विप्लवका गतिविधि बढे

विप्लवका गतिविधि बढे

नेकपा विप्लव समूह रुकुम पश्चिमको जनवर्गीय संगठन अखिल क्रान्तिकारी र सहायक संगठन युवा संगठन नेपालले जिल्लामा विभेद र भ्रष्टाचारविरुद्ध एक महिने गाउँबस्ती जगाऊँ अभियान संचालन गरेको छ ।
सबै प्रकारका विभेद, अन्याय, शोषण, दमन र उत्पीडनबाट मुक्त गर्न जागरण ल्याउने र भ्रष्टाचार विरुद्धको आन्दोलनमा जनता उतार्ने भन्दै उनीहरूले यो अभियान चलाएको बताएका छन् । कोरोना भाइरसको कारण अस्तव्यस्त रहेको पठन पाठन सुचारु गर्न सन्देश प्रवाह गर्ने, क्रान्तिको पक्षमा आम जनता, युवा, विद्यार्थी, शिक्षक, कर्मचारीलाई गोलबन्द गर्नेलगायतका उद्देश्य यस अभियानमा समेटेका छन् ।

उनीहरूले २०७७ असोज १५ गतेदेखि कार्तिक १५ गतेसम्म गाउँगाउँमा पुगेर जनता जगाउने उद्देश्यले सुरु गरेको अभियानअन्तर्गत संगठन विस्तार गर्ने, समुदायस्तरमा शिक्षण सिकाई कार्यक्रम गर्ने, सहिद परिवार र घाइतेको सम्मान कार्यक्रम गर्ने तय गरेको विप्लवनिकट अखिल क्रान्तिकारी रुकुम पश्चिमका अध्यक्ष प्रेम प्रशान्त बोहराले बताए । यसका साथै उनीहरूले संगठन र पार्टिका पक्षमा र सरकारको विरुद्धमा नारा अंकित भित्तेलेखन कार्यलाईसमेत व्यापक बनाएका छन् ।

संगठन बिस्तार अभियान

संगठन विस्तार अभियानको पहिलो चरणमा उनीहरूले आठबिसकोट नगरपालिका वडा नम्बर ४ माथिल्लो आरुखोलामा टोल सभा राखेर २६ सदस्यीय युवा विद्यार्थी संगठन बनाएका छन् भने सोही वडाकै तल्लो आरुखोलामा १६ सदस्यीय महिला, दलित र युवा विद्यार्थीको सयुक्त संगठन निर्माण गरेका छन् । त्यसैगरी उनीहरूले आठबिसकोट नगरपालिका वडा नम्बर ५ मा २२ सदस्यीय युवा संगठन बनाएका छन् । उल्लेखित संगठन निर्माणको क्रममा उनीहरूले संसदीय व्यवस्थाको विरोध गर्ने, संगठन बलियो बनाउने, दलालहरूलाई गाउँबाट लखेट्ने, शैक्षिक क्षेत्रका विकृति हटाउनेलगायतका विषयमा प्रशिक्षण दिएका छन् । यसका साथै जिल्लाका सबै स्थान तहमा विद्यार्थीको एकाई कमिटि बिस्तार गरेर प्रशिक्षण कार्यक्रमसमेत सम्पन्न गरेको जनाएका छन् ।

टोल टोलमा जनवादी शिक्षा दिँदै

नेकपाको विद्यार्थी संगठन अखिल क्रान्तिकारीले जिल्लाको विभिन्न स्थानमा विद्यार्थी प्रशिक्षणको नाममा समुदायमा पुगेर विद्यार्थीलाई पढाउन थालेको छ । समुदायस्तरमा विद्यार्थीलाई प्रशिक्षित गराउने भन्दै संगठनले जिल्लाको आठबिसकोट नगरपालिका ३ स्यालाखदी र वडा नम्बर ४ गोतमकोटको समुदायस्तरमा विद्यार्थीहरू जम्मा गरेर पढाउन थालेको हो । विद्यार्थीलाई सिकाउने, विद्यार्थीबाट सिक्ने र विद्यार्थीको सेवा गर्ने भन्दै उनीहरूले पढाउन थालेका हुन् ।

कोरोनाको कारणले विद्यालय नियमित हुन नसकेको र विद्यार्थीहरू विद्यालय जान नसकेको अवसरमा उनीहरू टोल टोलमै पुगेर विद्यार्थीहरू जम्मा गरेर पढाउन थालेका हुन् । उनीहरूले विद्यालय शिक्षाको बहानामा जनवादी शिक्षाको महत्व बारेसमेत पढाउने गरेको बुझिएको छ । साना विद्यार्थीहरूलाई अक्षर लेख्न सिकाउनेदेखि अभिभावकसमेत आकर्षित हुने गरेर वैज्ञानिक र व्यवहारिक शिक्षाको पक्षमा उनीहरूले जोड दिने गरेका छन् ।

भित्तेलेखन तिव्र

एक महिने गाउँ बस्ती जगाऊँ अभियान अन्तर्गत उनीहरूले जिल्लाका विभिन्न स्थानमा चर्को नाराहरू अंकित भित्ते लेखनलाई प्राथमिकता दिएका छन् । आठबिसकोट, चौरजहारी र त्रिवेणीमा यस अभियानलाई तिव्र पारिएको विद्यार्थी संगठनका अध्यक्ष प्रेम प्रशान्त बोहराले बताए ।

सहिद परिवार र घाइतेलाई सम्मान

जनयुद्ध सफल बिन्दुमा नपुग्दै प्रचण्डले जनतालाई धोका दिएर कुर्सि मोहमा फसेको भन्दै उनीहरूले जनयुद्धका सहिद परिवार र घाइतेहरूलाई भेटघाट तथा सम्मान अभियान संचालन गरेका छन् । सहिदका परिवार र घाइतेहरूलाई वर्तमान सरकारले वेवास्ता गरेपछि आफ्नो समूहमा आकर्षण गर्न उनीहरूले यस्तो अभियान चलाएको बुझिएको छ । जिल्लाको आठबिसकोट नगरपालिकामा सहिद परिवार र घाईते तथा अपाङ्गता भएकाहरूलाई सम्मान, त्रिवेणी गाउँपालिकामा सहिद परिवार भेटघाट कार्यक्रम सम्पन्न गरेको बताइएको छ ।
विप्लव समुहले गतिविधि बढाउन थालेपछि जिल्लाको सुरक्षा संयन्त्र उनीहरूका गतिविधि नियन्त्रण गर्ने तयारीमा लागेको छ ।

टिप्पणीहरू