वायुसेवामा चार चेलीको चित्कार

वायुसेवामा चार चेलीको चित्कार

देशको सबै ऐन, कानुनले महिलालक्ष्यित हिंसाजन्य कसुरमाथि शून्य सहनशीलताको नीति अवलम्बन गरेको त देखिन्छ । तर, राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगमभित्र असाध्यै यातनामा पिल्सिएका चार चेली कुना पसेर रोइरहेका छन्, देख्ने कोही भएनन् ।

पाइलट दाजुभाइविरुद्ध चार जना इन्फ्लाइट सुपरभाइजर (प्रशिक्षक विमान परिचारिका) ले उजुरी हालेका छन्, तर सुनुवाई नहुँदा यस्तो स्थिति आएको हो । सिनियर इञ्जिनियर तथा पाइलट सुवास रिजाल र उनका भाइ श्रवणले दुःख दिएको भन्दै वरिष्ठ इन्फ्लाइट सुपरभाइजर प्रजिता कार्की, प्रदा कार्की, सृजना केसीसहित सोनम बोगल र करिश्मा मालाकारले पूर्वसचिव तथा नेवानि सञ्चालक समिति अध्यक्ष सुशील घिमिरेको ध्यानाकर्षण गराएका थिए ।

तर, उल्टै रिजाल दाजुभाइले चार चेलीको जागिर एकै गाँसमा सिध्याउन खोजेको बताइन्छ ।

यी परिचारिका तीन वर्षदेखि आफूमाथि अनेक तवरले ह्यारेसमेन्ट हुने गरेको जनआस्थालाई बताए । उनीहरु ०६१ सालदेखि नेवानिमा प्रवेश गरी ०७४ मा इन्फ्लाइट सुपरभाइजर छनौट भएका हुन् । छानिएको महिना दिनपछि अप्रेसन डाइरेक्टरदेखि नै सुवास रिजाल र श्रवणले निरन्तर मानसिक यातना, धम्की र निरुत्साहनको श्रृंखला शुरु गरेको भन्दै पीडितहरुले बताएअनुसार अख्तियारमा उजुरी परेको छ, राजीनामा देऊ भन्ने गरिएको छ ।

जनआस्थाको सम्पर्कमा आएका परिचारिकाले दुःख सुनाए, ‘तिमीहरुको जागिर मेरो कलमको निबमा छ भन्दै अहिले पनि हामीलाई धम्क्याइरहनुभएको छ ।’

यसैबीच गत वर्ष अर्की एक परिचारिका दुई जीउकी भइन् । बीचमा दशैं आयो । बिदा मागिन् । तर, सुवासले ‘जागिर छोड्, छुट्टी मिल्दैन’ भन्दै धम्क्याए । यस्तो दुव्र्यवहारकै कारण अहिले उनी नियमित डिप्रेसनको औषधी खानुपर्ने अवस्थामा पुगेकी छन् ।

सुवासले मेन्टल ह्यारेसमेन्ट गरेको, पर्सनल कुरा गरेर टर्चर दिएको, अपशव्द र जथाभावी बोलेको भन्दै यसअघि केही परिचारिका र महिला कर्मचारी महिला आयोगमा गुहार माग्न पुगे । तर, कर्मचारीको भरमा चलेको उक्त आयोगबाट यथेष्ट सुनुवाई भएन ।

सुवासकै कार्यकालमा लाखौं रकम दिने शर्तमा श्रीलंका र भारतबाट प्रशिक्षक विमान परिचारिकाहरु ल्याएर उनीहरुको भुक्तानी नदिएपछि केही समयअघि रडाको नै मच्चिएको थियो । नेवानिमा अहिले ९ प्रशिक्षक परिचारिका छन् । तीन जना हालै थपिएका हुन् ।

सिनियर प्रशिक्षक परिचारिका प्रजिता, प्रदा, सृजनाहरुले यो अवधिमा मात्र एक सय ८० भन्दा बढी परिचारिकालाई तालिम दिइसकेका छन् । यो कारण लाखौं रकम विदेश जानबाट रोकिएको छ । यसवीच निगममा कार्की दिदी बहिनी र करिश्माको ५ बर्षको लागि नवीकरण भएको र अरुको भने ३ महिना मात्रै म्याद थपिएको बताइन्छ । तर, पीडितहरु यो कुरालाई रिजालहरुको गलत दावी र आफ्नो गल्ती ढाक्ने प्रचारवाजीमात्र भएको बताउँछन् ।

टिप्पणीहरू