प्रचण्डजीले उल्टो बाटो रोज्नुभयो

प्रचण्डजीले उल्टो बाटो रोज्नुभयो

गृहजिल्ला गोरखा पुगेर बूढीगण्डकी परियोजनामा प्रधानमन्त्री ओली, नेकपा अध्यक्ष प्रचण्ड र कांग्रेस सभापति शेरबहादुर देउवाको मिलेमतोमा ९ अर्ब भ्रष्टाचार भएको अभिव्यक्ति दिएपछि बाबुराम भट्टराई चर्चामा छन् । प्रमुख प्रतिपक्षी कांग्रेसले प्रमाणित गरेर देखाउन चुनौती दिएको अवस्था छ । तर, बाबुरामचाहिँ राष्ट्रिय महत्वको परियोजना आफू प्रधानमन्त्री हुँदा जनताकै लगानीमा निर्माण गर्न खोजिएको तर त्यसूपछिका प्रधानमन्त्रीहरूले बूढीगण्डकी विकास समिति खारेज गर्नु र अहिलेसम्म निर्माण प्रक्रिया अगाडि नबढाउनु नै भ्रष्टाचारको बलियो आधार र प्रमाण भएको तर्क पेश गर्छन् ।

० प्रधानमन्त्री ओलीसहित प्रचण्ड र देउवाहरूले ९ अर्ब भ्रष्टाचार गरेर बाँडेर खाएको मामिलाको वास्तविकता के हो ?

– हैन नयाँ कुरा । लामो समयदेखि भइराखेको कुरा गरेको हुँ । हिजोका परिवर्तनकामीहरू सत्तामा गएपछि राजा–महाराजाकै पालादेखिको अपारदर्शी हर्कत, आसेपासेलाई पोस्ने गतिविधि अन्त्य हुनुको साटो मुठ्ठीभर कमिसनखोरको फन्दामा पर्ने, राज्यसत्ताको दोहन गरी आसेपासे पोस्ने प्रवृत्ति आयो त्यही कुरा जनतालाई भनिरहनुपर्छ, बताइरहनुपर्छ भनेर उठाएको हुँ ।

० प्रमुख प्रतिपक्षी कांग्रेसले तपाईंंलाई ओली, प्रचण्ड र देउवाको मिलेमतोमा ९ अर्ब भ्रष्टाचार भएको प्रमाणित गर्न चुनौती दिएको छ । कसरी प्रमाणित गर्नुहुन्छ ?

– एनसेल काण्डमा ६३ अर्ब, बूढीगण्डकी काण्डमा ९ अर्ब, वाइडबडी काण्डमा ४ अर्ब, ओम्नी, यति त चर्चामा आएका प्रकरण हुन् । बूढीगण्डकीजस्ता परियोजना नेपाल आफैंले बनाउनुपर्छ भनेर बूढीगण्डकी विकास समिति बन्यो मेरो कार्यकालमा । यसनिम्ति नेपाली जनताबाटै राजश्व उठाउन शुरु गरियो । तर, हठात् बूढीगण्डकी विकास समिति खारेज गरियो । यो बीचमा तीन जना प्रधानमन्त्रीले आलोपालो सरकार चलाइरहनुभएको छ, बूढीगण्डकी किन अगाडि बढेन ? पछिल्ला सरकारले कमिसनखोरको संलग्नतामा बदनाम विदेशी कम्पनीलाई दिएको र अहिलेसम्म अलपत्र पारेको बारे उच्चस्तरीय र निष्पक्ष छानबिन हुनुपर्ने कि नपर्ने ?

० किन यी विषय अनुसन्धान वा छानबिनको दायरामा आउँदैनन् ?

– हामीले संविधान निर्माणकै समयदेखि अधिकारसम्पन्न जनलोकपाल बनाउनुपर्छ भन्दै आयौं । त्यो स्वतन्त्र हुनुपर्छ र त्यसले प्रधानमन्त्री, प्रधानन्यायाधीशलगायत सर्वाेच्च अंगमा बस्ने सबैको छानबिन गरी कारबाही चलाउने हैसियत राख्नुपर्छ । त्यसको आफ्नै सेवा आयोग हुनुपर्छ भन्ने विषय उठान गर्दै आयौं । जनलोकपाल नबनेसम्म दलगत भागबण्डामा उही पुराना र निवृत्त कर्मचारीलाई राखेर बनाइएको अख्तियारले यस्ता विषयमा मुद्दा लगाउने, किनारा लगाउने हैसियत नै राख्दैन, त्रुटि त त्यहीँ छ । त्यही कारण भ्रष्टाचार अन्त्य हुन सकेको छैन ।

० यी विषय सत्य हुन् भने एउटा नागरिकको हैसियतले मुद्दा, उजुरबाजुर गर्नेतिर किन जानुहुन्न ?

– म प्रधानमन्त्री हुँदा संविधान निर्माण, शान्तिप्रक्रिया पूरा गर्ने अन्तरिमकाल थियो । अहिले संविधान बनिसक्यो, ऐन निर्माण भइसकेका छन् । गर्नुपर्ने समय यही हो । तर, भइरहेको छैन ।

० अदालत र अख्तियारसमेत सरकारको सेटिङमा चलेको कुरा कति सत्य हुन् ?

– न्यायालय, सुरक्षा निकाय, नोकरशाहीतन्त्रको पुनःसंरचना हुनुपथ्र्याे । त्यो गर्न सकेनौं । क्रान्तिको राप, ताप सेलायो । पुरानै शक्ति अगाडि आए, तिनले हुन दिएनन् । पुराना ऐन, नियमको समेत उल्लंघन गरेर संस्थाहरू निकम्मा बनाउने काम भएको छ । त्यही कारण भ्रष्टाचार रोक्न सकिएको छैन ।

० तपाईंं ०७४ सालको निर्वाचनअघि नेकपा एकीकरणमा सरिक भइसक्नुभएको थियो । तर, तत्कालीन माओवादी नेतृत्वले लखेट्यो भन्ने गरिन्छ । एकता प्रक्रियामा सामेल हुँदाहुँदै यो प्रक्रियाबाटै किन भाग्नुभयो ?

– नेकपाभित्र जनयुद्ध लडेर आएका र एमालेभित्र पनि उदारवादी सोच राख्ने साथीहरू हुनुुहुन्छ । तर, ओलीको नेतृत्व कायम रहेसम्म नेकपाको यात्रा ओरालो र प्रतिगमनतर्फकै यात्रा हो भन्ने निश्कर्ष निकालेर म त्यहाँ समाहित हुन सकिनँ र माओवादी, जनयुद्ध, जनजाति, मधेशलगायत विभिन्न आन्दोलनकारीलाई समेटेर विकल्प बनाउने काममा होमिएँ । माओवादी आन्दोलनभित्र पनि त्याग र बलिदान गरेर आएका साथीहरू सँगै आए हुन्थ्यो भनेर प्रयत्न गरेकै हो । कांग्रेसबाट आशा गर्ने कुरै भएन । कम्युनिष्टहरूमा पनि एमालेको सबैभन्दा प्रतिगामी सोच राख्ने मान्छे, झापा आन्दोलनदेखि अहिलेसम्म केपी ओली हुन् । उनको नेतृत्वमा देश उल्टो दिशातिर जानुबाहेक केही हुँदैन, अपेक्षा नराखौं । त्यहीकारण हामी यी दुई शक्तिबाहेक अरूसँग मिलेर अग्रगामी शक्ति निर्माण गर्दै छौं ।

० नेकपाको एकीकृत भविष्य कत्तिको फलदायी वा कमजोर छ ?

– विकल्प भएन भने राजनीति शून्यतामा त बस्दैन । खराबमध्येको कम खराबलाई छान्ने हो । जनतालाई हामीले असल र खराबबीच छनोट गर्ने अवसर दिनुपर्छ । राणाशासन १०४ वर्ष, पञ्चायत ३० बर्ष रह्यो । यो पनि केही बर्ष रहनसक्छ तर म के देख्दै छु भने नेकपा तीव्र गतिमा ओरालो लाग्दै छ । कम्युनिज्मको नाममा अत्यन्त भद्दा प्रकारको दलाल नोकरशाही र आसेपासे पुँजीवादीको अत्यन्त भ्रष्ट अभ्यास चल्दै छ । केपीजीकै नेतृत्व लामो समयसम्म रहिराख्यो भने यसको परिणति विघटन नै हो ।

० एकीकरणमा सहभागी नभएका पूर्वमाओवादी नेताहरू भन्छन् कि, प्रचण्डले जनयुद्धलाई सुम्पिएर आफू ओलीको कारिन्दा बन्नुभयो । तपाईंंको ठहर के हो ?

– बाहिरबाट हेर्दा माओवादी आन्दोलन अग्रगमनकारी थियो । त्यसैको बलले हामीलाई गणतन्त्र र संघीयता, समावेशितासम्म ल्यायो । केपी ओलीजी भनेको गणतन्त्र, संघीयता र समावेशितादेखि धर्मनिरपेक्षिताको विरोधी मान्छे हो । काशी जान कुतीको बाटो समातेर लक्ष्यमा पुगिँदैन । प्रचण्डको नेतृत्वमा माओवादी साथीहरू गलत ढंगबाट त्यहाँ जानुभयो भन्ने मेरो विश्लेषण छ । उहाँहरू नेकपाभित्र अलिअलि संघर्ष त गर्नुहुन्छ तर ओलीले यति धेरै तिकडम र जालझेल गर्छन् कि त्यसको अघि सबै नतमस्तक भएको देख्दा मलाई बडो अचम्म लागिरहेको छ ।

० प्रचण्डलाई ओलीसँग पार्टी एक गर्नुपर्ने त्यस्तो के बाध्यता आइलागेको होला ?

– उहाँको नियत नै खराब थियो त कसरी भन्नु ? सहजै त्यहाँ गएर हाट्टहुट्ट मिलाइहाल्छु भन्ने सोच्नुभयो कि ? राजनीति हाट्टहुट्ट गरेर मिल्ने कुरा होइन । विचार र आदर्शको सिद्धान्तले राजनीति गर्ने हो । वैचारिक ढंगमा उहाँले गलत बाटो रोज्नुभयो । व्यावहारिक ढंगले केपी ओलीले हरेक कुरालाई पेल्दै पेल्दै लैजानुभयो । प्रणाली, पद्धति भताभुंग पार्नुभयो । एमालेभित्रकै सिनियर, स्वच्छ छवि भएकाहरूको मानमर्दन गर्ने, उनीहरूलाई किनारा लगाउने काम गर्नुभयो । अग्रगमनकारी सोच राख्ने साथीहरूको त्यहाँ भविष्य देख्दिनँ ।

० जीवनको लामो कालखण्ड कम्युनिष्ट आन्दोलनमै लागेर रगत, पसिना बगाउनुभयो । कपाल फुलाउनुभयो । अबचाहिँ कम्युनिष्ट रहनुभयो कि भएन ?

– म धर्मग्रन्थ होइन, विज्ञानमा विश्वास गर्छु । विज्ञान भनेको गतिशील र परिवर्तनशील हुन्छ । न्यूटनले बनाएको गुरुत्वाकर्षणको सिद्धान्त आइन्स्टाइनले परिष्कृत गरे भने विज्ञान त सदैव गतिशील दिशामा जान्छ । नयाँले पुरानालाई निषेध गर्दै अघि बढ्छ । कम्युनिष्ट पार्टी जुन ढंगले विघटन र पतनको दिशामा गयो त्यसको विकल्प समाजवादी आन्दोलनको पुनर्गठन हो ।

० हिजो माओवादी आन्दोलनमा हिँड्दा एउटै आदेशमा प्राण आहुती दिन तयार सहयोद्धाहरू आज तपाईंहरू छिन्नभिन्न हुँदा खाडी मुलुकमा दर्दनाक जीवनयापन गर्दै छन् । तपाईंहरू चैनको जीवन बाँचिरहनुभएको छ । यस्तो दृश्यले मन कत्तिको पोल्छ ?

– आन्दोलन छिन्नभिन्न भयो भन्ने कुरा सत्य होइन । माओवादी जनयुद्धकै बलमा संविधानसभाबाट संविधान, संघीय लोकतान्त्रिक गणतन्त्र आयो । नेपाली इतिहासकै यो ठूलो उपलब्धि हो । नेपाल राज्य बनेयताकै ठूलो उपलब्धि हो यो ।

० यो उपलब्धिलाई किन जोगाउन सकिएन ?

– माओवादी आन्दोलनलाई पुनर्गठन गरेर समाजवादी आन्दोलनको रूपमा लिएर जान प्रचण्डजीहरूसँग प्रस्ताव राखेको थिएँ । त्यो समयमा उहाँले बुझ्नुभएन । त्यसकारण म यो बाटो लागें । सायद अहिले विस्तारै बुझ्दै हुनुहुन्छ । यो उपलब्धिमा टेकेर जाने सम्भावना अहिले पनि प्रवल छ । अहिले नेतृत्व गर्ने भनेका यी एजेण्डाको विरोधी शक्ति हुन् । उनीहरूलाई जति समय नेतृत्व गर्न दिइन्छ उल्टै दिशातिरकै यात्रा हुन्छ । अझै ढिलाइ भएको छैन । सोचेर सबै अग्रगामी शक्ति एउटै मोर्चामा उभिई ध्रुवीकरण गरौं भन्ने मेरो आग्रह हो ।

प्रचण्डजी त्यही स्टेसनसम्म जानुभयो र ओर्लनुभयो ।

० एउटा संयोग के देखिन्छ भने विप्लव, वैद्य, तपाईं (बाबुराम) हुँदै अहिले पछिल्लो चरणमा बादल पनि प्रचण्डसँग बिच्किएका छन् । ब बाट नाम उठ्नेहरू प्रचण्डसँग किन भाँडिएका हुन् ?

– यो वैचारिक लडाइँ हो । क्रान्तिको यात्रा लामो रेल यात्राजस्तो हो । कोही एउटा स्टेसनसम्म जान्छन्, कोही अर्काे स्टेसनसम्म जान्छन् । प्रचण्डजी त्यही स्टेसनसम्म जानुभयो र ओर्लनुभयो । अरू साथीहरू अलि फरक कोणबाट सोचेर त्यहीअनुसार यात्रा गरिरहनुभएको छ । हामी अहिले फरक–फरक दिशाको यात्रामा छौं । को ठीक, को बेठीक थियो भन्नेचाहिँ भविष्यले नै पुष्टि गर्छ ।

० अन्ततः मूलधारको राजनीतिबाट बहिर्गमित भएर पहिचानवादी र मधेसवादीको पार्टीमा पनि तल्लो हैसियतमा किन पुग्नुभयो ?

– म त्यस्तो कुनै वादमा लागेको छैन । अग्रगमन, सत्य र न्यायको ढंगले हिँडेको छु । हिजोको अग्रगमनकारी शक्तिलाई एकताबद्ध गर्दै अघि जाने मेरो यात्रा हो ।

० तपाईं राजनीतिमा नयाँ–नयाँ प्रयोग गर्न चाहनुहुन्छ । जनयुद्धको सुरुवातकालमा तपाईंंको वर्गविश्लेषणलाई माओवादीले आधार बनायो । तर, तपाईंं आफैं त्यहाँ टिक्न सक्नुभएन । बीचमा नयाँ शक्तितिर पुग्नुभयो । त्यो पनि लामो चलेन । त्यही पार्टीलाई मधेसवादीसँग लगेर मिसाउनुभयो । राजनीतिमा तपाईंलाई अस्थिर खेलाडी भन्न किन नमिल्ने ?

– द्वन्द्ववादको नियम नै अस्थिर छ । स्थिर छ भन्यो भने त त्यो अगति भन्ने अर्थ लाग्छ ।

० यो सरकारले देश कहाँ पुर्‍याउने ठम्याइ गर्नुहुन्छ ?

– खुट्टी देख्दै चाल पाइसकियो । नेकपाभित्रैबाट रोक्न सकेको भए थोरै दिशा मोडिन्छ कि भन्न सकिन्थ्यो । जेठ असारमा जुन अन्तरसंघर्ष चल्यो र अन्ततः त्यहाँको संघर्षमा केपीले नै बाजी मारे । बेठीक वा पश्चगमनविरुद्ध अरू शक्ति निरीह बने । त्यो हेर्दा आगामी दिनमा देश अझै गम्भीर संकटमा जाने देख्दै छु । एकातिर कोरोना महामारी, यही समयमा गम्भीर आर्थिक संकट । देशका तमाम समस्या समाधान यो सरकारबाट हुने देख्दिनँ । यो संकटबाट मुलुकलाई पार लगाउन वैकल्पिक शक्ति धु्रवीकृत हुनुपर्छ । जसपा र नेकपाभित्र रहेका अग्रगामी शक्ति र नयाँ पुस्ताबीच ध्रुवीकरण बन्यो भने देशले निकास पाउँछ ।

देश अझै गम्भीर संकटमा जाने देख्दै छु ।

० तपाईं कुशल अर्थमन्त्री पनि । सरकारी हिसाब–किताब लेखाजोखा राख्ने महालेखा नियन्त्रकको आजैको तथ्यांक हेर्ने हो भने सरकारी कोष टाट पल्टिएको छ । कर्मचारीलाई तलब खुवाउनसमेत ऋण काढ्नुपर्ने अवस्था छ । यो अवस्थामा मुलुक पुग्नुलाई कसरी हेर्नुहुन्छ ?

– यो विषयमा संसद्को अर्थ समितिमा पटक–पटक आवाज उठाएको हुँ । हाम्रो अर्थतन्त्र परम्परागत, निर्वाहमुखी हुँदै श्रमनिर्यातमुखी रह्यो । यसलाई बदलेर औद्योगीकरण, पँुजी, प्रविधि आयात गरी वस्तु निर्यात गर्ने अर्थतन्त्रमा बदल्नुपर्छ । त्यसका लागि भारत, चीनजस्ता उदीयमान आर्थिक शक्ति अघि आएका छन् । यी दुवै शक्तिसँग गतिशील पुलका रूपमा नेपाललाई अघि बढाएर अर्थतन्त्र उकास्नुपर्छ । तर, त्यो दिशातिर यो सरकार अघि गएन । उही पुरानै साधन स्रोत दोहन गर्नेतिर गयो । त्यही कारण धन सिर्जना भएन भएको धनको दोहन गर्नेतिर गएपछि देश टाट पल्टनु स्वाभाविकै थियो । त्यहीमाथि कोभिडको महामारी आयो । तर, कोभिड व्यवस्थापन गर्ने कुनै नीति आएन । हामीले हिजो नै खबरदारी गरेका हौं । त्यो समयमा सात प्रतिशतको आर्थिक वृद्धिदर ल्याउँछु भन्नुभयो । हिजो हामीले भनेका कुरा नसुन्नुको परिणाम हो यो ।

० हालै राजदूत सिफारिस भएका पूर्वअर्थमन्त्री युवराज खतिवडाको कार्यकाललाई कसरी विश्लेषण गर्नुहुन्छ ?

– साधारण अर्थमन्त्रीको काम गर्नुभयो । यो गुणात्मक फड्को मार्ने कालखण्ड थियो । त्यो दिशातिर उहाँले कुनै कदम चाल्नुभएन । विभिन्न संरचना नै परिवर्तन गर्नुपर्ने थियो । मैले भन्दै आएको छु, राष्ट्रिय सम्पत्तिको अभिलेखीकरण गरौं । अहिले पनि नेपालको वास्तविक सम्पत्ति कति भन्ने केही रेकर्ड छैन । सम्पत्ति सबैले खुला गरेर दिऊँ त्यसमा सेतो र कालो भनेर नछुट्याऊँ । किनकि विगतमै अर्थतन्त्र पारदर्शी थिएन । खुला सिमानाका कारण आधा अर्थतन्त्र अण्डरग्राउण्ड प्रकृतिको छ । सम्पत्तिको राष्ट्रियकरण गरौँ, उद्योगी व्यवसायीलाई एउटै नारा दिऊँ भनेको थिएँ, नाफा कमाऊ, कर तिर, भारत र चीनसँग राम्रो सम्बन्ध बनाएर दुबै देशबाट ठूला लगानी भित्र्याऊँ, ठूला पूर्वाधार, ठूला उद्योग खोल । यहाँ वस्तु उत्पादन गरी त्यतै बेचौं । विपन्न वर्गका जनताको लागि आधारभूत आम्दानी दिने अन्तर्राष्ट्रिय प्रचलन छ । सोहीअनुसार आम्दानीको सुरक्षा गरौं । यी चार कुरा गर्न सके अर्थतन्त्रले फड्को मार्छ भन्ने मेरो सुझाव थियो । हिजैको निरन्तरतामा जानुभयो । उहाँले खासै ठूलो परिणाम देखाउन सक्नु भएन ।

घनश्याम, योगेशजस्ता साथी अप्ठ्यारोमा हुनुहुन्छ ।

० झण्डै दुई दशक बढी सहकार्य गर्नुभएको प्रचण्डसँग अहिले कस्तो सम्बन्ध छ ?

– पुत्रवियोग व्यहोर्नुपर्‍यो, सीता म्याडम अस्वस्थ हुनुहुन्छ । त्यही कारण पनि बेला–बेलामा उहाँलाई भेट्छु । शीघ्र स्वास्थ्यलाभको कामना गर्न पटक–पटक पुग्छु । व्यक्तिगत सम्बन्ध अत्यन्त सुमधुर छ तर बाटोचाहिँ उहाँले उल्टो रोज्नुभयो । केपी ओलीजस्तो प्रतिगमनकारीसँग झुक्न पुग्नुभयो । मचाहिँ आफ्नै ढंगले अग्रगमनकारी शक्तिलाई लिएर अघि बढ्दै छु । म केमा विश्वस्त छु भने ढिलोचाँडो पूर्वमाओवादी र एमालेभित्रका अग्रगमनकारी साथीहरू नयाँ खालको ध्रुवीकरणमा आउनुहुनेछ । हुन त पूर्व एमालेभित्रकै घनश्याम, योगेशजस्ता साथी आज मन्त्रिपरिषद्मा पुगेर अप्ठ्यारोमा हुनुहुन्छ । छवि बिग्रिरहेको छ । उहाँहरूले बुझ्नुभएको खण्डमा नयाँ ध्रुवीकरण हुन सक्छ । त्यसका लागि आग्रह गर्दछु ।

टिप्पणीहरू