काभ्रेका कामरेडको कोलाहल

काभ्रेका कामरेडको कोलाहल

काभ्रेपलाञ्चोक नेकपाभित्र आन्तरिक गुटको पेलानमा त्यहाँका एमाले संस्थापकहरुलाई मुद्दाको झ्याउलो बोकाइएको छ । बनेपा नगरपालिका–६ स्थित काभ्रे क्याम्पसका अध्यक्ष, प्रमुख र एकजना सञ्चालक बेफ्वाँकमा असोज ५ गतेदेखि अपराधी करार भएपछि फरार भएका छन् ।

क्याम्पस सञ्चालक समितिका अध्यक्ष लम्बोदर कायस्थ,क्याम्पस प्रमुख कृष्णगोपाल बैदार र सञ्चालक समितिका सदस्य क्रिचन्द्र श्रेष्ठलाई ठगीको आरोपमा अदालतमा मुद्दा दायर भएको हो । २२ लाख ३८ हजार रुपैयाँ ठगीको आरोप लगाउँदै दायर भएको मुद्दामा जिल्ला अदालतले पक्राउ पुर्जी जारी जारी गरेपछि घटनाले नयाँ रुप लिएको छ ।

२०३७ सालमा स्थापित कलेजमा १० जोड दुईदेखि बीईसम्म पढाई हुन्छ । गत वर्ष १० जोड दुईको कक्षा सञ्चालन भइरहेको थियो । यसअघि २०७५ सालमा सरकारले उच्च माध्यमिक शिक्षाको नीति नै खारेज गरेपछि १० जोड दुईको कक्षा सञ्चालन भइरहेको विद्यालयको जिम्मा स्थानीय निकायलाई दिने निर्णयसमेत सरकारले गरेको हो । क्याम्पसमा विद्यार्थी संख्या १४ सयको हाराहारीमा रहेको बताइन्छ ।

सरकारको उक्त निर्णय सार्वजनिक भएलगत्तै क्याम्पस सञ्चालकहरूले इञ्जिनियरिङ्ग विषय थपेर निश्चित विषयमा अध्यापन गराउन थालिएको जानकारी स्थानीय नगरपालिकालाई दिएको बताइन्छ । त्यसअन्तर्गत रहेर स्थानीय नगरपालिकाले पनि स्वीकृति दिएको प्रमाण रहेको क्याम्पस प्रशासनको दाबी छ ।

त्यसपछि कलेजले अध्यापन कार्यलाई पहिलेझैँ सुचारु राख्यो । त्यसबीच राष्ट्रिय परीक्षा बोर्डले पनि ११ कक्षामा अध्ययनरत विद्यार्थीको नियमानुसार रजिष्ट्रेशन गरेर परीक्षामा सामेल गरेको थियो । नतिजासमेत प्रकाशित भइसकेको अवस्था र विद्यार्थीहरु १२ कक्षामा भर्ना हुने बेला आएपछि भने किचलो शुरु भएको बताइन्छ ।

क्याम्पसले ११ कक्षाका विद्यार्थी १२ मा भर्ना गर्यो र ११ कक्षामा भर्ना हुने नयाँ विद्यार्थीलाई पनि त्यहि पुरानै विषय पढाउने तयारी गरेको क्याम्पस स्रोतले बताएको छ । उसले कक्षा १२ मा कम्प्युटर इञ्जिनियरिङ्ग अध्यापनको लागि आवश्यक तयारी समेत गरेको थियो । तर,परीक्षा बोर्डले पाठ्यक्रम नमिलेको भन्दै क्याम्पसलाई रोक लगाएर कलेजमा दुईवटा विषय मात्र अध्यापन गराउन निर्देशन दियो ।

बोर्डका अनुसार जीपीए धेरै हुनेले कम्प्युटर साइन्स पढ्ने र कम हुनेले एकाउण्ट विषय पढ्ने गरी पाठ्यक्रम समावेश गर्न लगाइएको थियो । त्यसपछि क्याम्पसले पनि विद्यार्थीहरूलाई बोर्डको निर्देशनझैँ जीपीए पुग्नेहरू कम्प्युटर साइन्समा र अरुचाँहि एकाउण्ट विषयमा भर्ना हुनको लागि निर्देशन दियो । विद्यार्थीहरूले त्यहिअनुसार आफूहरूलाई कम्प्युटर साइन्स र एकाउण्टमा विभाजन गरे । दुई तीन महिनापछि सोहीबमोजिम पढाई समेत शुरु भयो ।

त्यसपछि नेकपानिकट अखिलका नेताहरूले भन्ने एउटा विषय,पढाउने अर्को भन्दै क्याम्पसमा तालाबन्दी गरे । त्यसबीच अखिलका जिल्ला नेताले क्याम्पस प्रशासनसँग गरेको छलफलपछि समस्या समाधान भएको समेत बताएका थिए । तर,त्यसपछि पनि लगातार तालाबन्दी हुन थाल्यो भने जिल्ला प्रशासन,परीक्षा बोर्ड,नगरपालिकामा विभिन्न आरोप लगाउँदै उजुरीसमेत दर्ता हुन थालेको क्याम्पस प्रशासनको भनाई छ । कतिपयले विद्यार्थीलाई ठगेको आरोपमा साइबर क्राइमको विषयसमेत उठाएका थिए ।

मुद्दा लागेपछि कायस्थ कोरोनाको बिगबिगीमा पनि बिरामी श्रीमतीलाई घरमा छाडेर लुक्न बाध्य भएका छन्

तालाबन्दीकै बीच मुलुकमा कोभिड र देशव्यापी लकडाउन शुरु भयो । स्थानीय प्रहरी प्रशासनले सरकारी क्याम्पसबिरुद्ध लगाइएको उजुरीको आधारमा मुद्दा दायर गर्न नमिल्ने बतायो । राजनीतिक प्रभावमा नगरपालिकादेखि जिल्लाका प्रभावशाली नेता तथा पूर्व सञ्चार मन्त्री गोकुल बाँस्कोटाको आडमा क्याम्पस प्रशासनलाई कुनैपनि हालतमा मुद्दा चलाउन प्रहरीलाई निरन्तर दबाब दिइयो । प्रहरीले नियमतः मिल्दै नमिल्ने भन्दै पन्छिए पनि दबाबको अगाडि उसको केही नलागेको स्रोतको दाबी छ ।

विद्यार्थीहरूलाई इञ्जिनियरिङ्ग पढाउने भन्दै कम्प्युटर साइन्स पढाएर ठगेको आरोप छ । त्यसपछि कायस्थ,क्याम्पस प्रमुख र सञ्चालक समितिका सदस्य क्रिचन्द्रलाई ठगी मुद्दा नै हालियो । ७० सालको संविधानसभा चुनावमा आफूलाई सहयोग नगरेको आरोपमा माननीय गोकुलप्रसाद बाँस्कोटाले रिसइवी साँधेको फरार टोलीको आरोप छ । खुलेर बाँस्कोटाको पक्षमा नलागेको भन्दै आफ्नै पार्टीभित्रका कमरेडहरूलाई सिध्याउन फोहोरी खेल खेलेको बनेपाका एकथरि नेकपा कार्यकर्ताको गुनासो छ । कायस्थ एमालेको काभ्रे जिल्ला कमिटीका संस्थापक हुन् भने श्रेष्ठ युवा संघका संस्थापक सदस्य हुन् ।

अदालतले उनीहरुबिरुद्ध प्रक्राउ आदेश असोज पहिलो साता जारी गरेको हो । काभ्रेमा कमरेडहरूले कमरेडहरुबिरुद्ध मच्चाएको गडबडीलाई लिएर स्थानीय समाजसेवीले जिल्ला प्रशासनमा दिनदिनै गुनासो गरेका छन् । तर,जिल्ला प्रशासनले उक्त घटनालाई आफूहरुले सुक्ष्म ढङ्गले अध्ययन गरिरहेको बताएको छ ।

जाहेरी दिनेहरूमा अभिभावकहरूको तर्फबाट उद्धव दाहाल,लक्ष्मण दाहाल,नर्वदा थापा,रस्मिता थापा र रामचन्द्र श्रेष्ठ गरी पाँच जना हुन् । तीमध्ये रस्मिता थापा र रामचन्द्र श्रेष्ठले विभिन्न व्यक्तिले ललाई फकाई झुक्काएको कारण आफूहरु मुद्दा हाल्ने काममा सामेल भएको भन्दै हालै जिल्ला प्रहरी कार्यालयमा गएर मुद्दा फिर्ता लिएको निवेदन दिएका छन् । लक्ष्मण दाहाल,नर्वदा थापा,रस्मिता थापाले भने मुद्दा फिर्ता नलिने अडान लिएको बताइन्छ ।

यतिखेर ७० वर्ष उमेर कटेका लम्बोदरकी श्रीमती अर्बुद रोगबाट ग्रसित छिन् । खाइ न पाइसङ्ग मुद्दा लागेपछि कायस्थ कोरोनाको बिगबिगीमा पनि बिरामी श्रीमतीलाई घरमा छाडेर लुक्न बाध्य भएका छन् । काभ्रेमा गुटगत राजनीतिको पराकाष्ठा देखिएको अर्को पक्षको गुनासो छ ।

जाहेरीवालाले क्याम्पस प्रमुख, क्याम्पस अध्यक्ष र एक जना सञ्चालकलाई मात्र पोल्नुको पछाडि जिम्मेवारीबाट पन्छाउने उद्देश्य मात्र रहेको देखिन्छ । ठगीमा मुद्दा चलाउन उनीहरूबीच कुनै लेनदेन समेत भएको देखिँदैन । त्यसमा पनि उक्त क्याम्पस पनि निजी क्षेत्रको नभई सरकारी हो ।

टिप्पणीहरू