कोरोना बिरामीको उपचारमा चरम लापरवाही

पछिल्लो समय कोरोना भाइरस (कोभिड १९) को जोखिम बढेसँगै दिनप्रतिदिन संक्रमितको मृत्युदर पनि बढ्दै गएको छ । समयमा पिसिआर रिपोर्ट नआउनु र प्रभावकारी उपचार नपाउनु नै संक्रमितको मृत्युको कारण बन्ने गरेको छ ।

शीघ्र पिसिआर रिपोर्ट नआउनु, मापदण्डअनुसार आइसोलेशन र क्वारेण्टिन सञ्चालन नहुनु र संक्रमितले समयमै प्रभावकारी स्वास्थ्य उपचार नपाउनुको कारणले पछिल्लो समय कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या बढेको जानकारहरू बताउँछन् ।

पछिल्लोसमय बाँकेका अधिकारकर्मी र सञ्चारकर्मीहरूले विज्ञप्ती जारी गर्दै पिसिआर रिपोर्टमा हुने ढिलाई र उपचारमा हुने लापरवाहीका कारण संक्रमित बिरामीको मृत्यु हुने गरेको बताएका छन् ।

विज्ञप्तीमार्फत अधिकारकर्मीहरुले कोभिड संक्रमितको मत्युदर घटाउनका लागि प्रभावकारी स्वास्थ्य सेवा उपलब्ध गराउन सरोकारवालाको ध्यानाकर्षण गराएका छन् ।

पत्रकार दामोदर भण्डारीले पिसिआर रिपोर्टको ढिलाई मृत्युदर बढ्नुको प्रमुख कारण भएको बताए ।

पिसिआर परिक्षण गरेको ३/४ दिनपछि रिपोर्ट आउनु र समयमै उपचार नपाउनुले बिरामीको अकालमा ज्यान जाने गरेको भण्डारीको भनाई छ ।

‘बिरामीलाई सामान्य जरो अथवा कुनै लक्षण देखिएको २/३ दिनपछि पिसिआर परिक्षण गर्न जाने, पिसिआर परिक्षण गरेको ३/४ दिनपछि मात्रै रिपोर्र्ट आउने गरेको छ’ भण्डारीले भने, ‘त्यो समयसम्म बिरामीलाई निमोनियालगायतका समस्या भइसकेको हुन्छ र समयमै उपचार नपाएर मृत्यु हुन पुग्छ ।’ बिहान पिसिआर परिक्षण गरेको साँझ र साँझ पिसिआर परिक्षण गरेको बिहान रिपोर्ट आउने व्यवस्था हुनुपर्ने भन्दै भण्डारी भन्छन् ‘भेरी अस्पताल नेपालगन्जमा शुल्क तिरेर पिसिआर जाँच गर्नेहरुको रिपोर्र्ट बिहानको साँझ र साँझको बिहान आउँछ तर निशुल्क जाँच गर्नेहरुको रिपोर्ट २÷३ दिनपछि आउँछ ।’

यो संस्कारको अन्त्य गर्न स्थानीय प्रशासनको ध्यान जानुपर्ने बताउँदै पिसिआर जाँच निःशुल्क गर्नुका साथै पिसिआर परीक्षणको रिपोर्टमा बिभेद नगर्न भण्डारी आग्रह गर्दछन् ।

सञ्चारकर्मीसहित मानव अधिकारकर्मीहरुले प्रकाशन गरेको प्रेस विज्ञप्तीमा शीघ्र पिसिआर रिर्पोट दिने व्यवस्था मिलाउनुपर्ने माग गरिएको छ । प्रेस विज्ञप्तीमा शीघ्र पिसिआर रिर्पोट दिने व्यवस्था मिलाउनु पर्ने, मापदण्ड अनुसार आइसोलेशन र क्वारेण्टिन सञ्चालन तथा खर्च पारदर्शी हुनुपर्ने, आम नागरिकको स्वास्थ्यको अधिकारलाई मध्यनजर राख्दै सर्वोच्च अदालतले पिसिआर रिर्पोट निःशुल्क गराउने व्यवस्था मिलाउन सरकारका नाममा आदेश दिएको सन्दर्भमा निःशुल्क पिसिआर परीक्षणको व्यवस्था स्थानीयस्तरमा पनि मिलाउन आग्रह गरिएको छ ।

भेरी अस्पताल नेपालगन्जमा पिसिआर परीक्षण गराएका मध्ये शुल्क तिरेकाको शीघ्र रिर्पोट आउने र निःशुल्क गराएकाको ढिला आउने गरेको अधिकारकर्मीहरुको भनाई
छ । लक्षण सहितका संक्रमितको उपचारमा ढिलाई हुँदा हुनसक्ने मृत्युदर रोक्न सम्बन्धित निकायको ध्यान जानुपर्ने प्रेस विज्ञप्तीमा उल्लेख गरिएको छ ।

आइसोलेशनमा रहेका संक्रमित बिरामीको प्रभावकारी स्वास्थ्य सेवामा ध्यान पु¥याउन नसक्दा र बिरामीहरूको आवश्यकता, चाहना र रुचिअनुसार गम्भीर बिरामीका लागि स्वास्थ्यबर्धक पोषिलो र रुचिकर गुणस्तरीय खानाको व्यवस्थापन गर्न नसक्दासमेत बिरामीको मृत्यु हुने गरेको छ ।

पिसिआर परीक्षणमा आम नागरिकको सहज पहुँच पुग्न नसकेको र गराएकाहरूको रिर्पोट आउन ढिलाई हुँदा गम्भीर प्रकृतिका बिरामीले तत्काल उपचार पाउन नसकेको अधिकारकर्मीको भनाइ छ ।

यसैगरी होम आइसोलेशनमा बसेका संक्रमितहरुको स्वास्थ्य अवस्थाका बारेमा ध्यान पुग्न नसकेको गुनासोसमेत सुन्न थालिएको छ । कोभिड १९ सङ्कट व्यवस्थापन समितिका सदस्यहरूकाबीचमा आवश्यक समन्वय र सहकार्य हुनुपर्नेमा अधिकारकर्र्मीहरुको जोड छ । बाँकेमा कोभिड संक्रमणका कारण बुधबार सम्ममा २१ जनाको मृत्यु भइसकेकोे छ ।

टिप्पणीहरू