रामशरण सिम्खडा पनि तानिँदै छन् । उनीमाथि गत मार्चमा स्थापना दिवसको अवसर पारेर अध्यक्ष गुरुङ र महासचिव फणिन्द्र भट्टराईलाई प्रभावमा पारी रकम उठाएर हिनामिना गरेको आरोप छ । गत बुधबार नै १४ दिने म्यादसहितको पत्र अध्यक्ष गुरुङ र पूर्वअध्यक्ष फगामीलाई प्रेषित भइसकेको छ । जसमा आर्थिक पारदर्शिताबारे २० वटा प्रश्न गरिएको छ । सोलिसिटरले पठाएको पत्रमा बैठकका निर्णय मागिएको छ ।

यसअघि ३० अगस्टमा बसेको बैठकमा लेखा समितिलाई छानबिन गर्न नदिएर गत निर्वाचनताका गरिएको घोटाला लुकाउन, ढाकछोप गर्न खोजिएको भन्दै उपाध्यक्षद्वय नारायण कँडेल तथा प्रेम गाहामगरले ‘नोट अफ डिसेन्ट’ लेखेका थिए । स्रोतका अनुसार अहिले प्राप्त लिगल नोटिसमा उपाध्यक्ष कँडेलले राखेको प्रस्तावअनुसार लेखा समिति गठन गरी आर्थिक अनियमितताको छानबिन गर्न किन नदिइएको हो भनी प्रश्न उठाइएको छ । एनआरएनए अध्यक्ष गुरुङ र पूर्व अध्यक्ष फगामीविरुद्ध जारी गरिएको लिगल नोटमा एनआरएनए युकेको डमी कम्पनी, कम्पनीका क्रियाकलापलाई कार्यकारिणी समितिबाट गोप्य राख्नुपर्ने कारण, पैसा उठाउँदा अपनाएको विधि, पैसा खर्च गर्दा विधानअनुसार खर्च गरिएको विवरण, ५ सय पाउण्डभन्दा बढी खर्च गर्दा समितिको निर्णय आवश्यक भएको अवस्थामा गत २०१९ मा खर्च गर्दा वा भुक्तान गर्दा गरिएको निर्णयबारे प्रश्न गरिएको छ ।

साथै, तीन वर्षको माइन्युटिङ, सदस्यता आवेदन फारामको प्रति, सदस्यता आवेदन गर्दा आवेदकलाई दिइएको रसिद आदि विषयमा समेत जानकारी मागिएको छ । सदस्यहरूको वैयक्तिक सूचना दुरुपयोग गरिएको बारेमा समेत जवाफ मागिएको छ । गत वर्षको निर्वाचनमा भएको हरहिसाब मिलाउन अध्यक्ष गुरुङले चार्टर्ड एकाउन्टेन्ट एलएन पाण्डे, डा. मुकुन्द बास्तोला र बुद्धि गुरुङ रहेको छानबिन समिति बनाएकी थिइन् । अध्यक्ष गुरुङ निर्देशक भएको एनआरएनए युके नामको गोप्य कम्पनीमार्फत कारोबार गरिएकोमा उक्त कम्पनीको २०१९ अगस्टसम्म ९१ हजार पाउण्ड बराबरको सम्पत्ति देखिएको छ । त्यसबाहेक २०१९ को अन्त्यमा करिब २ लाख ५० हजार पाउण्ड जम्मा भएकोमा २०१९ को निर्वाचनताका सबै पैसा दुरुपयोग गरिएको सार्वजनिक भएको थियो ।

टिप्पणीहरू